काठमाडौं– त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले पहिलो जित हात पारेको छ।
रोहितले ब्याटिङ र बलिङ दुवैमा ‘कप्तान लिड फ्रम दी फ्रन्ट’ भनेजस्तै सानदार अलारउण्ड प्रदर्शन गरेपछि लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराउँदै पहिलो जितको स्वाद चाखेको हो। रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिए।
पहिलो जितपछि लुम्बिनीले पाँचौ खेलमा अंक खाता खोलेको छ।
रोहितकै ४ विकेट प्रदर्शनमा १६८ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले पूरै २० ओभर खेल्दा पनि ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो।
चितवनका लागि लुक बेन्केनसटाइनले सर्वाधिक ३१ रन बनाउनबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। कप्तान कुशल मल्ल २०, रवि बोपारा १२ र सन्तोष कार्की १० रन बनाएर आउट भए।
दशौँ नम्बरमा ब्याटिङ गरेका नरबहादुर शार्कीले १२ बल खेल्दै अविजित २२ रन बनाए। उनले एक चौका र एक छक्का प्रहार गरे। रिजन ढकालले १४ बलमा अविजित १५ रन बनाए।
रामोन सिमोण्ड्ससँगै नयाँ बलमा बलिङ गरेका रोहितले ४ ओभरमा १७ रन मात्र खर्चेर ४ विकेट लिएका हुन्। मुख्य बलरहरुले विकेट लिन संघर्ष गरिरहँदा रोहितले पार्ट टाइम स्पीन बलिङबाट विपक्षीको विकेट झारेका हुन्।
बलिङमा उनले रामोन सिमोण्ड्ससँग नयाँ बल बलिङ गरेका थिए। दोस्रो ओभरमै बलिङ गरेका रोहितले सुरुमै विपिन राउललाई आउट गरे। त्यसपछि चौथो ओभरमा सोहेल तनविरलाई कट एण्ड बोल्ड गरेका रोहितले १२औं ओभरमा रवि बोपारा र १४औं ओभरमा जान निकोल लफ्टी इटनलाई आउट गरे।
लुम्बिनीका रामोन सिमोण्ड्सले ३ ओभरमा १५ रन खरेचेर २ विकेट लिए। साद विन जफर र अभिशेष गौतमले १–१ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेल र साद विन जफरको अर्धशत मदतमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो।
दुई ओभरभित्रै २ विकेट गुमाएको र ३८–३ को अवस्थामा रहेको लुम्बिनीका लागि रोहित र साद विन जफरले शतकिय साझेदारी गर्दै इनिङ्स उकासेका थिए। रोहितले ब्याटिङमा दुई विकेट गएपछि दोस्रो ओभरमै क्रिजमा आएर इनिङ्स सम्हालेका थिए।
रोहितले अन्तिम ओभरमा आउट हुनुअघि ५७ बल खेल्दै ८० रन बनाए। उनले ६ चौका र ५ छक्का प्रहार गरे। रोहितले एनपीएलमा बनाएको यो दोस्रो अर्धशतक हो।
यसअघि उनले पोखरा एभेन्जर्स विरुद्ध ९५ रन बनाएका थिए। यस्तै विन जफरले ३५ बल खेल्दै ४ चौका र १ छक्का मदतमा ५२ रन बनाए।
रोहित र विन जफरले पाँचौ विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए। एनपीएलमा पाँचौ विकेटका लागि भएको यो पहिलो शतकिय साझेदारी हो भने समग्रमा पाँचौ शतकिय साजेदारी हो।
लुम्बिनीका लागि अर्जुन साउदले १५ र टम मुर्सले १० रन जोडे।
बलिङमा चितवनका रिजन ढकाले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए। कप्तान कुशल मल्ल र रन्जित कुमारले समान एकरएक विकेट लिए।