शीतलहर र हुस्सुका कारण महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित - Chaitanya News
  • 2026-05-03
  • 23:34:42
  • आइतबार,बैशाख २०, २०८३
  • शीतलहर र हुस्सुका कारण महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित

    शीतलहर र हुस्सुका कारण महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित

    जलेश्वर– शीतलहर र हुस्सुले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ । विगत पाँच दिनदेखि अविरल रूपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको हो।

    निरन्तरको चिसो कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण पशुचौपाया तथा बालीनाली समेत प्रभावित बनेका जलेश्वर–७ का वीरेन्द्र शर्माले बताए। चिसोकै कारण सदरमुकाम जलेश्वरमा नागरिकको चहलपहलमा कमी आएको छ। बाक्लो कुहिरोका कारण यातायातका कमै चल्न थालेका छन्।

    जिल्लाका विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी भएको छ। चिसोले हाट बजारमा चहलपहल घटेको छ। चिया व्यापार भने बढेको जलेश्वर नगरपालिका–१ का चिया पसले उमेश साहले बताए।

    चिसोकै कारण जिल्लाका विभिन्न स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या ह्वात्तै बढेको चिकित्सकहरू बताउँछन्। जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी प्रभावित भएका छन्। चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएको छ। जाडोबाट बच्न ठाउँठाउँमा स्थानीयले आगो बालेर घुर तापिरहेका छन्।

    जाडोकै कारण ग्रामीण भेगमा बस्तुभाउलाई समेत समस्या भएको जलेश्वर–१० का सहदेव मण्डलले बताए। रासस