लोकसेवा मात्रै त्यस्तो क्षेत्र हो जहाँ क्षमताले काम गर्छ  :  तेज बहादुर बोगटी - Chaitanya News
  • 2026-05-23
  • 17:37:43
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा मात्रै त्यस्तो क्षेत्र हो जहाँ क्षमताले काम गर्छ  :  तेज बहादुर बोगटी

    लोकसेवा मात्रै त्यस्तो क्षेत्र हो जहाँ क्षमताले काम गर्छ  :  तेज बहादुर बोगटी

    प्रमुख प्रशासकीय अधिकृत संघ, प्रदेश र सरकारबीच सम्पर्क सूत्र हो । उसले सरकारका तहहरुबीच समन्वय, सहयोग र सहकार्यमा महत्वपुर्ण भूमिका खेल्दछ । दलीय नेतृत्व गरेर आएका जनप्रतिनिधिहरुबीच उत्पन्न विवाद र द्वन्द्व समाधान गर्न नेगोसिएटरको भूमिका खेल्दै पालिकामा महत्वपूर्ण निर्णय गर्न गराउन सघाउँछ । पालिकाका सुचनाहरु सार्वजनिक गर्ने कम्युनिकेटर पनि हो, प्रमुख प्रशासकीय अधिकृत । सभा र कार्यपालिकाको सचिवको रुपमा कार्य गर्ने, सभा र कार्यपालिकाको निर्णय कार्यन्वयन गर्ने गराउने, अध्यक्ष वा प्रमुखको निर्देशनमा वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मुल्याङ्कन गर्ने गराउने आदि कामहरु गर्दछ । पालिकाभित्र भइरहेको कामलाई जनतासमक्ष पुर्‍याउने र केही पालिकामा भौगलिक विकटता र सिमित स्रोत साधनका बीच काम गर्न असहज भइरहेको बेला कुन पालिकाले कसरी काम गरिरहेका छन ? त्यहाँका समस्या के छन ? त्यहाँका जनताको अपेक्ष के छ ? यिनै कुरालाई मध्यनजर गर्दै चैतन्य खबरले विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग संवाद गरिरहेको छ । त्यसै अनुरुप आज चैतन्यका लागि निर्मला कडायतले कैलालीको चुरे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेज बहादुर बोगटीसँग गरेको संवादको सम्पादित अंशः

    1.  तपाँई हाल कार्यरत पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवार सम्हाल्नु भएको कति भयो ?
    मैले चुरे गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको एक महिना भयो ।

    2.  यो एक महिनाको अवधिमा यहाँका जनप्रतिनिधिको व्यवहार र यहाँको माहोल कस्तो पाउनुभयो ?
    म चुरे गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर आएको धेरै समय त भएको छैन । छोटो अवधि भएको हुँदा त्यति धेरै घुलमिल त हुन पाएको छैन । तर पनि जति पनि समय भएको छ त्यो समयमा यहाँका जनप्रतिनिधि, कर्मचारीको व्यवहार राम्रो नै छ । सबै सहयोगी हुनुहुन्छ । विकास सम्बन्धिका कामहरु छिटो अगाडी बढाउनुपर्छ भन्ने उहाँहरुमा चासो छ । मिलेर काम गर्नुपर्छ भन्ने भावना सबैमा छ ।

    3. पालिकामा कर्मचारीप्रति जनताको कस्तो अपेक्षा पाउनुभएको छ ?
    स्थानीय तहमा जनताहरुले अपेक्षा त थुप्रै गरेका छन् । संघीय सरकार र प्रदेश सरकारका अधिकार क्षेत्रका विषयमा पनि स्थानीय तहसँग जनताको अपेक्षा हुने हुन्छ । विकास योजनाका कामदेखि पालिकाले प्रवाह गर्ने सेवामा सहजता हुने जनअपेक्षा छ । पालिकाका जनतालाई सेवा दिने भनेर हामी आएका हौं । शाखामार्फत हुने सेवा प्रवाहलाई चुस्तता पार्ने छौं । र जनअपेक्षा सनुसार नै हामी सेवा दिनेछौं ।

    4. तपाँईले पालिकामा प्रशासकीय कार्यशैलिको कुसल व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
    हामीसँग विभिन्न वडाहरु छन् । विभिन्न तहमा जिम्मेवारी बाँडफाँड गरेका छौं । प्रत्येक एक महिनामा कर्मचारीहरुले गरेको कामको विवरण राखेर हामीले कामलाई अगाडी बढाइरहेका छौं ।

