वासिङटन डीसी– वायु प्रदूषण पछिल्लो समय सबैभन्दा गम्भीर समस्या बनेको छ। सर्दी सुरु हुँदै गर्दा वातावरण धुलो र धुवाँका कारण झनै धुम्म बन्दै गइरहेको छ।
हावाको गुणस्तर ट्र्याक गर्ने वेबसाइट आईक्यूएयरका अनुसार सोमबार काठमाडौँको वायुको स्तर ९७ रहेको छ। यो भनेको ठिकै खालको हो। तर हालैका दिनहरूमा काठमाडौँको हावाको स्तर अस्वस्थकर रहँदै आएको छ।
प्रदूषणका कारण मान्छेमा अनेकौँ समस्या देखिरहेका छन्। सास फेर्न समस्या, एलर्जी, दम, मुटुसम्बन्धी रोग आदिका बिरामी बढिरहेका छन्। बढ्दे प्रदूषणबाट बच्नका लागि केही उपाय गर्न निकै जरुरी छ।
मास्कको प्रयोग गर्नुस्:
प्रदूषणबाट बच्न एन९५ वा पी१०० मास्क प्रयोग गर्नुहोस्। यो मास्कले हानिकारक कणहरू र प्रदूषकहरूलाई शरीरमा प्रवेश गर्नबाट रोक्न मद्दत गर्दछ। विशेषगरी बाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य गर्नुस्।
घरमा एयर प्युरिफायरको प्रयोग:
घरभित्र पनि हावाको गुणस्तर कायम राख्न एयर प्युरिफायरको प्रयोग गर्नुहोस्। प्युरिफायरले हावामा रहेका हानिकारक कणहरूलाई फिल्टर गर्छ र घर भित्र शुद्ध हावा प्रवाहमा सघाउँछ।
हराभरा ठाउँमा समय बिताउनुस्:
सकेसम्म, सम्भव भएसम्म पार्क र बगैँचा जस्ता हराभरा ठाउँहरूमा समय बिताउनुहोस्। यी ठाउँहरू तुलनात्मक रूपमा कम प्रदूषित हुन्छन् र यहाँको हावा अलि सफा हुन्छ।
घरभित्र गर्नुस् शारीरिक गतिविधि:
प्रदूषण बढेको समयमा बिहान सबेरै वा बेलुका घरबाहिरको सट्टा घरभित्रै व्यायाम गर्नुस्। प्रदूषक कणहरू साससँगै शरीरमा प्रवेश गर्न सक्ने भएकोले बाहिर हिँडडुल सकेसम्म कम नगर्नुहोस्।
रूख रोप्नुस्:
रुख रोप्नु दीर्घकालीन समाधान हो। सकेसम्म धेरै रूखहरू रोप्नुहोस् र आफ्नो वरपरको क्षेत्रमा हरियाली बढाउने प्रयास गर्नुहोस्। यसले प्रदूषण नियन्त्रण त गर्छ नै वातावरणलाई पनि हरियाली बनाउँछ।
सवारी साधनको प्रयोग घटाउने:
प्रदूषण कम गर्न सार्वजनिक यातायातको बढी प्रयोग गर्नुहोस्। हिँड्दा वा साइकल चलाउँदा प्रदूषण कम गर्न मद्दत गर्छ। विद्युतीय सवारी साधनको प्रयोग पनि राम्रो विकल्प हो।
झ्याल र ढोका बन्द राख्नुस्:
वायु गुणस्तर सूचकांक (एक्यूआई) धेरै भएको समयमा घरमा पनि झ्याल र ढोका बन्द गरेर राख्नुहोस् ताकि बाहिरबाट प्रदूषित हावा घर भित्र आउन नसकोस्।
प्राकृतिक वायु शुद्धीकरण प्लान्ट:
घरमा नीम, तुलसी, एलोभेरा र मनी प्लान्ट जस्ता बिरुवाहरू रोप्नुहोस्। यस्ता बोट बिरुवाले पनि प्राकृतिक रूपमा हावाको गुणस्तर सुधार्न मद्दत गर्छ।
आफ्नो आहारको ख्याल राख्नुस्:
शरीरमा प्रदूषणको प्रभाव कम गर्न एन्टिअक्सिडेन्टयुक्त खानेकुराको सेवन गर्नुपर्छ। भिटामिन सी र ओमेगा–३ फ्याटी एसिडको सेवनले शरीरलाई प्रदूषणसँग लड्ने क्षमता प्रदान गर्छ। पर्याप्त मात्रामा पानी पिउनुहोस् ताकि शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न सकियोस्।
निर्देशिकाहरू पालना गर्नुस्:
प्रदूषण कम गर्न सरकारले जारी गरेको निर्देशन र नियमको पालना गर्नुहोस्। फोहोरलाई नजलाउनुहोस्।
प्रदूषण रोकथाम गर्न व्यक्तिगत जिम्मेवारीका साथै सामुदायिक सहयोग पनि चाहिन्छ। वातावरणलाई स्वच्छ बनाउन समुदायका हरेक व्यक्तिको योगदान आवश्यक छ। तर माथि बताइएका यी उपायहरू अपनाएर हामी यो गम्भीर समस्यालाई रोक्न र राम्रो वातावरण सिर्जना गर्न सक्छौँ। एजेन्सी