काठमाडौंसँग हारेपछि लुम्बिनी लायन्स प्लेअफ होडबाट बाहिरियो - Chaitanya News
  • 2026-06-06
  • 20:05:33
  • शनिबार,जेठ २३, २०८३
  • काठमाडौंसँग हारेपछि लुम्बिनी लायन्स प्लेअफ होडबाट बाहिरियो

    काठमाडौंसँग हारेपछि लुम्बिनी लायन्स प्लेअफ होडबाट बाहिरियो

    काठमाडौं– लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ होडबाट बाहिरिएको छ।

    हमज (बुधबार) भएको खेलमा काठमाडौं गुर्खाजसँग १८ रनले पराजित भएपछि लुम्बिनी एक खेल अगावै लिग चरणबाट बाहिरिने पक्का भएको हो। ६ खेल खेलिसकेको लुम्बिनीले जम्मा १ खेल जित्दा ५ खेलमा हार व्यहोरेको छ।

    काठमाडौंले भने ४ खेलमा दोस्रो जित हो र ४ अंक खातामा जोडेको छ। काठमाडौंले प्लेअफ सम्भावना पनि कायम राखेको छ।

    काठमाडौंले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमा अलआउट भयो।

    लुम्बिनीका लागि सन्दिप जोराले २९ बल खेल्दै २ चौका मदतमा सर्वाधिक २६ रन बनाए। यस्तै उन्मुक्त चन्दले १४ रन जोडे। सूर्य तामाङले अविजित ११ रन जोडे बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

    बलिङमा काठमाडौंका कप्तान करण केसीले ४ ओभरमा १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। दिपेश कँडेलले किफायती बलिङ गर्दै ४ ओभरमा ६ रन मात्र खर्चेर ३ विकेट लिए।

    जेरार्ड एरासमसले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए। रासिद खानले १ विकेट लिए। शाहब आलमले विकेट नलिएपनि किफायती बलिङ गर्दै ४ ओभरमा १० रन मात्र खर्चिए।

    त्यसअघि कीर्तिपुरस्थि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको हो।

    काठमाडौंका लागि भिम सार्कीले सर्वाधिक ३१ रन बनाए। यस्तै डान डौथवेटले २१, प्रतिक श्रेष्ठले २० र स्टेफेन इस्किनाजीले १३ रन बनाए।

    बलिङमा साद विन जफरले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए। रामोन सिमोण्ड्स र अभिशेष गौतमले २–२ विकेट लिए। सूर्य तामाङ र विवेक यादवले समान १ विकेट झारे।