अमेरिकाको भावी राष्ट्रपतिले रुस–युक्रेन युद्धमा कस्तो प्रभाव पार्न सक्लान् ? - Chaitanya News
  • 2026-07-04
  • 09:53:20
  • शनिबार,आषाढ २०, २०८३
  • अमेरिकाको भावी राष्ट्रपतिले रुस–युक्रेन युद्धमा कस्तो प्रभाव पार्न सक्लान् ?

    अमेरिकाको भावी राष्ट्रपतिले रुस–युक्रेन युद्धमा कस्तो प्रभाव पार्न सक्लान् ?

    वासिङटन डीसी– सन् २०२४ को सेप्टेम्बरमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की अमेरिका पुगेर अमेरिकी नेताहरूसामु रुससँगको युद्धमा आफ्नो जितको योजना प्रस्तुत गरे। उनले यो योजना आफ्नो देशको संसदमा पेस गर्नु केही साताअघि अमेरिकी नेताहरूसमक्ष प्रस्तुत गरेका थिए । रुस–युक्रेन युद्ध अन्त्य गर्ने उनको रणनीति थियो।

    जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्दा उपराष्ट्रपति तथा आजको निर्वाचनमा डेमोक्रेटिक पार्टीको राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस पनि सँगै उभिएकी थिइन्। रुस–युक्रेन युद्ध अन्त्य गर्ने कुनै पनि निर्णय युक्रेनको सहमतिविना गर्न नसकिने ह्यारिसले बताएकी थिइन्।

    त्यसको एक दिनपछि राष्ट्रपति जेलेन्स्कीले रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेका डोनाल्ड ट्रम्पलाई न्यूयोर्कमा भेटे। यस भेटमा डोनाल्ड ट्रम्पले भने, ‘यो युद्ध छिटै अन्त्य हुनुपर्छ किनभने युक्रेन र यसका राष्ट्रपतिले ठुलो कठिनाइको सामना गरिरहेका छन्।

    त्यति नै बेला जेलेन्स्कीले चाहिँ अमेरिका युद्धभर नै मजबुतीका साथ उभिएको र आफूलाई ऊसँग पूरै आशा भएको बताएका थिए। अमेरिकाको भावी राष्ट्रपतिले युक्रेन युद्धमा कस्तो प्रभाव पार्न सक्छ? यसैबारे आज हामी चर्चा गर्नेछौँ।

    रूस–युक्रेन युद्धको हालत:
    युक्रेनले कुनै पनि मूल्यमा आत्मसमर्पण गर्नेछैन, किनकि रुसले युक्रेनी सरकारको अस्तित्व नामेट पार्न पार्न चाहन्छ,’ युक्रेनी अनुसन्धानकर्ता तथा बौद्धिक समूह डेमोक्रेटिक इनिसिएटिभ फाउन्डेसनको क्षेत्रीय द्वन्द्व र सुरक्षा अध्ययनका प्रमुख मारिया जोल्किना भन्छिन्। उनले अगाडि भनिन्, ‘तर युक्रेनका धेरै सहयोगीहरू, विशेष गरी अमेरिकाको यही सोच छ कि कम्तीमा युद्धविरामको सम्भावनालाई रणनीतिक दृष्टिकोणबाट विचार गर्न सकिन्छ।

    अन्तर्राष्ट्रिय समुदायले युक्रेनको हिस्सा मानेको क्रिमियालाई सन् २०१४ मा रुसले गाभेको थियो र त्यसपछि २०२२ मा रुसले युक्रेनमा आक्रमण गर्‍यो।

    कयौँ वर्षदेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन ऐतिहासिक रूपमा रुसको हिस्सा भएकाले यसलाई छुट्टै देश ठान्दिनँ भन्ने दाबी गर्दै आएका छन्। रुसको जितको अर्थ युक्रेनले स्वतन्त्र राष्ट्रको रूपमा काम गर्न नसक्ने मारिया जोल्किना बताउँछिन्। उनी भन्छिन्, ‘रूसको उद्देश्य अझै पनि उस्तै छ । ऊ युक्रेनी सहरहरूलाई यस्तो क्षति पुर्याउन चाहन्छ कि त्यहाँका मानिसहरूलाई बस्न गाह्रो होस्, खास गरी जाडोका दिनहरूमा।