    5. कर्मचारीको पर्याप्तता, सहजता, असहजता के छ ?
    हाम्रो पालिकामा कर्मचारी प्रयाप्त नै छन ।

    6. यहाँले कर्मचारी त पर्याप्त नै छन भन्नुभयो, पालिकामा अझै के भइदिएमा गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ जस्तो लाग्छ यहाँलाई ?
    हाम्रो पालिका विकट भू–भागमा पर्छ । पहाडी भू–भाग छ । हाम्रो यता सडकको लागि कतै डोजर लगाउ भनेपनि पुरै पहाड नै भत्किने डर छ । हाम्रै पालिका नजिक जोरायल गाउँपालिका छ, उहाँहरु डोटी जिल्लामा पर्नुभएकाले उहाँहरुले स्थानीय भत्ता पाउँछन् । तर हाम्रो पालिका कैलाली जिल्लाको नाम चाहीँ भयो ठाउँ चाही विकट भू–भागमा पर्यो । हाम्रो पालिकामा गाडीहरु चले पनि निकै अप्ठेयरो छ । तर हाम्रो पालिकामा स्थानीय भत्ता पनि दिएको छैन । यही विषयमा जनताका गुनासाहरु पनि आउने गर्छन । सरकारले ध्यान दिएको खण्डमा हामीलाई सजिलो हुनेथियो ।

    7. अहिले लोकसेवाको आकर्षण कढ्दो छ, तयारी गरिरहनु भएका परिक्षार्थीलाई के भन्न चाहानुहुन्छ ?
    अहिले लोकसेवाप्रति युवाहरुको उत्साहजनक आकर्षण देखिएको छ । युवाहरुले लोकसेवा भनेको निकै गाह्रो हुन्छ । निकै अप्ठ्यारो हुन्छ । यो कसरी पढ्ने ? केका लागि पढ्ने ? यसमा करियर कस्तो हुन्छ ? जस्ता कुराहरु धेरै युवाहरुले आफ्नो मनमा खेलाएका हुन्छन् । तर यसमा युवाहरुले डराउनु पर्दैन । धेरै कुराहरु मनमा खेलाउनु पर्दैन । नेपालमा नै तलब सुबिधा लिएर जनताको सेवा गर्ने अवसर दिने नै लोकसेवाले हो । यदि तपाँईहरुले म नेपालमा नै केही गर्छु, लोकसेवा बाट नै केही गर्छु र लोकसेवामा नै मेरो भविष्य छ भन्ने सोच बनाएर पढ्नु भयो भने तपाँईलाई सरकारी जागिर खान कसैले पनि रोक्न सक्दैन । राजनीतिक अस्थिरताका कारण जहाँतहि नाताबाद, कृपावाद लगायत सोर्सफोर्सले बढी नै काम गरिरहेको अबस्थामा लोकसेवा मात्रै त्यस्तो क्षेत्र हो जहाँ क्षमताले काम गर्छ । त्यसैल अहिलेको अबस्थामा युवाहरुले लोकसेवा तयारी गर्नु नै सबैभन्दा उत्तम विकल्प हो ।

    8. कसरी तयारी गर्दा लोकसेवामा सफलता प्राप्त हुन्छ जस्तो लाग्छ यहाँलाई ?
    पढेरमात्रै लोकसेवा पास गर्न सकिदैन । सबै कुरा मिल्नुपर्छ । पहिलोचोटि मै सफल नहुन पनि सकिन्छ । धैर्यताको बाँधलाई टुट्न दिनुहुँदैन । पढ्दा कुनै एउटा पाठ्य सामग्रीको मात्रै भर पर्नुहुँदैन । बजारमा गुणस्तरीय भन्दा पनि प्रचारमुखी सामग्री बढि पाईन्छन् । त्यसैले पाठ्य सामग्री छान्दा सम्पूर्ण पाठ्यक्रमलाई समेटेका गुणस्तरीय सामाग्री छान्नु पर्छ । नोट बनाउने बानी बसाल्ने । परीक्षाको समयमा नोट पढ्ने । समसामायिक विषयमा अपडेट हुने । समसामयिकको लागि छुट्टै नोट तयार गर्ने । कम्तीमा पनि दिनको दुईवटा राष्ट्रिय स्तरको पत्रिका पढ्ने । रेडियोको समाचार सुन्ने, सरकारी निकायहरुले निकालेका प्रतिवेदनहरु हेर्ने बानी बसाल्ने । क्लासहरु लिने ।