सबैलाई एकताको सूत्रमा बाँध्ने विशिष्ट पर्व दसैं - Chaitanya News
  • 2026-05-25
  • 10:34:27
  • सोमबार,जेठ ११, २०८३
  • सबैलाई एकताको सूत्रमा बाँध्ने विशिष्ट पर्व दसैं

    सबैलाई एकताको सूत्रमा बाँध्ने विशिष्ट पर्व दसैं

    नेपाली आँगनमा दसैंको चहलपहल सुरु भइसकेको छ । संसारमा जहाँ–जहाँ नेपाली छन्, त्यहाँ(त्यहाँ दसैंको तयारी छँदै छ । दसैं पहिले धार्मिक पर्वको रूपमा मनाइन्थ्यो भने अहिले विशुद्ध सांस्कृतिक चाडको रूपमा मनाउन थालिएको छ । पहिले यो चाड विशुद्ध हिन्दूको मात्र पर्व थियो भने अब यो पर्वलाई खासगरी बहुधार्मिक नेपाली मात्रको सांस्कृतिक पर्वको रूपमा मनाउन थालिएको छ । हिन्दू धर्मावलम्बीको सबैभन्दा महान् चाड दसैं हो भन्नेमा दुईमत छैन । लोक कथाअनुसार त्रेतायुगमा रामले आफ्नी श्रीमती सीतालाई रावणले हरण गरेपछि लंकामा लडाइँ गरी रावणलाई समाप्त पारेर हरण भएकी श्रीमती फेरि आफूले ल्याउन सफल भएकाले अर्थात् विजय प्राप्त गरेकाले अयोध्यावासीले यो विजयलाई उल्लासका साथ मनाएका थिए । त्यसबेलादेखि विजयादशमी मनाउने चलन सुरु भएको किंवदन्ती छ । हिन्दूहरूले मनाउने अधिकांश पर्वहरू ऐतिहासिक घटनाहरूसँग जोडिएका छन् ।

    शरद ऋतुको समय । पानीको निरन्तरको तीनचार महिने वर्षा लगभग सकिएको छ । हिलोमैलो हटेर गएको छ । आकाशमा बादलहरूको राज्य समाप्त भएको छ । वरपर बोटबिरुवाहरू पनि हरियालीले पूर्ण छन् । खेतबारीमा लगाइएका खेतीपातीका कारण खेतका गरा र फाँटहरू भरिभराऊ देखिन्छन् । घरआँगनमा रोपिएका फुलहरु पनि बिस्तारै फुल्ने र मस्तीले झुल्ने तयारी गरिरहेका छन् ।

    यहीबेला घरगाउँ र सहरमा दसैँ र तिहार जस्ता पर्वहरूको चर्चा सुरु भएको छ । मानिसहरू टाढाटाढाबाट घरपरिवार सम्झिएर फर्कने क्रम बिस्तारै आरम्भ भएको छ । कार्यालयका कर्मचारी, उद्योग र कलकारखानाका मजदुर, विद्यालयका शिक्षक विद्यार्थी सबैसबै दसैँतिहारको लामो बिदा लिएका छन् । दसैँ मनाउने योजनाका साथ आवश्यक खर्चको व्यवस्थापनमा आम नेपालीहरू यतिखेर जुटिरहेका छन् ।

    यसरी सम्पूर्ण नेपाली दसैँको तयारीमा जुटेका छन् । दसैँ यसैले सबै नेपालीको विशेष पर्व बनेको छ । सबैलाई एकताको सूत्रमा बाँध्ने यो विशिष्ट पर्वका वास्तविक मूल्यहरू केके हुन सक्लान् रु आउनुस्, एकछिन चिन्तन गरौँ ।

    दसैँका अनेक मूल्यहरूबारे चर्चा गरिएको पाइन्छ । सबैभन्दा पहिलो मूल्य यसको पौराणिक एवम् धार्मिक मूल्य हो । हिन्दु दर्शनमा विभिन्न कल्पहरूको चर्चा पाइन्छ । कल्प भनेको समयको एउटा निश्चित कालखण्ड हो । सृष्टि सिर्जनाका अनेक युगहरू बितेर गएका छन् । दसैँको मूल कथा जोडिएको सन्दर्भ देवी दुर्गाको सन्दर्भ हो । तामस कल्पको सन्दर्भलाई देवी भागवत्मा चर्चा गरिएको छ ।

