काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौँ गुर्खाजले नेदरल्याण्ड्सका ब्याटर माइकल लेभिटलाई अनुबन्ध गरेको छ।
काठमाडौँले बुधबार सामाजिक सञ्जालमार्फत लेभिटलाई अनुबन्ध गरेको जनाएको छ।
लेभिटले अब मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुने पहिलो संस्करणको एनपीएल गुर्खाजबाट खेल्नेछन्।
काठमाडौँले लेभिटलाई पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो। लेभिट एनपीएलका लागि अनुबन्ध हुने दोस्रो डच खेलाडी हुन्। यसअघि पोखरा एभेन्जर्सले अलराउण्डर बास डे लिडलाई अनुबन्ध गरिसकेको छ।
२१ वर्षीय युवा ब्याटर लेभिटले नेदरल्याण्ड्सका लागि ८ ओडिआई र १७ टी–२०आई खेल खेलिसकेका छन् । टी–२०आईमा उनले एक शतक र ४ अर्धशतक प्रहार गरेका छन्। जसमा उनको उच्च स्कोर १३५ रन हो। उनी पार्ट टाइम बलिङ पनि गर्छन्।
लेभिटले गत फेब्रुअरीमा कीर्तिपुरमा नेपालविरुद्ध खेल्दै टी–२०आईमा बेब्यु गरेका थिए। उनलाई कीर्तिपुर मैदान खेलेको अनुभव समेत छ।
काठमाडौं गुर्खाजमा अनुबन्ध हुँदा लेभिटले खुशी व्यक्त गर्दै एनपीएफ खेल्न उत्साहित रहेको बताएका छन्। करण केसी मार्की प्लेअर रहेको काठमाडौँको मुख्य प्रशिक्षकमा बसन्त शाही छन्।