    जोल्किनाका अनुसार अगस्टमा युक्रेनी सेनाले रुसको कुर्स्क क्षेत्रमा आक्रमण र कब्जा गर्न थालेको थियो । दोस्रो विश्वयुद्धपछि यस्तो पहिलो पटक भएको थियो। यस हमलाले रुसलाई हक्कबक्क पारिदियो। यसको उद्देश्य युक्रेनले आफ्ना समर्थकहरूलाई युद्धमा युक्रेनलाई गरेको सहयोगले उनीहरूलाई फाइदा भइरहेको छ भनी आश्वासन दिन सकोस् भन्ने थियो। तर पछि रुसले उक्त क्षेत्रको एक चौथाई भूभाग पुनः कब्जा गर्‍यो अनि रुसी सेना पूर्वी युक्रेनमा प्रवेश गर्‍यो।

    युक्रेनमा रुसको निरन्तरको प्रगति:
    ‘बिस्तारै रुसी सेना दोनेत्स्क क्षेत्रका भित्री सहरहरूसम्म पुगेका छन्। उनीहरू युक्रेनको केन्द्रसम्म पुग्न चाहन्छन्,’ जोल्किना भन्छिन्। उनका अनुसार पाक्रोस्क र बुग्लेदारमाथि कब्जा गरेपछि रुसी सेनाका लागि दोनेत्स्क क्षेत्रका क्रोमोतोर र बागलान्स्क सहर पुग्ने बाटो खुलेको छ। त्यहाँबाट उनीहरूलाई युक्रेनको मुख्य औद्योगिक क्षेत्र निप्रोभ क्षेत्रमा पुग्न सजिलो हुनेछ।

    उनी भन्छिन्, ‘यदि यस्तो भयो भने, २०२२ पछि पहिलो पटक युक्रेनी सेना सबैभन्दा कठिन अवस्थामा हुनेछ।

    युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सांसदहरूलाई प्रस्तुत गरेको विजय योजनामा कयौँ पक्ष छन्। पहिलो त युक्रेनलाई नेटोको सदस्यता दिइनेछ। तर यसका लागि सबै नेटो सहयोगीहरूको सहमति आवश्यक छ। अर्कोतर्फ युक्रेन नेटोमा सामेल भयो भने, पश्चिमी देशहरू रसियासँग प्रत्यक्ष द्वन्द्वमा आउनेछन्। जोल्किना भन्छिन्, ‘युक्रेनले पश्चिमी देशहरूसँग यो पनि माग गरेको छ कि उनीहरूले दिएको लामो दूरीको मिसाइलहरूलाई रुसको आन्तरिक क्षेत्रमा आक्रमण गर्न अनुमति दिनुपर्छ।’

    युक्रेनले रुसविरुद्ध लगाइएको आर्थिक प्रतिबन्ध खासै प्रभावकारी नभएको भन्दै उसकाविरुद्ध थप कडा आर्थिक प्रतिबन्ध लगाउन माग गरेको छ।

    पर्याप्त सहयोग पाएमा अर्को वर्ष युद्ध अन्त्य गर्न सक्ने जेलेन्स्कीले भनेका छन्। युक्रेनले पाइरहेको सहायता अप्ठ्यारोमा पर्ने भएकाले उसलाई पनि अमेरिकाको भावी राष्ट्रपति को होला भन्ने चिन्ता रहेको जोल्किना बताउँछिन्।

    डेमोक्र्याट पार्टीको अडान:

    अमेरिका युक्रेनको सार्वभौमसत्ताको सबैभन्दा ठुलो समर्थक भएको र राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस यसका लागि सधैँ प्रतिबद्ध रहेको डेमोक्रेटिक पार्टीका रणनीतिकार तथा राजनीतिक विश्लेषक मेरी एन मार्स बताउँछन्। डेमोक्रेटिक पार्टीकी राष्ट्रपतिका उम्मेदवार सुरुदेखि नै युक्रेनसँग सम्बन्धित निर्णयहरूमा संलग्न छिन्। मेरी एन मार्श भन्छिन्, ‘युक्रेनसँग सम्बन्धित हरेक बैठकमा उनी सहभागी भएकी छिन्। उनले जेलेन्स्कीलाई रुसी आक्रमणको गुप्तचर जानकारी पनि दिइरहेकी छिन् ताकि उनी यसको सामना गर्न आवश्यक तयार हुन सकुन्।