    सत्त्व, रज र तम गरी तीन गुण रहेका छन् । सत्त्व गुण प्रेम, करुणा, पवित्रता, नियमितता, मर्यादा र पुण्यमा आधारित हुन्छ । रजो गुण राजसी मूल्यसँग नजिक हुन्छ भने तमो गुण हिंसा, अन्धकार अशिक्षासँग सम्बन्धित गुण हो । देवी दुर्गासँगको सन्दर्भ त्यस्तै एउटा अशिक्षा, अन्धकार र अन्यायले भरिएको युगको कथा हो । त्यस समयमा शुम्भनिशुम्भ र महिषाषुरको एकछत्र राज्य कायम भएको थियो । उनीहरूको राज्यमा सर्वत्र अँध्यारो थियो । सोझा साझा र सरल प्राणीमाथि भएको अन्याय बढेर चुलीमा पुगेको थियो । दुराचार र पापाचारले सीमा नाघेको थियो ।
    भगवान् श्रीकृष्णले गीतामा भन्नुभएको छ — ‘ यदायदा हि धर्मस्य ग्लानिर्भवति भारत । धर्म संस्थापनार्थाय सम्भवामि युगेयुगे ।’ अर्थात् ‘जबजब धरतीमा धर्म भन्ने कुनै कुरा बाँकी रहँदैन, सबैतिर कर्तव्य, मर्यादा र धार्मिक मूल्यहरू क्षय हुने क्रम बढेर जान्छ, त्यतिखेर धर्मको उद्धार गर्न र त्यसलाई पुनस्र्थापना गर्न समय समयमा मैले अवतार ग्रहण गर्दछु ।’

    यही ईश्वरीय दर्शन र सिद्धान्तमा आधारित भएर तामस कल्पमा शुम्भनिशुम्भ र महिषाषुरको अत्याचारले आकाश छोएपछि देवीले दुर्गाको रूप धारण गरी उनीहरूको बध गरी समस्त जगत्को कल्याण गरेकी थिईन् । आश्विन शुक्लपक्षको नवमी तिथिको रातलाई कालरात्री भनेर भनिन्छ । देवी दुर्गाले त्यो समयका सबैसबै राक्षसी प्रवृत्तिहरूमाथि विजयको त्यो अन्तिम रात्री थियो । भोलिपल्ट दशमी तिथिका दिन चराचर जगत्ले आपूmलाई राक्षसी कठोरताबाट मुक्त भएको अनुभव ग¥यो । शुम्भनिशुम्भको निरङ्कुश दमन र कुचक्रबाट स्वतन्त्र भएको महसुस प्राणी जगत्लाई भयो । मनिसभित्रको खुसी यस्तो गतिमा बाहिर आयो कि त्यसको कुनै सीमा रहेन । लामोसमय देखि मानिस दिल खालेर हाँस्न पाएका थिएनन्, रमाउन पाएका थिएनन् । शुम्भनिशुम्भ र महिषासुरको दुर्वृत्तिको कालो छायामुनि बाँच्न विवश जनता जनार्दन सबैले जीवनको नयाँ ताजगी महसुस गरे । हृदयदेखिको खुसी बोकेर आपूmलाई राक्षसी कठोरताबाट स्वतन्त्र तुल्याउने देवीको पूजा आराधना गरी निधारमा विजयको टिका धारण गर्ने परम्पराको आरम्भ त्यसैदिनदेखि सुरु भयो ।

    त्यो दिन अन्याय अत्याचार र उत्पीडनको अन्त्य भएको दिन थियो । राक्षसी प्रवृत्तिमाथि दैवी वृत्तिको विजय भएको दिन थियो । मानिसहरू वर्षौँदेखि दबेर बसेको खुसी परस्परमा बाँडीचुँडी गर्दै अन्त्य भक्ति र सेवाका साथ पूजा र उपासनामार्फत दैवी शक्तिप्रति कृतज्ञता प्रकट गर्ने क्रम त्यसदिनदेखि सुरु भएर दसैँका रूपमा आजसम्म कायम छ ।

    महिषासुर रम्भासुरको पुत्र थियो । असुरहरूलाई के ठीक, के बेठीक भन्ने कुनै कुराको हेक्का हुँदैन । उनीहरू अनियमितता र अमर्यादाका प्रतिरूप हुन् । रम्भासुरले भैँसीसँग सम्भोग गरेको थियो । भैँसीसँगको रम्भासुरको सहभोगपछि महिषासुरको जन्म भएको थियो । महिष भनेर भैँसीलाई भनिएको हो । भैँसीबाट जन्मिएको हुनाले रम्भासुर पुत्रको नाम महिषासुर रहन गएको हो । यौनवासनाले उन्मत्त भएर जन्मिएको हुनाले महिषासुरमा पनि काम वासनाको वेग अत्यन्त तीब्र थियो । महिषासुर यसैले कामको प्रतिबिम्व हो ।

