काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीयल) मा स्कट कुगेलेइनले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि सुदूरपश्चिम रोएल्सले पोखरा एभेन्जर्समाथि ५ रनको रोमाञ्चक जित हात पारेको छ।
सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा अन्तिममा सम्हालिन नसक्दा २ बल अगावै १४८ रनमा अलआउट भयो।
अन्तिम ओभरमा जितका लागि पोखरालाई ६ बलमा ८ रन आवश्यक रहँदा २ रन मात्र जोडेर ३ विकेट गुमाएपछि जित नजिक पुगेर पनि पराजित भयो।
पोखरालाई अलआउट गर्न सुदूरपश्चिमका स्कट कुगेलेइनले अन्तिम ओभरमा ३ सहित कूल ५ विकेट लिए। कुगेलेइनले ३।४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ५ विकेट लिए।
पोखराका लागि आन्द्रेस गौसले सर्वाधिक ३६ रन बनाउँदा रेमोन रेइफरले ३३ र किरण ठगुन्नाले ३२ रन बनाए।
सुदूरपश्चिमका लागि हर्मीत सिंहले पनि ३ विकेट लिए।
६ खेल खेल्दा पाँचौ जित हात पारेको सुदूरपश्चिम १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ। समान १० अंक भएपनि जनकपुर बोल्ट्स नेटरनरेटमा पछि रहँदै दोस्रोमा झरेको छ।
आजको जितपछि सुदूरपश्चिमले शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने सम्भावना बलियो बनाएको छ। अब लिगको अन्तिम खेलमा सुदूरपश्चिमले सोमबार कर्णाली याक्ससँग खेल्नेछ। अहिलेसम्म जनकपुरसँगै सुदूरपश्चिम र चितवन राइनोज तीन टिमले प्लेअफमा स्थान निश्चित गरेका छन्।
सोमबारको अन्तिम लिग खेलपछि प्लेअफ पुग्ने चौथो टोलीको टुङ्गो लाग्नेछ। कर्णालीले सुदूरपश्चिमविरुद्ध ठूलो अन्तरको हार टारेमा चौथो हुँदै प्लेअफमा पुग्नेछ। सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग ५३ रन भन्दा बढी अन्तरले हारेमा भने काठमाडौंले नेट रनरेटमा कर्णालीलाई पछि पार्दै चौथो हुँदै प्लेअफमा पुग्नेछ।