    जेलेन्स्कीलाई ह्यारिसले गुप्तचर मामिलामा पनि सल्लाह दिइरहेकी छन् । ह्यारिस राष्ट्रपति बनिन् भने यसले युक्रेनविरुद्ध रुसी आक्रमण अन्त्य गर्न युक्रेनलाई धेरै मद्दत गर्ने मार्शको बुझाइ छ। दर्जनौँ देशले युक्रेनलाई सैन्य, आर्थिक र मानवीय सहायता दिइरहेका छन्। तर युक्रेनलाई सबैभन्दा ठुलो सहयोग अमेरिकाले दिइरहेको छ। यो महिना अमेरिकाले युक्रेनलाई ४२ करोड डलरभन्दा बढीको सैन्य सहायता दिएको थियो।

    युक्रेनलाई कसरी सहयोग गर्दैछ अमेरिका ?

    अब युक्रेनका निजी कम्पनीहरू पनि हतियार उत्पादनको क्षेत्रमा आउन थालेका छन्। तर युक्रेनलाई देशका धेरै क्षेत्रहरू सञ्चालन गर्न र आफ्ना कर्मचारीहरूलाई तलब दिन सहयोगी राष्ट्रहरूबाट आर्थिक सहयोग चाहिन्छ। मार्शका अनुसार युद्ध सुरु भएदेखि नै युक्रेनलाई सहयोग गर्ने सम्बन्धमा अमेरिकाका दुवै पार्टीबिच सहमति भइरहेको छ।

    उनी भन्छिन्, ‘डेमोक्रेटिक पार्टीका सांसदहरूबाहेक रिपब्लिकन पार्टीका अधिकांश सांसदले पनि युक्रेनलाई दिइएको सहायता प्याकेजलाई समर्थन गर्दै आएका छन्।

    तर यो काम पनि सहज भने रहेन। ६१ अर्ब डलरको सहायता प्याकेज स्वीकृत गर्न महिनौँ ढिलाइ भएको थियो। धेरै रिपब्लिकन सांसदले अवैध आप्रवासन रोक्न मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन पैसा प्रयोग गर्नुपर्ने बताइरहेका छन्। धेरै रिपब्लिकन मतदाता यो सोचलाई पनि समर्थन गर्छन्।

    तर यस पटकको निर्वाचनमा कमला ह्यारिस राष्ट्रपति निर्वाचित भइन् भने युक्रेनको समर्थन यसरी नै जारी रहला कि वा यसमा कुनै परिवर्तन आउला ?अहिले नै यसको जवाफ दिन गाह्रो रहेको मार्श बताउँछिन्।

    उनले भनिन्, ‘युक्रेनी राष्ट्रपतिसँग ह्यारिसको राम्रो सम्बन्ध छ तर जसरी उनले इजरायल–गाजा युद्धमा युद्धविरामको लागि जोड दिइरहेकी छन्, हुन सक्छ उनले युक्रेनी युद्धमा पनि युद्धविराममाथि जोड दिन्छिन्।’

    ह्यारिसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कहिल्यै कुरा गरेकी छैनन्। तर राष्ट्रपतिको निर्वाचनमा उनका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प पुटिनसँग सम्पर्कमा छन्।

    कस्तो होला रिपब्लिकनको रवैया ?

    एट्लान्टिक काउन्सिलको स्कोक्राफ्ट सेन्टर फर स्ट्राटेजी एन्ड सेक्युरिटीका उपाध्यक्ष म्याथ्यू क्रोनिगले रिपब्लिकन विदेश नीतिमा धेरै पुस्तक लेखेका छन्। ट्रम्पले युक्रेन युद्ध रोक्न चाहेको उनी स्मरण गराउन चाहन्छन्। उनी भन्छन्, ‘जेलेन्स्कीलाई सम्झौता गर्न आग्रह गर्छु अन्यथा अमेरिकाले सहायता रोक्नेछ भनेर युक्रेनलाई भन्छु भनेर उनले बयान दिइसकेका छन्।’

    तर ट्रम्पले पुटिनलाई पनि सम्झौता गर्न आग्रह गर्ने उनको तर्क छ। अन्यथा अमेरिकाले युक्रेनलाई पहिले भन्दा धेरै सहायता दिन थाल्नेछ। त्यसोभए प्रश्न उठ्छ– यो कस्तो प्रकारको सम्झौता बन्ला ?