    शुम्भ र निशुम्भ पनि क्रमशः काम र क्रोधका प्रतीक हुन् । काम र क्रोधले उन्मत्त भएका शुम्भ र निशुम्भले महादेवीमाथि कुदृष्टि राख्दै उनलाई हरण गरेर लैजाने प्रयास गर्दछन् । उनीहरूको यो धृष्टता समाप्त गर्न पनि देवीले अनेक रूप धारण गरी शुम्भ निशुम्भलगायत राक्षसहरूको वध गरेकी थिइन् ।

    हामीभित्र जबजब यौन इच्छा, लोभ, रिस, राग र क्रोधका भावहरू सलबलाउन थाल्दछन् र तिनले हाम्रो विवेकलाई उल्लु बनाउँछन्, त्यसपछि हाम्रो जीवनमा अस्तव्यस्तता सुरु हुन्छ । हाम्रो शारीरिक, मानसिक एवम् भौतिक सबै प्रकारका शक्तिहरू ह्रास भएर जान्छन् । हामी कमजोर हुन्छौँ । हाम्रो जीवनमा आदर्श समाप्त भएर जान्छ । हामी भित्रैदेखि अँध्यारो जीवन बाँच्न विवश हुन्छौँ । जुनदिन हामी यी काम, क्रोधजस्ता राक्षसी भावनाहरूमाथि विजयी बन्न सफल बन्दछौँ, त्यसदिन मात्र हाम्रो जीवनको ‘दसैँ’ आरम्भ हुन्छ, हाम्रो जीवनको दीपावली आरम्भ हुन्छ ।
    शुम्भनिशुम्भसँगको पौराणिक सन्दर्भको सङ्केत के हो भने हामीभित्रका दुर्वाभावनाहरूले हामीलाई अनियमित र मूल्यहीन जीवनतिर धकेल्छन् । हामीले भित्रको दैवी शक्तिलाई जागृत गरेर त्यसकै माध्यमले ती दुर्विचारहरूलाई जित्न सकेका बेलामा मात्र हाम्रो खुसी बाहिर आउँछ । काम, क्रोधमा बाँच्ने बानी भएको मान्छेमा आलस्यले डेरा जमाएको हुन्छ । त्यही आलस्यका कारण हामी कहिल्यै सम्पन्न बन्न सक्दैनौँ । यही आलस्यले हामीलाई सधैँ गरिब बनाइरहेको हुन्छ, सधैँ कङ्गाल बनाइरहेको हुन्छ ।

    काम यति निर्लज्ज हुन्छ कि यसको कल्पनासम्म गर्न सकिन्न । कामको दास बनेपछि मान्छे मान्छे रहन्न । मान्छेलाई पशु बनाउने सबैभन्दा ठूलो शत्रु यही काम हो, यही अत्यधिक यौन चाहना हो ।
    यौन विचलनको शिकार भएको कामी पुरुषले कोही पनि भन्दैन । हामीले आजभोलि पनि बाबुले छोरीको बलात्कार गरेको समाचार पढेका छौँ । ४, ५ वर्षका बालिकादेखि लिएर वृद्धाहरू पनि बलात्कारको शिकार भएका छन् । छोरोले आमा भन्ने बिर्सन्छ । दाजुले बहिनी भनेको छैन, भाइले दिदी भनेको छैन । कामको नसामा मान्छेले नाता बिर्सन्छ, सम्बन्ध बिर्सन्छ, समाज र स्वास्थ्य बिर्सन्छ । उसका लागि गर्न नहुने र भन्न नहुने भन्ने केही पनि हुँदैन ।

    देवीमाथि महिषासुर, शुम्भ र निशुम्भको पनि यस्तै कुदृष्टि परेको थियो । सबैकी बन्दनीय आमा समान देवीमाथि यौन वासनाको नसाले मात्तिएर उनीहरूले भोगको सपना देखेका थिए । तर देवीको शक्तिका अगाडि उनीहरूको केही चलेन ।

