काठमाडौं– जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा प्रवेश गरेको छ।
ओपनर विनोदले अविजित रहँदै ५८ रन बनाएपछि जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर १४१ रन बनाउँदै पूरा गरेको हो।
विनोदले ५५ बल खेल्दा ३ चौका र ३ छक्का प्रहार गरे।
कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाए। उनले १६ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे। ऐरीले चौका प्रहार गर्दै खेल जिताएका थिए।
जनकपुरका ललित राजवंशी र किशोर महतोले १–१ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो। जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए।
शुभ कंसाकारले २४ बलमा २६ रन जोडे। अन्य खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन्। बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ तथा सैफ अली जैबले २ विकेट लिए।
स्कट कुगेलेइन र अविनाश बोहराले समान १ विकेट लिए। सुदूरपश्चिमले दोस्रो पटक जनकपुरलाई पराजित गरेको हो।
क्वालिफायर वानमा पराजित भएपनि जनकपुरले फाइनल पुग्नका लागि अर्को खेल खेल्ने अवसर पाउनेछ । जनकपुरले अब एलिमिनेटरको विजेता कर्णाली याक्ससँग बिहीबार क्वालिफायर टु खेल्नेछ।