निश्चित योग्यता पुगेकाले मात्र हिमाल आरोहण गर्न पाउनुपर्छ : मन्त्री पाण्डे - Chaitanya News
  • 2026-11-20
  • 02:38:29
  • बिहिबार,मंसिर ०४, २०८३
  • निश्चित योग्यता पुगेकाले मात्र हिमाल आरोहण गर्न पाउनुपर्छ : मन्त्री पाण्डे

    निश्चित योग्यता पुगेकाले मात्र हिमाल आरोहण गर्न पाउनुपर्छ : मन्त्री पाण्डे

    काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले निश्चित योग्यता पुगेको मान्छेले मात्र हिमाल आरोहण गर्न पाउने व्यवस्था गर्नुपर्ने बताएका छन्। आज (बिहीबार) संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै हिमाल आरोहणका क्रममा विभिन्न जोखिमहरूको सामना गर्नुपर्ने भइरहेको समेत उल्लेख गरे ।

    मन्त्री पाण्डेले निश्चित क्षेत्रसम्म मात्र हेलिकप्टर सञ्चालन गर्न पाउने गरी क्यानले काम गर्नुपर्ने बताए।

    ‘एउटा निश्चित योग्यता पुगेको मान्छेले मात्र हिमाल चढ्न पाउने प्रबन्धलाई व्यवस्था गरियो भने त्यहाँ अरु ठूलो जोखिमको स्थिति रहन्न। त्यो कुरामा हामीले ध्यान दिनुपर्छ,’ उनले भने।

    निजी क्षेत्रसँग हेलिकप्टर हुनु सबल पक्ष भएको विदेशीहरूले समेत बताउँदै आएको उनले बताए। ‘निजी क्षेत्रहरूले निश्चित क्षेत्रसम्म मात्र हेलिकप्टर सञ्चालन गर्ने उहाँहरूले गरेको वायु र ध्वनी प्रदूषणलाई नियन्त्रण र नियमन गर्ने यो काम क्यानले गर्छ,’ उनले भने।

    साथै, उनले सरकार पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भएका कमी, कमजोरीहरूलाई सच्याउँदै अघि बढ्ने दिशामा रहेको बताएका छन्।

    सहुलियतपूर्ण हवाई यातायात सञ्चालनमा सरकारले बनाएको कार्ययोजना पूर्णरुपमा कार्यान्वयन गर्न नसकिएको उनले स्वीकार गरे।

    ‘विमानस्थल सञ्चालनका सन्दर्भमा थुप्रै चुनौतीका बाबजुद पनि सरकारले पोखरा र भैरहवाको विमानस्थल सञ्चालन गर्ने सन्दर्भमा कार्ययोजना बनायो। सहुलियतपूर्ण हवाई यातायात सञ्चालनका निम्ति कतिपय निकायबाट कार्य योजनाअनुसार कामहरू भएका छन् भने कतिपय निकायहरूबाट भएको देखिँदैन,’ उनले भने।