भैरहवामा तत्काल उडान गर्न नसकिने भन्दै तीन वायुसेवाले पठाए प्राधिकरणमा पत्र - Chaitanya News
  • 2026-11-20
  • 04:22:46
  • बिहिबार,मंसिर ०४, २०८३
  • भैरहवामा तत्काल उडान गर्न नसकिने भन्दै तीन वायुसेवाले पठाए प्राधिकरणमा पत्र

    भैरहवामा तत्काल उडान गर्न नसकिने भन्दै तीन वायुसेवाले पठाए प्राधिकरणमा पत्र

    काठमाडौँ– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तत्काल उडान गर्न नसकिने भन्दै तीनवटा वायुसेवा कम्पनीले उडान स्थगितको पत्र पठाएका छन्। जजीरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले मौसमको कारण देखाएर केही समय उडान स्थगित गर्नुपर्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई लिखित जानकारी गराएका हुन्।

    प्राधिकरणले छलफल पनि यसको जवाफ दिन सकिने बताएको छ। एयरलाइन्सले औपचरिक रुपमा उडान स्थगित गर्नुअघि प्राधिकरणले अनुमति दिनुपर्छ। पछिल्ला केही दिनदेखि बाक्लु हुस्सु लाग्न थालेपछि भैरहवामा अपराह्नसम्म उडान, अवतरण भइरहेको छैन। यसले गर्दा भैरहवा जाने अन्तर्राष्ट्रिय जहाज काठमाडौँमा डाइर्भट भइरहेका छन्।

    प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार अहिले भैरहवामा १ हजारदेखि १२ सय मिटर हाराहारीमा भिजिबिलिटी हुने गरेको छ। यो विमान अवतरणका लागि पर्याप्त होइन। एटीआरलगायत ठुला जहाजका लागि न्यूनतम १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ।

    भैरहवामा आरएनपीएआर एप्रोच (रिक्वायर्ड न्याभिगेसन पर्फरमेन्स अथोराइजेसन) प्रणाली नभएका कारण यो समस्या देखिएको हो। आरएनपीएआर एप्रोच जडान भएका विमानस्थलमा ८०० मिटरको भिजिबिलिटमा पनि जहाज अवतरण गर्न सक्छन्। प्राधिकरणले माघ १० भित्र आरएनपीएआर एप्रोच प्रणाली जडान गर्ने जानकारी गराएको छ।