    म्याथ्यु क्रोनिगका अनुसार ट्रम्पका नजिकका केही व्यक्तिहरू सम्झौताअनुसार युक्रेनलाई सैन्य सहायता जारी राखेर सुरक्षाको ग्यारेन्टी गरिनुपर्छ ताकि रसियाले भविष्यमा फेरि आक्रमण गर्न नसकोस् भन्ने चाहन्छन्। ‘तर यसको अर्थ यो होइन कि रुसले युक्रेनको अतिक्रमण गरेको भूमि आफ्नो नियन्त्रणमा राख्नुपर्छ। बरु अन्तर्राष्ट्रिय कानुनअनुसार युक्रेनलाई आफ्नो भूमि फिर्ता गरिनेछ। अहिलेको अवस्थालाई हेर्दा यो व्यावहारिक दृष्टिकोण हुन सक्छ,’ उनी भन्छन्।

    पुटिनलाई लिएर अन्योल:

    पुटिनले कहिले र के गर्नेछन् भन्न गाह्रो छ र डोनाल्ड ट्रम्पमा पनि यही कुरा लागु हुन्छ। आफ्नो पहिलो कार्यकालमा ट्रम्पले धेरै विवादास्पद बयान दिएका थिए, यस्तै खालका निर्णय र धम्की पनि दिए। आणविक हतियार बनाएमा इतिहासमा यसअघि कहिल्यै नघटेको नतिजा भोग्नुपर्ने चेतावनी पनि उनले इरानलाई दिएका थिए। उनका केही पूर्वअधिकारीका अनुसार युक्रेनमा आक्रमण गरे त्यसको नतिजा नराम्रो हुने ट्रम्पले पुटिनलाई बताएका थिए।

    त्यसकारण, पुटिन पनि सतर्क हुनेछन् । ट्रम्पले के गर्लान् भनेर भविष्यवाणी गर्न गाह्रो छ भन्ने उनलाई थाहा छ।

    तर चुनावी अभियानमा युक्रेनलाई दिइने सैन्य सहायताबारे ट्रम्पले के भनेका छन् भन्ने कुरा पनि महत्त्वपूर्ण छ। म्याथ्यू क्रोनिगका अनुसार, ‘ट्रम्पले भनेका छन् कि अमेरिकाले युक्रेनलाई धेरै सहायता दिइरहेको छ। एक पटक उनले जेलेन्स्की विश्वको सबैभन्दा राम्रो सेल्सम्यान हो भनेर पनि भनेका थिए। वाशिंगटन आउँछन् अनि अरबौं डलरको प्याकेज लिएर जान्छन्।’

    सन् २०१८ मा ट्रम्पले आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा अमेरिकालाई नेटोबाट निकाल्ने धम्की पनि दिएका थिए। युक्रेनलाई अमेरिकाले दिँदै आएको सहायता रोकियो भने के हुन्छ भनेर सहयोगी देशहरूमा चिन्ता भएको म्याथ्यू क्रोनिग मान्दछन्। तर युरोप अमेरिकाको सबैभन्दा ठुलो व्यापारिक साझेदार भएकाले अमेरिकाले युरोपको साथ छोड्छ भन्ने लाग्दैन। म्याथ्यू क्रोनिगका अनुसार अहिले ट्रम्पको चुनाव जित्ने सम्भावना ५० प्रतिशत छ, जसको अर्थ उनले आगामी केही महिनामा युक्रेनमा सम्झौता गर्ने सम्भावना पनि ५० प्रतिशत छ। त्यसले सबैलाई असर गर्ने भएकाले यस सम्झौताको प्रकृतिबारे विश्लेषक र सरकारी अधिकारीले सोच्न थाल्नुपर्ने उनको भनाइ छ।

    खतराको घण्टी:

