काठमाडौँ– लुम्बिनी प्रदेश सभाले यसअघि प्रदेश प्रमुखले सच्चाउन फिर्ता पठाएका दुई वटा निजामति विधेयक पुनः सर्वसम्मत पारित गरेको छ।
आज (बुधवार) को बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम १२८ को खण्ड ख बमोजिम पुनः सर्वसम्मत पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरेका छन्।
यसअघि प्रदेशसभाबाट सर्वसम्मत पारित भएको यी विधेयक प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले फिर्ता गरेपछि टकराव बढेको थियो।
प्रदेश प्रमुख घर्तीले प्रमाणीकरणका लागि आएका प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सन्देशसहित फिर्ता पठाएका थिए। यी दुवै विधेयक प्रदेश सभाको चौथो अधिवेशनले सर्वसम्मत पास गरेर प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पेस गरिएको थियो। यी दुवै विधेयक प्रदेश प्रमुखले सन्देशसहित असोज २२ गते प्रदेश सभामा फिर्ता पठाएका थिए।
बुधवारको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रतिनिधिको रूपमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले दुवै विधेयक हुबहु पास गर्नका लागि पठाएको बताए। सभामा दुई वटा विधेयक छोटो बाटोबाट पारित गर्ने गरी उनैले प्रस्ताव पेस गरेका थिए।