काठमाडौं– काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित हात पारेको छ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमान्डुले पहिलो जित निकालेको हो।
कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले ३ बल अगावै ७ विकेट गुमाएर १५३ रन बनाउँदै पूरा गर्यो। काठमान्डुका लागि सुमित महर्जनले अविजित ४० रन बनाए। उनले ३७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे।
यस्तै जेरार्ड एरासमसले ३८ तथा कप्तान करण केसीले २८ रन बनाए।
४१ रनमा ४ विकेट जाँदा छैटौं नम्बरमा क्रिजमा प्रवेश गरेका सुमितले पाँचौ विकेटका लागि जेरार्डसँग ५७ रनको साझेदारी गरेका थिए। त्यसपछि सुमित र कप्तान करणले छैटौं विकेटका लागि छिटो ४५ रनको साझेदारी गरे।
करणले विष्फोटक ब्याटिङ गर्दै १० बलमै २ चौका र २ छक्का प्रहार गरी २८ रन जोडे। करणको इनिङ्स नै खेलको जितको आधार बन्यो।
दोस्रो अन्तिम ओभरको अन्तिम बलमा करण छक्का प्रहार गर्ने चक्करमा देव खनाको सानदार क्याचमा आउट भएपछि काठमान्डुलाई जितका लागि अन्तिम ओभरमा ७ रन आवश्यक थियो।
अन्तिम ओभरको पहिलो बल वाइड भएपछि सुमित महर्जनले त्यसमा चौका प्रहार गर्दै जित सहज बनाएका थिए। त्यसपछि २ रन लिने चक्करमा रासिद खान रनआउट भए। अनि तेस्रो बलमा सुमितले चौका प्रहार गर्दै जित दिलाए।
बलिङमा कर्णालीका लागि सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिसान मक्सुद र विपिन शर्माले समान १–१ विकेट लिए।
त्यसअघि शिखर धवनले अर्धशतक प्रहार गरेपछि कर्णाली याक्सले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो। पहिलो खेलमा १४ रनमै आउट भएका धवनले काठमान्डु विरुद्ध ५१ बल खेल्दै ४ चौका र ५ छक्का मदतमा अविजित ७२ रन जोडे।
एक छेउबाट सुरुदेखि नै विकेट गएपनि धवनले अर्को छेउबाट टिकेर इनिङ्स सम्हालेका थिए। धवनले छैटौं विकेटका लागि जिसान मक्सुदसँग अविजित ६५ रनको साझेदारी गरे। मक्सुदले ११ बल खेल्दै १ चौका मदतमा अविजित १४ रन जोडे।
यस्तै चाडविक वाल्टनले २१, बाबा रहायतले १३ र गुल्सन झा ले २ रन जोडे। अर्जुन घर्ती ४ रनमा आउट भए भने ओपनर देव खनालले खाता खोल्न सकेनन्।
बलिङमा काठमाडौंका जेरार्ड एरासमसले २ तथा करण केसी, नाथन सोटर र दिपेश कँडेलले १–१ विकेट लिए।
काठमान्डु पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो। पहिलो जितपछि काठमान्डुले २ खेलबाट २ अंक जोडेको छ।
पेपरमा बलियो देखेको र धवनको आगमनले चर्चामा रहेको कर्णालीको भने यो लगातार दोस्रो हार हो। कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।