    देवी पवित्र स्त्रीको नाम हो । जो अनावश्यक कामवासनाबाट मुक्त छन्, त्यस्ता स्त्रीले मात्र वासनाका दासहरूलाई ठीक पार्न सक्दछन् । जो पवित्र छ, उसमा अद्भूत शक्ति हुन्छ । वासनाले एउटा व्यक्तिसँगै समाज र राष्ट्रको पनि इज्जत समाप्त भइरहेको हुन्छ । त्यति मात्र होइन, मानवीय मूल्य र मान्यता भन्ने कुरा नै समाप्त भएको हुन्छ । दसैँ हाम्रा सबैसबै मानवीय मूल्य र मान्यताको पुनप्र्राप्तिको पर्व पनि हो । हामी जो पवित्र हुन्छौँ, जतिबेला सबैसबै शुम्भ, निशम्भु, चण्डमुण्ड, प्रचण्ड, महिषासुर आदि काम, क्रोध र आसक्तिका अवशेषहरू हाम्रो अन्तस्करणबाट हटेर जान्छन्, त्यो दिन हामी भित्रैदेखि सम्मानित र आनन्दित हुन्छौँ र त्यही दिन हाम्रा लागि दसैँ बनेर देखा पर्दछ ।

    दसैँका अनेक मूल्यहरू छन् । राम र रावणबीचको युद्धमा रावणमाथि राम विजयी हुनुभएको सन्दर्भ पनि विजयादशमीको एउटा अर्को सन्दर्भ हो । वासनामाथि विजयको दिन हामी वास्तवमा खुसी हुन्छौँ भन्नु राम र रावणको सन्दर्भले बताउँछ । रावण ठूलो विद्वान् हो । उसले नजानेको केही थिएन । भौतिक विकासमा अयोध्याभन्दा पनि सुन्दर थियो लङ्कापुरी । तर रावणका सबैसबै राम्रा गुणहरूलाई एउटा वासनाको अवगुणले छोपिदियो ।

    रावणको सबैभन्दा ठूलो कमजोरी नै सीताको रूप र लावण्यमाथि आँखा लगाउनु थियो । उसले सीतालाई हरण गरेर लगे पनि उनलाई भोग भने गरेको थियो । सीतासँग रावणको सहवास भएको थिएन । उसले सीताजीलाई एउटा वृक्षमुनि लगेर राखेको थियो । उसले बेलाबेलामा सीतासँग आपूmलाई पति स्वीकार्न अनुरोध पनि गरेको थियो तर सीतालाई उसले उनको अनुमतिबिना केही गरेन तर पनि रावण मारियो । किन यस्तो ?

    सत्य युगमा त्यति गर्नु पनि ठूलो अपराध थियो । सत्य युगमा सङ्कल्पले पनि भोगबराबरको काम गर्दथ्यो । सबै कुरा त्यतिखेर कल्पनाले नै पूरा हुने गर्दथे । त्यसैले, त्यो समयमा सीतालाई उसले आफ्नी पत्नीका रूपमा कल्पना गर्नु पनि ठूलो अपराध थियो । उसले त्यसकै परिणाम स्वरूप रामको हातबाट मर्नुपर्ने अवस्था आयो ।

    समाज बिग्रने, व्यक्ति विग्रने, देश विग्रने हामीभित्रका यस्तै यस्तै नराम्रा नराम्रा बानी र आचरणहरूले गर्दा हो । त्यसैले, आफ्ना आचरणहरूमाथि नियन्त्रण गरेका अवस्थामा मात्र हामी खुसी हुन सक्दछौँ । हामीले हाम्रा रावणवृत्तिहरूमाथि रामवृत्तिका माध्यमले विजय पाएको दिन नै हाम्रो जीवनको पनि दसैँ हो ।

    दसैँ त हाम्रो सामाजिक पर्व पनि बनिसकेको छ । वर्षदिनभरिका तनावहरूलाई कुनामा थन्क्याएर दसपन्ध्रदिन रमाइलो गर्ने मौका बनेको छ, हामी नेपालीहरूका लागि दसैँ । जीवनमा दुःख र पीडाहरू त आइ नै रहन्छन् । हाम्रा हरेक दिनहरू सङ्घर्षपूर्ण छन् । दिनरातको दौडधुपबाट हामी अत्यन्त थाकेका हुन्छौँ । आखिर हामीले यसरी रातदिन दौदधुप गरेर कमाएको मरेपछि लिएर जानका लागि पनि त होइन । हाम्रो कमाइको केही अंश अन्तस्करणदेखि नै खुसी भएर परस्परमा खुसीँ बाँड्दै रमाउनका लागि पनि हो । यसैले, दसैँ हाम्रो लागि विश्राम र मनोरञ्जनको पर्व पनि हो ।

