क्यान्सरविरूद्धको थप पाँच लाख एचपीभी खोप ल्याइयो - Chaitanya News
  • 2026-05-03
  • 23:35:13
  • आइतबार,बैशाख २०, २०८३
  • क्यान्सरविरूद्धको थप पाँच लाख एचपीभी खोप ल्याइयो

    क्यान्सरविरूद्धको थप पाँच लाख एचपीभी खोप ल्याइयो

    काठमाडौंँ– किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप नेपाल ल्याइएको छ। हिजो (आइतबार) चार लाख ९६ हजार दुई सय ८० मात्रा खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजङ्ग रायमाझीले बताए।

    सरकारले यसभन्दा अघि दुई पटक एचभिपी खोप ल्याइसकेको छ। उक्त खोप टेकुस्थित भण्डारण कक्षमा राखिएको छ। यसअघि ल्याइएका खोपलाई प्रदेश कार्यालयमा पठाइएको र यो खोप पनि प्रदेश कार्यालयमा पठाइने निर्देशक रायमाझीले जानकारी दिए।

    ‘एचपीभी’ खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा चीनबाट नेपाल ल्याइएको हो। सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्दैछ।

    पन्ध्र दिनसम्म चल्ने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरी खोप लगाइने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले जानकारी दिए। उनका अनुसार १७ लाख ७० हजार मात्र गाभीले नेपाललाई उपलब्ध गराउने छ।

    नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ। पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरूद्ध खोप लगाउनुपर्ने हुन्छ। रासस