काठमाडौँ उपत्यकामा आंशिक बदली, अन्य भागमा कस्तो छ मौसम ? - Chaitanya News
  • 2026-05-03
  • 22:36:16
  • आइतबार,बैशाख २०, २०८३
  • काठमाडौँ उपत्यकामा आंशिक बदली, अन्य भागमा कस्तो छ मौसम ?

    काठमाडौँ उपत्यकामा आंशिक बदली, अन्य भागमा कस्तो छ मौसम ?

    काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ। तराईका धेरै स्थानमा हुस्सु लागेको विभागले जनाएको छ।

    मौसमविद् रोजन लामिछानेका अनुसार आज अपराह्नसम्म काठमाडौँ उपत्यकामा आंशिक बदली हुने सम्भावना छ। आज बिहान यहाँको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस कायम रह्यो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस रहने पूर्वानुमान गरिएको उनले जानकारी दिए।

    विभागका अनुसार आज दिउँसो देशका पहाडी भू(भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    त्यसै गरी आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भोगमा मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    आगामी २४ घण्टामा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। साथै कोशी,बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ।

    विभागले बिहीबार बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डनमा असर पर्न सक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।