    दसैँ टुक्रिएकाहरूलाई जोड्ने पर्व पनि हो । पश्चिमा परिवार टुक्राटुक्रा भएको छ । परिवारका सबै सदस्यहरू एकै ठाउँमा बसेर मिठोमसिनो खाने चलन उनीहरूले कहाँ पाउनु रु हामी हिन्दुहरू अथवा नेपालीहरू भनौँ, सँगैँ सधैँ छौँ । कामको सिलसिलामा परिवार छोडेर टाढाटाढा जानुपर्दा हामीलाई नरमाइलो लाग्दछ । परिवारसँगको साथ र न्यानोबाट विमुख भइरहेका हामीलाई यही दसैँले जोडिदिन्छ, एकै ठाउँमा बसेर खुसी साटासाट गर्ने अवसर प्रदान गरिदिन्छ ।
    हामीले परिवारको जुन पवित्र आदर्श पाएका छौँ, यो विश्वकै सुन्दर आदर्श हो । परिवार भनेको प्रत्येक व्यक्तिको ऊर्जा हो, शक्ति हो । दसैँले हामीलाई टाढाटाढाबाट एकै ठाउँमा ल्याइदिएर कमजोर भएको पारिवारिक शक्तिलाई बलियो बनाउन ठूलो बल पु¥याएको छ ।
    अवश्य पनि दसैँको मूल हिन्दु धर्म र दर्शन हो तर यो आज सबैको पर्व बनेको छ, नेपालमा । सबैले यसलाई आफ्नो पर्वका रूपमा स्वीकारेका छन् । हामीकहाँ धार्मिक सहिष्णुता छ । हरेक हिन्दुले ईद र क्रिममसलाई पनि आफ्नै पर्व मानेर स्वकारेको छ । दसैँ पनि हामी सबै नेपालीको पवित्र पर्व हो । यसले जुन, महत्त्व, मूल्य र सन्देश बोकेको छ, त्यसको जति व्याख्या गरे पनि थोरै हुन्छ ।

    हामी नेपालीहरू यस्तो संस्कृतिका अभ्यासी हौँ, जुन संस्कृति विश्वमा कतै खोजेर पाइँदैन । हामी जीवनका दुःखदभन्दा सुखद पक्षको खोजी गर्ने मानिस हौँ । दैनिक जीवनका अनेक अप्ठ्याराहरूलाई आँखा चिम्लन सक्नुपर्दछ र बेलाबेलामा सबै मिलेर पवित्र उद्देश्य लिएर उत्सव मनाउनुपर्छ भन्नु हिन्दु मूल दर्शन हो । यसै भएर हामीकहाँ महिनामहिनामा पर्वहरू छन् । सबै पर्वहरूले सारमा भन्न खोजेका छन् —दुःखलाई बिर्सने, प्रसन्नताका साथ जीवन बाँच्ने, रमाउने खुसी हुने तर ईश्वरलाई कहिल्यै पनि नबिर्सने । हामी सबै चाडवर्पहरूमा रमाउँछौँ तर भगवान्लाई याद गर्दछौँ । किन रु यसको अर्थ हो यदि पवित्र ईश्वरलाइ साक्षी राखेर रमाउँदा, खुसी हुँदा नराम्रो हुने सम्भावना हुँदैन । ईश्वर हाम्रा सबैसबै खुसी, आनन्द र प्रसन्नताका एक मात्र आधार हुन् ।

    दसैँ जस्तै दीपावली पनि हाम्रो अर्को विशिष्ट पर्व हो । दीपावलीको पौराणिक मूल्यले के भन्छ, त्यसको पनि आफ्नै मूल्य होला, तर दीपालीको सार अँध्यारोमाथि उज्यालोको विजय । जीवनमा ज्ञानको ज्योति नबाली भित्रको अज्ञानरूपी अँध्यारो कसै गरे पनि हटाउन सकिँदैन । उज्यालोमा नै हामी ठीकबेठीकको पहिचान गर्न सक्दछौँ । हो, जीवनमा औँसीजस्ता अँध्यारा रातहरू छन्, तर जब बत्ती बल्दछन्, तब बत्तीसँगै रातको सौन्दर्य पनि दोब्बर भएर जान्छ । ज्ञानले नराम्रोलाई पनि राम्रो बनाउँछ । त्यसैले, घरआँगन, मन, मस्तिष्क बसै स्वच्छ, पवित्र र निर्मल बनाउँदा मात्रै हामी प्रसन्न हुन सक्दछौँ । दीपावलीको अर्थ पनि सारमा यही हो ।