पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई कुलपति बनाउने प्रस्तावमा प्राज्ञको असहमति - Chaitanya News
  • 2026-11-19
  • 23:45:44
  • बिहिबार,मंसिर ०४, २०८३
  • पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई कुलपति बनाउने प्रस्तावमा प्राज्ञको असहमति

    पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई कुलपति बनाउने प्रस्तावमा प्राज्ञको असहमति

    काठमाडौँ– विश्वविद्यालयमा पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई कुलपति बनाउने प्रस्तावमा पूर्वउपकुलपतिहरूले असहमति जनाएका छन्।

    प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउने प्रस्ताव प्रवेश गरिएको थियो। उक्त प्रस्ताव काँग्रेस संसद चन्द्र भण्डारीले गरेका थिए।

    तर यसरी पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई कुलपति बनाउँदा विश्वविद्यालयमा थप राजनीति मौलाउने बताउँछन् पूर्वउपकुलपति केदारभक्त माथेमा। ‘विश्वविद्यालयलाई राजनीतिको हिसाबले हेरिनु हुन्न। पूर्वराष्ट्रपति र प्रधानमन्त्रीलाई कुलपति बनायो भने विश्वविद्यालय दलगत हुन्छ,’ माथेमाले भने।

    माथेमाको मतमा पूर्वउपकुलपति कमलकृष्ण जोशी पनि सहमति जनाउँछन्। पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई कुलपति बनाउने बेतुकको प्रस्ताव आएको उनको टिप्पणी छ।

    ‘पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई कुलपति बनाउने हो भने विश्वविद्यालयमा कहिल्यै राजनीति अन्त्य हुने भएन,’ जोशीले भने, ‘यो वाहियात प्रस्ताव हो। यो प्रस्तावलाई स्वीकार गर्न सकिँदैन।

    विश्वविद्यालयलाई बोर्ड अफ ट्रस्टिजमा जानुपर्ने बहस लामो समयदेखि चलिरहेको छ।

    पूर्वउपकुलपति माथेमाले भने, ‘२० औँ वर्ष भयो बोर्ड अफ ट्रस्टिज भनेको । यसका लागि कानुन नै संशोधन गर्नुपर्छ।

    पूर्वउपकुलपति जोशी पनि बोर्ड अफ ट्रस्टिजको विकल्प देख्दैनन्। ‘बोर्ड अफ ट्रस्टिजले जसलाई प्रस्ताव गर्छ उसलाई बनाउने हो। राजनीतिबाट आएको व्यक्ति हुनु हुँदैन,’ उनले भने, ‘मेरिटोक्रेसीको नारा लगाउने अनि प्रस्ताव चाहिँ वाहियात ल्याउने रु विश्वविद्यालयमा प्राज्ञको विकल्प अर्को हुँदैन।

    सबै विश्वविद्यालयमा एकरूपता कायम गर्न विज्ञहरूको प्रस्ताव छ । ‘मदन भण्डारी र नेपाल विश्वविद्यालय एक किसिमको छ। त्रिविको अर्को छ। विश्वविद्यालयमा यस्तो फरक फर प्रावधान किन ? यो के चलन हो ? अचम्मलाग्दो छ । सबैमा बोर्ड अफ ट्रस्टिज गर्नुपर्छ,’ माथेमाले भने।

    बोर्ड अफ ट्रस्टिजमा जाँदा विश्वविद्यालयलाई उपयुक्त लाग्ने व्यक्ति नेतृत्वमा आउने दाबी उनको छ। ‘पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीको भूमिका अर्कै हुन्छ। विश्वविद्यालयलाई स्वायत्त ढंगबाट चलाउन र उपयुक्त व्यक्ति ट्रस्टिजबाट ल्याउनुपर्छ,’ उनले भने।

    मंगलबार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकको दफावार छलफलमा बहालवाला प्रधानमन्त्रीलाई कुलपति बनाउँदा समय दिन नभ्याउने भएकाले पूर्वराष्ट्रपति वा पूर्वप्रधानमन्त्रीलाई कुलपति बनाउन प्रस्ताव आएको हो।

    यद्यपि, समिति बैठकमा माओवादीका सांसद महिन्द्र राय यादवले पूर्वराष्ट्रपति नै पार्टी राजनीतिमा आउन खोज्नुले विश्वविद्यालयको कुलपति बनाउन नहुने धारणा राखेका थिए।

    ‘देशको राष्ट्रपतिको उपराष्ट्रपतिको गरिमा कति छ ? पार्टीभन्दा माथि हुने हो भने ठिक छ। तर, राष्ट्रपति नै पार्टी बैठकमा आउन खोजेको हो भने विश्वविद्यालयलाई राजनीतिबाट बाहिर राख्न सकिँदैन । दलप्रति नरम हुन्छ,’ उनले भने।