काठमाडौँ– पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुने मौसम पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसारसाँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना रहेको छ ।
विभागले उक्त प्रणालीका कारण शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ।
यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। मौसम प्रणालीको असरका कारण तापक्रम घट्न गई चिसो बढ्न सक्ने समेत सम्भावना रहेको विभागले जनाएको छ।
शनिबार पनि देशका अधिकांश स्थानमा हल्लका वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुनेछ। आइतबारबाट भने मौसममा सुधार आउने बताइएको छ।