भूकम्पको क्षतिको विवरण बुझ्न दुई हजार ५०० सशस्त्र प्रहरी परिचालन - Chaitanya News
  • 2026-11-20
  • 01:32:38
  • बिहिबार,मंसिर ०४, २०८३
  • भूकम्पको क्षतिको विवरण बुझ्न दुई हजार ५०० सशस्त्र प्रहरी परिचालन

    भूकम्पको क्षतिको विवरण बुझ्न दुई हजार ५०० सशस्त्र प्रहरी परिचालन

    काठमाडौँ– आज (मंगलबार) बिहानको भूकम्पबाट भएको क्षतिको विवरण बुझ्न सशस्त्र प्रहरीले करिब २ हजार ५०० जनालाई परिचालन गरेको जनाएको छ। कोशी, मधेश र बाग्मती प्रदेशमा रहेका युनिटहरूबाट करिब २ हजार ५ सय जना परिचालन गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको हो ।

    प्रहरीका अनुसार हालसम्म मानवीय र भौतिक क्षतिको विवरण आएको छैन।

    भूकम्पको धक्काले आत्तिएर घरको छतबाट हाम फाल्दा काठमाडौँको स्युचाटारमा एक जना व्यक्ति घाइते भएका छन्। उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ।

    यसैगरी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका ११ जना विद्यार्थी बेहोस भएका छन्।

    सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन, रामेछापमा एउटा गोठ तथा ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ।

    आज बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको जिजांग प्रान्तको सिगात्सेस्थित दिंगी गाउँमा केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो।