एनपीएल: लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-06
  • 22:00:01
  • शनिबार,जेठ २३, २०८३
  • एनपीएल: लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको लक्ष्य

    एनपीएल: लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको लक्ष्य

    काठमाडौं– लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ।

    कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको हो।

    जारी एनपीएलमा एकै खेलमा बनेको यो उच्च स्कोर हो। यसअघि मंगलबार सुदूरपश्चिम रोएल्सले विराटनगर विरुद्ध नै १८२ रन बनाएको थियो।

    लिगमा आफ्नो पहिलो खेल खेलिरहेको लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए। अरध्शतकबाट चार रनले मात्र चुकेका उनले २९ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । यस्तै इंग्लयाण्डका टम मुर्सले १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडे।

    तेस्रो विकेटका लागि रोहित र टमले ६७ रनको साझेदारी गरेका थिए । यो जोडी ब्याटिङ गरिहरँदा २०० स्कोर कट्ने जस्तो देखिएको थियो। तर राजेश पुलामीले साझेदारी ब्रेक गरेपछि विराटनगरले बलिङमा पुनरागमन गरेको थियो। तैपनि विवेक यादवलेकेमियो इनिङ्स खेल्दै ७ बलमा अविजित १९ रन बनाएपछि लुम्बिनीले लिगकै उच्च स्कोर बनाएको हो।

    विवेकले ३ छक्का प्रहार गरे। यसैगरी अर्जुन साउदले १७, आशुतोष घिरैया र साद विन सफरले समान १५ रन जोडे भने सन्दिप जोराले १२ रन बनाए।अष्ट्रेलियन अलराउण्डर बेन कटिङ ६ रन बनाएर आउट भए। रामोन सिमोण्ड्स २ रनमा अविजित रहे।

    विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, राजेश पुलामी मगर र इस्मात आलमले समान १ विकेट लिए। सन्दीपले जार लिगमा तेस्रो खेलमा आएर पहिलो विकेट लिएका हुन्। लुम्बिनीमा चार खेलाडी रनआउटको शिकार बनेका थिए।