काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तीन खेल जित्दै उत्कृष्ट सुरुवात गरेको सुदूरपश्चिम रोएल्सले पहिलो हार व्यहोरेको छ।
आज (आइतबार) भएको दिनको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोएल्सलाई ३३ रनले पराजित गर्दै अपराजित यात्रामा ब्रेक लगाएको हो। चार खेलमा सुदूरको यो पहिलो हार हो।
चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.२ ओभरमा सबै विकेट गुमाएर १३१ रनमा अलआउट भयो।
जितपछि चितवनले चितवनले पनि सुदूरपश्चिम समान ४ खेलबाट ६ अंक नै जोडेको छ। सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो।
उता चितवनले यसअघि काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो भने कर्णाली याक्ससँग पराजित भएको थियो।
यसअघिका तीन खेलमा ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेको सुदूरपश्चिमको ब्याटिङ चितवन विरुद्ध भने लयमा देखिएन। दोस्रो ओभरमा ओपनर सैफ जैबलाई गुमाएपछि सुदूरपश्चिमले नियमित अन्तरमा विकेट गुमायो।
सुदूरपश्चिमका लागि छैटौं नम्बरमा ब्याटिङ गरेका इशान पाण्डेले २८ बल खेल्दै ४ चौका र १ छक्का मदतमा सर्वाधिक ३५ रन बनाए। अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन्। जैबले १८ रन बनाए भने ब्राण्डन म्याकमुलेनल १३, दिलप्रित बाज्वा १२ र विनोद भण्डारी १० रनमा आउट भए। आरिफ शेख ५, कप्तान दीपेन्द्र सिंह ऐरी १ र नरेश बुढाएर ५ रनमा आउट भए।
बलिङमा चितवनका लागि कप्तान कुशल मल्लले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए। अमरसिंह राउटेलाले १ ओभरमा ९ रन खर्चेर तथा जान निकोल लफ्टी इटनले ३ ओभरमा १८ रन खर्चेर समान २ विकेट लिए। रिजन ढकालले ३ ओभरमा ३३ रन खर्चेर २ विकेट नै लिए। सोहेल तनविरले १ विकेट लिए। यसै खेलबाट एनपीएलमा डेब्यु गरेका रन्जित कुमारले १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले हसन इसाखिलको अर्धशतक मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो।
चितवनका लागि ओपनर हसनले ५२ बल खेल्दै ६ चौका र ३ छक्का मदतमा ६५ रन बनाए। यस्तै रवि बोपाराले १८ बल खेल्दै समान २ चौकमा र छक्कामा ३६ रन योगदान गरे।
विपिन रावलले १७ र कप्तान कुशल मल्लले १३ रन जोडे । पहिलो पटक ओपनिङ गरेकार सन्तोष कार्की ९ रनमा आउट भए।
अमर सिंह राउटेलाले ६ र जान निकोल लफ्टी इटन २ रनमा अविजित रहे।
बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए। ब्राण्डन म्याकमुलेन, कप्तान दीपेन्द्र सिंह ऐरी र सैफ अली जैबले १–१ विकेट लिए।