दमस्कस– सिरियामा विद्रोही समूहहरूले सरकारविरुद्ध विगत केही वर्षयताकै सबैभन्दा ठुलो कारबाही सुरु गरेका छन्। सिरियाली सेना द्रुत गतिमा पछाडि हट्न थालेपछि विद्रोहीहरूले देशको दोस्रो ठुलो सहर एलेप्पो समेत उत्तर–पश्चिमको ठुलो भाग कब्जा गरेका छन्। यस पछि विद्रोही सेनाहरू दक्षिणतिर गए र हामा सहरलाई पनि आफ्नो कब्जामा लिए।
आफूहरूको अर्को लक्ष्य होम्स सहर हुने विद्रोही सेनाको भनाई छ। दक्षिणमा, जोर्डनको सीमा नजिकै स्थानीय विद्रोही समूहहरूले देरा क्षेत्रको धेरैजसो भाग आफ्नो नियन्त्रणमा लिएका छन्। यो त्यही ठाउँ हो जहाँ सन् २०११ मा राष्ट्रपति बसर अल–असदविरुद्ध विद्रोहको जन्म भएको थियो।
किन भइरहेको छ युद्ध ?
२०११ मा राष्ट्रपति बसर अल–असदविरुद्ध शान्तिपूर्ण र लोकतन्त्र समर्थक विद्रोह गृहयुद्धमा परिणत भयो। यसले सिरियालाई ध्वस्त पार्यो। यो विद्रोहमा क्षेत्रीय र विश्व शक्तिहरू पनि संलग्न थिए। त्यसयता यस युद्धमा पाँच लाखभन्दा बढी मानिस मारिएका छन्।
एक करोड २० लाख मानिस घर छोड्न बाध्य भएका छन्। तीमध्ये करिब ५० लाख मानिस अहिले या त शरणार्थी छन् वा विदेशमा शरण खोजिरहेका छन्। विद्रोहीले आक्रमण गर्नुअघि असद सरकारले रुस, इरान र इरान समर्थित मिलिसियाको सहयोगमा देशका धेरै सहरहरू आफ्नो नियन्त्रणमा लिएपछि युद्ध समाप्त भएको जस्तो देखिएको थियो।
तर, देशका केही ठुला भागहरू अझै पनि सरकारको प्रत्यक्ष नियन्त्रणभन्दा बाहिर नै थियो। यसमा अमेरिका समर्थित कुर्दिश नेतृत्वको सशस्त्र समूहको नियन्त्रण रहेको उत्तरी र पूर्वी क्षेत्रहरू पनि पर्छन्। विद्रोहीहरू कब्जामा आउन बाँकी गढ उत्तरपश्चिमी प्रान्तहरू एलेप्पो र इडलिबमा पनि थिए। उत्तरपश्चिमी क्षेत्रमा इस्लामिक चरमपन्थी समूह हयात तहरीर अल–शाम (एचटीएस) को प्रभुत्व रहेको छ। तर सिरियन नेशनल आर्मी (एसएनए) भनेर चिनिने टर्की समर्थित विद्रोही समूहले टर्की सेनाको सहयोगमा उक्त क्षेत्र कब्जामा लिइरहेका थिए।
के हो हयात तहरीर अल–शाम ?
हयात तहरीर अल–शाम (एचटीएस) अल–नसरा फ्रन्टको नामबाट गठन भएको थियो। गठन भएलगत्तै अर्को वर्ष समूहले अल–कायदाप्रति आफ्नो निष्ठाको राख्ने प्रतिज्ञा गर्यो। सिरियाली राष्ट्रपति बसर अल–असद विरुद्ध लडिरहेका सबै विद्रोही समूहहरूमध्ये अल–नसरा फ्रन्ट सबैभन्दा घातक र प्रभावकारी थियो। तर यो समूह क्रान्तिको उत्साहले भन्दा जिहादी विचारबाट प्रेरित भएको देखिन्छ । यसको मनोवृत्ति धेरै पटक विद्रोहीहरूको मुख्य गठबन्धन फ्रि सिरियन आर्मीसँगको द्वन्द्वको कारण पनि बन्यो।
२०१६ मा अल–नासराले अल–कायदासँग आफ्नो सम्बन्ध तोड्यो र एक वर्ष पछि अन्य विद्रोही समूहहरूमा विलयको समयमा यसको नाम हयात तहरीर अल–शाम राखियो। अमेरिका, बेलायत र अन्य धेरै देशहरू अझै पनि एचटीएसलाई अल–कायदाको सहयोगी ठान्छन् र प्रायः यसलाई अल–नसरा फ्रन्ट भन्छन्।
इडलिब र अलेप्पोमा आफ्ना प्रतिद्वन्द्वी अल–कायदा र इस्लामिक स्टेटका एकाइहरूलाई कुल्चदै एचटीएसले त्यहाँ पर्याप्त ताकत बटुलेको छ। यस क्षेत्रमा शासन गर्न उसले कथित रूपमा सिरियाली मुक्ति सरकार पनि गठन गरेको बताइएको छ। एचटीएसको अन्तिम लक्ष्य असदको पतन र इस्लामिक सरकारको स्थापना हो। तर यस अघिसम्म यसले ठुलो मात्रामा द्वन्द्व सुरु गर्ने प्रयास गर्यो अनि असदको शक्तिलाई फेरि चुनौती दिन बचिरह्यो। तर, अब एचटीएसका नेता अबु मोहम्मद अल जुलानीले सीएनएनसँगको अन्तरवार्तामा विद्रोहीको लक्ष्य असदको शासन अन्त्य गर्नु रहेको बताएका छन्।
सिरिया र यसका सहयोगीहरूले अहिलेसम्म के गरे ?
