काठमाडौँ– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल रद्द भएको छ।
खराब मौसमका कारण खेल रद्द गरिएको हो। वर्षाका कारण प्रभावित बनेको खेल ढिला सुरु भएको थियो । जहाँ खेल रोकिनुअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाएर २६ रन बनाएको थियो।
डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपालका अनिल शाह १० रन बनाएर आउट भएका थिए। आसिफ शेख ९ रनमा नटआउट थिए।
लिग टु मा नेपालले वर्षाका कारण अंक बाँडेको यो दोस्रो पटक हो। यसअघि क्यानडा भ्रमणमा पनि नेपालले वर्षाकै कारण ओमानसँग अंक बाँडेको थियो।