स्वास्थ्य मन्त्रालयले बीमाबाट ५ लाखसम्मको उपचार खर्च व्यहोर्ने - Chaitanya News
  • 2026-07-18
  • 09:03:59
  • शनिबार,साउन ०२, २०८३
  • स्वास्थ्य मन्त्रालयले बीमाबाट ५ लाखसम्मको उपचार खर्च व्यहोर्ने

    स्वास्थ्य मन्त्रालयले बीमाबाट ५ लाखसम्मको उपचार खर्च व्यहोर्ने

    काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले  स्वास्थ्य बीमा गर्ने व्यक्तिले उपचार सुविधा पाउने रकम एक लाखबाट बढाएर पाँच लाख पुर्‍याउने महत्वाकांक्षी योजना अगाडि सारेको बताएका छन ।

    हाल कार्यान्वयनमा रहेको एक लाख रुपैयाँको स्वास्थ्य बीमाले धेरै नागरिकलाई राहत दिए पनि यो रकम अपर्याप्त रहेको मन्त्रालयले निष्कर्ष निकालेको छ। विशेष गरी मिर्गौला, मुटु, कलेजो, फोक्सो र मस्तिष्कघात जस्ता गम्भीर रोगको उपचारका लागि यो रकम न्यून भएको गुनासो आइरहेको थियो।

    बीमितलाई ५ लाखसम्मको उपचार सुविधा दिन स्रोत व्यवस्थापनका लागि मन्त्रालयले विभिन्न उपायहरू प्रस्ताव गरेको छ।

    संघीय, प्रदेश र स्थानीय सरकारले स्वास्थ्य सेवामा खर्च गर्ने वार्षिक ३१ अर्ब रुपैयाँ बीमा कोषमा समावेश गर्ने, सरकारी तथा गैरसरकारी कर्मचारीको तलबको २ प्रतिशत बीमा कोषमा जम्मा गर्ने, स्वास्थ्य कर दोब्बर गर्ने र विद्युत शुल्कको १ प्रतिशत बीमा कोषमा समावेश गर्ने योजना रहेको मन्त्री प्रदीप पौडेलले जानकारी दिए।

    राज्यले लिने करको ०.५ प्रतिशत बीमा कोषमा हाल्नुपर्ने र डिजल, पेट्रोल, ग्याँसबाट बूढीगण्डकी आयोजनामा दिएको पैसालाई बन्द गरेर बीमा कोषमा लैजानुपर्ने मन्त्री पौडेलको भनाइ छ।

    यस्तै हाल बीमितले आफ्नो उपचार खर्च बापत १० प्रतिशत आफैँ तिर्नुपर्ने (को(पेमेन्ट प्रणाली) मा पनि परिवर्तन गरिने छ। हाल एक लाख रुपैयाँमा १० प्रतिशत (१० हजार) तिर्नुपर्ने व्यवस्थालाई पाँच लाखमा ७ प्रतिशत (३५ हजार) मा परिवर्तन गर्ने योजना रहेको मन्त्री पौडेलले सुनाए ।

    मन्त्रालयले नक्कली बीमा दाबी रोक्न कडा कानुनी व्यवस्था गर्न लागेको छ। बीमा ऐनमा संशोधन गरी नक्कली दाबी गर्ने कर्मचारीलाई बर्खास्त गर्ने र सम्बन्धित अस्पतालको सम्झौता खारेज हुनेसम्मको व्यवस्था गर्ने मन्त्रालयको तयारी छ।