कर्णाली– ‘बहुप्रकोप पूर्वसूचना प्रणाली रणनीतिक कार्ययोजना तथा पूर्वकार्य प्रोटोकल निर्माण’सम्बन्धी प्रदेशस्तरीय गोष्ठी सम्पन्न भएको छ।
कर्णाली प्रदेशमा बाढी पहिरो, चट्याङलगायत बहुप्रकोपका विषयमा मङ्गलबार सरोकारवालाहरूको सहभागितामा वीरेन्द्रनगरमा गोष्ठी सम्पन्न भएको हो।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले संविधानको अनुसूचीमा व्यवस्था गरिएको र ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण ऐन, २०७४’ लागु भइसकेकाले त्यसैका आधारमा विपद् जोखिम न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । उनले आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई स्रोतसाधनसम्पन्न बनाउनुपर्ने बताए।
बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले बस्तीहरू नदी तथा खोला किनार र भिरोलो ठाउँमा भएकाले ती सबै बस्तीको व्यवस्थापन र विकासमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने योजना बनाउनुपर्नेमा जोड दिए।
जिल्ला प्रशासनले सूचना प्रणालीलाई प्रभावकारी बनाएको भन्दै उनले विपद्बाट बच्न प्रत्येक बस्तीमा साइरन जडान गर्न सुझाए।
गोष्ठीका सहभागीले विपद् जोखिम न्यूनीकरण गर्न नदी तथा खोला किनारमा बस्दै आएका र छरिएका बस्ती व्यवस्थापन गर्नुपर्ने, सडक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने र जथाभावी डोजर लगाउने काम रोक्नुपर्ने सुझाव दिएका थिए। कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्राक्टिकल एक्सनसँगको सहकार्यका गोष्ठी आयोजना भएको हो। रासस