राष्ट्रपति बसर अल–असदले विद्रोहीहरूलाई धुलो पिठो पार्ने वाचा गरेका छन्। उनीहरूलाई असदले ‘आतङ्कवादी’ भनिरहेका छन्। डिसेम्बर २ मा इरानी राष्ट्रपति मसुद पेजिस्कियानसँग फोनमा कुराकानी गर्दा उनले अमेरिका र पश्चिमी देशहरूलाई युद्ध उक्साएको आरोप पनि लगाए। पश्चिमी मुलुकहरूले यस क्षेत्रको ‘नक्सा परिवर्तन’ गर्न चाहेको उनको अरोप थियो।
आफ्नो देश सिरियाली सरकार र त्यहाँका जनताको साथमा दृढताका साथ उभिएको यस कुराकानीका क्रममा इरानका राष्ट्रपतिले भनेका थिए। सिरियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता कायम राख्नु नै यस क्षेत्रको रणनीतिको आधार रहेको उनले बताएका थिए। अलेप्पो वरपरको अवस्थालाई सिरियाको सार्वभौमसत्तामाथि आक्रमण भएको रुसले ठानेको क्रेमलिन (रूस)का प्रवक्ता दिमित्री पेस्कोभले बताएका थिए। सिरियाली सरकारले यस क्षेत्रमा जतिसक्दो चाँडो स्थिति सामान्य बनाउन र संवैधानिक व्यवस्था पुनर्स्थापित गरोस् भन्ने आफूले चाहेको पनि उनले बताए। रुसले शुक्रबार सिरियामा रहेका आफ्ना नागरिकलाई देश छाड्न आग्रह गरेको थियो।
के भनिरहेका छन् पश्चिमी देश र टर्की ?
असदका विरोधीहरू अमेरिका, बेलायत र फ्रान्सले डिसेम्बर २ मा एक संयुक्त विज्ञप्ति जारी गर्दै सबै पक्षहरूलाई तनाव थप नबढाउन अपिल गरेका थिए। नागरिकलाई थप विस्थापित हुन नदिन सबै पक्षले नागरिक र पूर्वाधारको संरक्षण गर्नुपर्ने उल्लेख पनि विज्ञप्तिमा गरिएको थियो। युद्धमा फसेका र विस्थापित व्यक्तिहरूलाई मानवीय सहायता प्रदान गर्न आवश्यक रहेको भनेर पनि भनिएको थियो।
सिरियाली नेतृत्वमा यस द्वन्द्वको राजनीतिक समाधान खोज्न आग्रह गरिएको थियो। सन् २०१५ मा एउटा प्रस्तावमा संयुक्त राष्ट्र सङ्घले सरियाली द्वन्द्वको राजनीतिक समाधान रेखांकित गरेको थियो। यसअघि नोभेम्बर ३० मा ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता सेन सावेतले असद यस समस्याको राजनीतिक समाधान खोज्न इच्छुक नभएको बताएका थिए। यसका लागि उनी कुनै पनि राजनीतिक प्रक्रियामा संलग्न हुन चाहँदैनन् भन्ने सावेतको भनाई थियो।
यसबाहेक ‘रुस र इरान’माथिको निर्भरताले पनि अवस्था अहिलेको द्वन्द्वसम्म पुर्याएको छ। ‘विद्रोही आक्रमणसँग अमेरिकाको कुनै सरोकार नभएको’मा उनले जोड दिएका छन्। सिरियामा भइरहेको घटनामा कुनै विदेशी शक्तिको हस्तक्षेपको कुरा गर्नु गल्ती हुने टर्कीका विदेशमन्त्री हाकान फिदानले बताएका छन्। सिरियाली सरकारले आफ्ना जनता र वैधानिक विपक्षसँग शान्ति स्थापना गर्नुपर्ने उनको भनाइ थियो। एजेन्सी