काठमाडौं- सहसचिव र उपसचिवको परीक्षा पूर्ववत् मितिमै हुने भएको छ।
थारु आरक्षण कोटा माग गर्दै थारु कल्याणकारिणी सभाले दायर गरेको रिटमाथि यसअघि दिएको अन्तरिम आदेश रद्द भएसँगै परीक्षा पहिले तोकिएकै मितिमा हुने भएको हो।
अन्तरिम आदेश रद्द भएसँगै परीक्षा पुरानै समय तालिकामा हुने आयोगले जनाएको छ। ‘अन्तरिम आदेश रद्द भएसँगै सहसचिव र उपसचिवको परीक्षा पुरानै मितिमा हुनेछ। यद्यपि आदेश पुगि नसकेकोले प्राप्त भएपछि आयोगले यस सम्बन्धमा सूचना जारी गरेर जानकारी दिने छ,’ आयोग स्रोतले भन्यो।
संविधान अनुसार थारु आरक्षण कोटा नराखी कर्मचारी पदपूर्ति गर्न लागेको भन्दै थारु कल्याणकारिणी सभाको तर्फबाट दायर रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश कुमार ढुङ्गानाको एकल इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्म ६.६ प्रतिशत पदमा पदपूर्ति नगर्न अन्तरिम आदेश दिएको थियो।
उक्त आदेशपछि परीक्षा सञ्चालन गर्न कठिनाइ हुने भन्दै सरकार भ्याकेट्मा गएको थियो।
आयोगले असोज २६ गते सहसचिव र उपसचिवका लागि विज्ञापन खोलेको थियो। आयोगले विभिन्न सेवा समूहतर्फ गरी सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन माग गरेको थियो। अब ती विज्ञापन पूर्वनिर्धारित सममै हुने भएका हुन्।