सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा नेकपा एमालेले एउटा पनि सिट जित्न सकेन।
सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा १–१ र प्रदेशसभा क्षेत्रतर्फ २र२ सिट जितेर समान शक्ति बन्दा एमाले भने यो जिल्लामा शून्यमा झरेको छ।
प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा माओवादीका माधव सापकोटा र क्षेत्र नम्बर २ मा कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन्।
सापकोटाले एमालेका सरेश नेपाललाई पराजित गरेका हुन्। सापकोटाले ३० हजार ३७४ मत पाउँदा नेपालले २७ हजार १८ मत ल्याए। २०७४ को चुनावमा नेपाल प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
बस्नेतले एमालेकै शेरबहादुर तामाङलाई पराजित गरेका हुन्। बस्नेतले ३९ हजार ३६७ मत ल्याउँदा तामाङले २७ हजार ४९३ मत ल्याए। सत्तारुढ गठबन्धनले गरेको चुनावी तालमेलका कारण यसअघि क्षेत्र नम्बर १ बाट चुनाव लड्ने गरेका बस्नेत यसपटक क्षेत्र नम्बर २ मा आइपुगेका थिए। कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका बस्नेत पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्रि हुन् भने तामाङ नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व कानुन मन्त्री हुन्।
प्रदेशसभा तर्फ १ (१) र २ (२) मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने प्रदेशसभा तर्फ १ (२) र २ (१) मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
कांग्रेसकी मसिना खड्काले प्रदेशसभा १ (१) मा १४ हजार ६५२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका युद्धविक्रम तामाङले १३ हजार ४९० मत ल्याए। निर्वाचित खड्का सिन्धुपाल्चोक जिल्लाको प्रदेशसभा प्रत्यक्षमा सहभागी पहिलो महिला हुन्।
यो जिल्लामा मुख्य दलले पहिलो पट्क प्रत्यक्षमा महिलालाई टिकट दिएको हो। सामाजिक सेवा र व्यवसायमा अब्बल उनी यो पट्क मुख्य दल कांग्रेसले टिकट दिएपछि राजनीतिमा आएकी थिइन्।
प्रदेशसभा १ (२) मा माओवादी केन्द्रका सरल सहयात्री पौडेलले १७ हजार २५६ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका होमनारायण श्रेष्ठले १३ हजार १३ मत ल्याए। निर्वाचित सहयात्री माओवादी केन्द्र बागमती प्रदेका अध्यक्ष हुन् भने पराजय भएका श्रेष्ठ गाउँपालिका महासंघ र जुगल गाउँपालिकाका पूर्वअध्यक्ष समेत हुन्।
प्रदेशसभा २ (१) मा माओवादी केन्द्रका युवराज दुलालले २० हजार ९०६ मत ल्याउँदा एमालेका अमानसिंह तामाङ १२ हजार १३९ मत ल्याए। उनीहरुबीचको मतान्तर ८ हजार ७ सय ६७ छ। उनी दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका हुन्।
दुलाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं बागमती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री हुन्। पराजित भएका तामाङ चौतारा साँगाचोकगढी नगरपालिकाको पूर्व मेयर हुन्।
प्रदेशसभा २ (२) मा कांग्रेसका कृष्णकुमार तामाङले १७ हजार ७५८ मत ल्याएर विजयी हुँदा एमालेका हस्तबहादुर पण्डितले १६ हजार २५३ मत ल्याए।