दुर्गममा बिरामी भएका प्रहरीलाई उपचारमा थप सुविधा दिन प्रस्ताव - Chaitanya News
  • 2026-11-20
  • 00:02:30
  • बिहिबार,मंसिर ०४, २०८३
  • दुर्गममा बिरामी भएका प्रहरीलाई उपचारमा थप सुविधा दिन प्रस्ताव

    दुर्गममा बिरामी भएका प्रहरीलाई उपचारमा थप सुविधा दिन प्रस्ताव

    काठमाडौँ– नेपाल प्रहरीका सकलदर्जालाई उपचारमा थप सुविधा दिन प्रस्ताव गरिएको छ। सङ्घीय संसद् सचिवालयमा दर्ता भएको विधेयकमा नेपाल प्रहरीका सकलदर्जालाई उपचारमा थप सुविधा दिन प्रस्ताव गरिएको हो। विधेयकमा भनिएको छ,‘दुर्गममा बिरामी भएका प्रहरीलाई उपचारको सुविधा भएका ठाउँमा लैजाँदा र फर्काउँदा लाग्ने खर्च पाउने व्यवस्था गरिएको छ।

    स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेको भनेर सिफारिस गरेको अवस्थामा प्रहरी महानिरीक्षकसँग स्वीकृति लिएर उपचार सुविधा भएको ठाउँमा लैजाँदा र फर्काउँदा लाग्ने खर्च दिनुपर्ने प्रस्ताव छ।

    सेवा अवधिमा इन्स्पेक्टर भन्दा माथिका प्रहरी अधिकृतहरूले १२ महिना बराबरको उपचार खर्च पाउँछन्। वरिष्ठ प्रहरी नायव निरिक्षकहरुलाई १८ महिना बराबर, राजपत्र अनङ्गित र आधारभूत श्रेणीको प्रहरी कर्मचारीलाई २१ महिनाको तलब बराबर उपचा खर्च दिनुपर्ने प्रस्ताव गरिएको छ।

    बिस वर्ष, पच्चिस वर्ष र सो भन्दा धेरै सेवाअवधि पुरा गरेर पेन्सन लिनेगरी अवकाश भएका कर्मचारीलाई लिन बाँकी उपचार खर्चमा दश, पन्ध्र र बिस प्रतिशत थपेर दिनुपर्ने प्रस्ताव गरिएको छ। विधेयकमा भनिएको छ, ‘थप गरी हुन आउने रकम एकमुष्ट पाउने गरी उपचार खर्चको व्यवस्था गरिएको छ।

    सो व्यवस्था अहिले पनि छ। दुर्गममा बिरामी भएका प्रहरी कर्मचारीलाई अस्पताल पठाउँदा र ल्याउँदा खर्च दिने प्रस्ताव चाहिँ नयाँ रहेको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए।

    चाडपर्वमा १ महिनाको तलब बराबर रकम दिने व्यवस्थालाई निरन्तरता दिइएको छ। निवृत्तिभरण पाउने गरी अवकाश भएका प्रहरीले पनि एक महिनाको निवृत्तिभरण बराबरको रकम चाडपर्व खर्च पाउँछन्।