काभा यु–२०: पुरुष भलिबलको उपविजेता नेपाली टोली स्वदेश फर्कियो - Chaitanya News
  • 2026-06-07
  • 01:15:38
  • शनिबार,जेठ २३, २०८३
  • काभा यु–२०: पुरुष भलिबलको उपविजेता नेपाली टोली स्वदेश फर्कियो

    काभा यु–२०: पुरुष भलिबलको उपविजेता नेपाली टोली स्वदेश फर्कियो

    काठमाडौँ– श्रीलंकाको कोलोम्बोमा भएको काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ ।

    टोलीलाई नेपाल भलिबल संघका पदाधिकारीले आइतबार त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

    नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले नेपाली टोलीलाई स्वागत गर्दै टीका र जमरा लगाइ दिएका थिए । यस्तै संघका पदाधिकारीले खेलाडीहरूलाई दशैँको टीका समेत लगाइदिए ।

    पहिलो पटक भएको काभा यु२० पुरुष भलिबलमा नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो ।

    श्रीलंकाको कोलम्बोमा शनिबार भएको फाइनलमा नेपाल उज्बेकिस्तानसँग ३(१ को सेटमा पराजित हुँदै उपविजेता बनेको थियो ।

    फाइनलमा नेपालले पहिलो सेट जितेर अग्रता बनाए पनि त्यसलाई कायम राख्न नसक्दा उज्बेकिस्तानले पुनरागमन गर्दै लगातार तीन सेट जित्यो ।

    नेपालले पहिलो सेट टाइब्रेकमा २७–२५ ले आफ्नो पक्षमा पारेको थियो । तर त्यसपछि भने उज्वेकिस्तान खेफमा हाबी बन्यो र २५–१०, २५–१६, २५–२० ले लगातार तीन सेट आफ्नो पक्षमा पार्दै खेल जित्यो ।

    ६ टोली सहभागी प्रतियोगितामा उज्वेकिस्तान अपराजित रहेर च्याम्पियन बन्यो । लिग चरणमा उज्वेकिस्तान पहिलो र नेपाल दोस्रो हुँदै फाइनल पुगेको थियो ।

    लिग चरणमा पनि नेपाल उज्बेकिस्तानसँग पराजित रहेको थियो ।

    तेस्रो स्थानका लागि भएको खेलमा तुर्कमिनिस्तानले किर्गिस्तानलाई पाँच सेटमा पराजित गर्‍यो । तुर्कमिनिस्तानले रोमाञ्चक खेलमा किर्गिस्तानलाई २३–२५, २३–२५, २५–२०, २५–२३, १५–१३ ले हरायो ।

    आयोजक श्रीलंका पाँचौँ भयो । प्रतियोगितामा आयोजक श्रीलंकासँगै नेपाल, उज्वेकिस्तान, तुर्कमिनिस्तान, किर्गिस्तान र मालदिभ्सको सहभागिता थियो ।