    अहिले रुस–युक्रेन युद्धमा रुसले अग्रता लिइरहेको देखिएको बेलायतस्थित थिंक ट्याङ्क रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटका सैन्य विज्ञानका निर्देशक म्याथ्यु साभिल भन्छन्। उनी भन्छन्, ‘रुस कहिले सम्झौताको लागि तयार होला भन्न गाह्रो छ। रुसको लक्ष्य अहिले पनि उही छ। एउटा लक्ष्य युक्रेनमा सत्ता परिवर्तन हो, अर्कोचाहिँ युक्रेन नेटो वा यूरोपेली संघको सदस्य नबनोस्। यस्तो भयो भने रुसको लागि सुरक्षाको सवाल खडा हुनेछ, रुसको उद्देश्य अहिले पनि यही छ।

    युक्रेनको सफलता यही हो कि उसले आफ्नो अधिकांश भूमि आफ्नो नियन्त्रणमा राखेको छ र रुसलाई आफ्नो लक्ष्यबाट टाढा राखेको छ। तर राष्ट्रपति बाइडेनको कार्यकालको अन्त्य र नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्ने बिचको अन्तराल युक्रेनको लागि जोखिमको समय हुन सक्ने साभिल भन्छन्। बाइडेनले त युक्रेनलाई दिइने सहायता त्यहाँसम्म पुग्छ भन्ने सुनिश्चित गरेका छन्। तर युक्रेनको समस्या हतियारको आपूर्ति मात्र नभएर युद्धमा मारिएका सैनिकको स्थानमा नयाँ सिपाही भर्ना गर्नु पनि रहेको साभिलले बताए।

    रसियाले अर्को वर्षसम्म ट्याङ्क र हतियारको आपूर्ति बढाउनुपर्ने छ ताकि युद्धमा उसको सैन्य संसाधनको क्षतिपूर्ति हुन सकोस्। युरोपेली संघका २७ सदस्य राष्ट्रहरूले यस वर्षको अन्त्यसम्ममा युक्रेनलाई ३८ अर्ब डलर ऋण दिने निर्णय गरेका छन्, जसलाई रुसको कब्जामा लिएको पैसाबाट ब्याजसहित दिइनेछ।

    युक्रेनका लागि अमेरिकाको समर्थन आवश्यक छ तर युरोपियन युनियनलाई थप सहयोगका लागि मनाउनुपर्ने धारणा साभिल राख्छन्। उनले भने, ‘युरोपले रुसको तुलनामा रक्षा स्रोतमा धेरै खर्च गर्छ, तर यो पैसा कसरी खर्च हुन्छ भन्ने प्रश्न हो। दोस्रो, यदि कुनै कारणले अमेरिकी सहायता आउन छाड्यो भयो भने युक्रेनलाई युरोपको सहयोग जारी राख्नुपर्नेछ।’

    अमेरिकी भ्रमणपछि राष्ट्रपति जेलेन्स्कीले नेटो प्रमुखसँग पनि भेट गरेका थिए र ब्रसेल्समा ईयू नेताहरूलाई आफ्नो विजय योजना उनले प्रस्तुत गरेका थिए।

    अमेरिका र युरोपले समान सहयोग गर्ने प्रतिबद्धता गरे पनि युरोपले आफ्नो बाचाअनुसार पर्याप्त सहयोग गर्न नसकेको साभिलले बताए। युरोपमा यस विषयमा राजनीतिक इच्छाशक्तिको कमी छ भनेर मानिसहरूले यो प्रश्न पनि उठाइरहेको उनको भनाइ छ। त्यसोभए अब हाम्रो मुख्य प्रश्नमा फर्कौं– युक्रेन युद्धमा अमेरिकाको भावी राष्ट्रपतिले कस्तो प्रभाव पार्न सक्छ ?

    अमेरिकी राष्ट्रपतिका दुवै उम्मेदवार युद्ध अन्त्य होस् भन्ने चाहन्छन्। रुसी राष्ट्रपति पुटिनलाई उनको लक्ष्य हासिल गर्नबाट रोक्न कुन रणनीति अपनाउनेछन् भन्ने ठुलो प्रश्न हो। राष्ट्रपति जेलेन्स्कीले कमला ह्यारिस र डोनाल्ड ट्रम्पलाई आफ्नो विजय योजना प्रस्तुत गरिसकेका छन्। उनीहरूलाई सबैभन्दा बढी सहयोग गर्ने अमेरिकाले उनीहरूलाई यो युद्धमा कति सहयोग गर्छ भनेर अब केही दिनमै युक्रेनका जनताले थाहा पाउनेछन्। एजेन्सी