नेपालमा ‘दाना’ चक्रवातको असर कति ? - Chaitanya News
  • 2026-05-04
  • 03:26:08
  • आइतबार,बैशाख २०, २०८३
  • नेपालमा ‘दाना’ चक्रवातको असर कति ?

    नेपालमा ‘दाना’ चक्रवातको असर कति ?

    काठमाडौँ– बङ्गालको खाडीमा विकसित भएको दाना चक्रवातको सामान्य असर नेपालमा पनि देखा परेको छ। कोशी प्रदेशका केही स्थानहरूमा वर्षा भएको छ भने कोशी, मधेस, बागमती प्रदेशमा बादल लागेको छ।

    दाना चक्रपातको सबैभन्दा धेरै असर भारतको ओडिसा, पश्चिम बंगालमा पर्ने भएपनि नेपालबाट यसको दुरी धेरै रहेको कारण यहाँ भने सामान्य असर देखिएको हो। आजदेखि नै नेपालमा यसको असर कमजोर हुँदै जाने जल तथा मौसम विभागका मौसमविद गोविन्द झाले जानकारी दिए।

    झाले भने– ‘बङ्गालको खाडी आसपासको क्षेत्रमा न्यून चापीय प्रणाली बनेको थियो, त्यो चक्रपात बिस्तारै जमिनतर्फ प्रवेश गरिसकेको छ। समुन्द्रबाट बिस्तारै जमिनतर्फ प्रवेश गरेको चक्रवातको असर बिस्तारै कम हुँदै जान्छ। अहिले चक्रपात कमजोर अवस्थामा आइसकेको छ। आजदेखि नै यसको प्रभाव कमजोर हुँदै जान्छ।

    नेपालमा दाना चक्रवातको सामान्य असर परिसकेको बताउँदै उनले विभिन्न स्थानमा बदली भइरहेको बताए। कोशी प्रदेशका केही स्थानमा वर्षा भए पनि दाना चक्रपात नेपालभन्दा अलि पर भएकोले त्यसको आंशिक प्रभाव मात्र रहेको झाले बताए।

    उनले भने– ‘कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशमा बादल लागिरहेको छ। चक्रवातको असर घट्दै गइरहेको छ। अब धेरै असर पर्ने अवस्था छैन। आज बदली भए पनि भोलीबाट यसको प्रभाव घट्दै छ।

    मनसुन सकिए पनि अब नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण कतै कतै पानी पर्ने अवस्था अझै पनि रहने मौसमविद् झाले बताए। जाडो मौसममा बिस्तारै पश्चिमी वायुको प्रभाव पर्दै जाने उनले बताए।

    यस्तो छ भोली र पर्सिको मौसमको अवस्था

    जल तथा मौसम विभागका अनुसार भोली शनिवार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली हुनेछ भने कतै सफा रहने छ। पहाडी भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

    यस्तै आइतबार पनि कोशी प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदली देखि कतै मौसम सफा रहने छ। देशका पहाडी भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।