यू–१९ महिला टी–२० विश्‍वकपको समूह चरणबाट नेपाल बाहिरियो - Chaitanya News
  • 2026-06-06
  • 18:17:34
  • शनिबार,जेठ २३, २०८३
  • यू–१९ महिला टी–२० विश्‍वकपको समूह चरणबाट नेपाल बाहिरियो

    यू–१९ महिला टी–२० विश्‍वकपको समूह चरणबाट नेपाल बाहिरियो

    काठमाडौं–आईसीसी यू–१९ महिला टी–२० विश्वकपको आज (बुधबार)भएको समूहको अन्तिम खेलमा नेपाल बाहिरिएको छ।

    नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भयो। अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले ५६ रन मात्र बनाउन सक्यो। कप्तान पुजा महतोले सर्वाधिक १८ रन बनाइन्।

    अस्ट्रेलियाका लागि हसरत गिल, जुलियट मोर्टन र लिली बासिङथ्वाइटले २–२ विकेट लिए भने कोल एइन्सवर्थले १ विकेट लिइन्।

    त्यसअघि मलेसियाको बांगीस्थित युएसडी(युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १३९ रन बनाएको थियो।

    नेपालकी कप्तान पुजा महतोले अष्ट्रेलियाको सुरुवाती ३ विकेट लिँदै राम्रो सुरुवात दिलाएकी थिइन्। तर काओइमहे ब्रे र एलेनोर लारोसाले चौथो विकेटका लागि ७२ रनको साझेदारी गर्दै स्कोर उकासेका थिए । ब्रेले सर्वाधिक ४५ रन बनाउँदा लारोसाले ३१ रन जोडिन्।

    नेपालका लागि कप्तान पुजाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिइन्। सिमाना केसीले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिइन्।

    यस हारसँगै नेपाल सुपर सिक्समा पुग्न असफल भएको छ। नेपाल पहिलो खेलमा बंगलादेश तथा दोस्रो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो।