पक्षघातको उपचारमा प्रयोग हुने औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्यमन्त्री पौडेलको निर्णय - Chaitanya News
  • 2026-05-03
  • 22:36:06
  • आइतबार,बैशाख २०, २०८३
  • पक्षघातको उपचारमा प्रयोग हुने औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

    पक्षघातको उपचारमा प्रयोग हुने औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

    काठमाडौँ– पक्षघातको उपचारमा प्रयोग हुने औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्षघातको उपचारमा प्रयोग हुने औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका हुन् ।

    थ्रोम्बोलाइटिक ड्रग्स नामक पक्षघातको यो औषधी निकै महँगो मानिन्छ। साथै, यो औषधी सहज उपलब्ध हुन कठिन छ।

    अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको भनाइ छ। पक्षघातबाट हरेक वर्ष झण्डै आठ सय जनाले ज्यान गुमाइरहेको सरकारी तथ्यांक छ।

    ‘उपचार गर्न सकिने भए पनि औषधी दुर्लभ र महँगो हुँदा धेरैको ज्यान जाने गइरहेको पायौँ,’ पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले भने, ‘त्यसैले जीवन रक्षाका लागि सरकारले नै औषधी प्रदान गर्ने व्यवस्था मिलाउन लागेका हौँ।

    रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधी प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ।

    थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधीको एक मात्रा सेवन गरेमा धेरैको ज्यान जोगिने चिकित्सकहरूले बताउने गरेका छन्। यो औषधीको एउटा मात्राको मूल्य नेपालमा झण्डै एक लाख ३८ हजार पर्छ। सहजै उपलब्ध नहुने भएकाले पनि धेरैको ज्यान गइरहेको छ।

    अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र मन्त्रालयबीच यससम्बन्धी सहयोगका लागि हस्ताक्षर भएको छ। संस्थाले पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए।

    मन्त्रालयले औषधी वितरण र उपचारको व्यवस्थाका लागि निर्देशिका बनाउने प्रक्रिया पनि अघि बढाइसकेको छ। पक्षघातको औषधी र उपचार हुने निर्देशिका संघीय र प्रदेश अस्पतालहरूमा लागू हुने छ। यो उपलब्धि नेपालको स्वास्थ्य उपचार सेवामा महत्त्वपूर्ण भएको न्युरो चिकित्सक डा। राजु पौडेलले बताए।