भारतीय कप्तान जिनी कोभातले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने - Chaitanya News
  • 2026-06-07
  • 02:36:51
  • शनिबार,जेठ २३, २०८३
  • भारतीय कप्तान जिनी कोभातले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने

    भारतीय कप्तान जिनी कोभातले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने

    काठमाडौं– भारतीय महिला भलिबल टिमकी कप्तान तथा सेटर जिनी कोभात साजीले मधेश युनाइटेडबाट पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभीएल) खेल्ने भएकी छन्।

    मधेशले मंगलबार आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा जिनीलाई अनुबन्ध गरेको हो। विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोली मधेशले ईडब्लुभीएका लागि ३ विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोलीसमेत बनेको छ।

    मधेशले यसअघि नै काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई अनुबन्ध गरिसकेको छ। २८ वर्षीय भारतीय सेटर जिनीलाई अनुबन्ध गरेपछि मधेशको विदेशी कोटाको खेलाडी अनुबन्ध पूरा भएको छ।

    ‘अनुभवी सेटर जिनीलाई मधेश युनाईटेड टिममा अनुबन्ध गर्न पाउँदा हामी एकदमै खुशी छौँ। जिनीको आगमनले मधेश युनाइटेडको टिम अझ राम्रो र मजबुत हुने विश्वास छ’, मधेश युनाइटेडले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘तीन पोजिसनमा विदेशी खेलाडी अनुबन्ध गरेपछि मधेश युनाइटेडको टिम सन्तुलित बनेको छ।

    जिनीको कप्तानीमा भारतले केही समयअघि काठमाडौंमै भएको काभा महिला भलिबल नेसन्स लिगको उपाधि जितेको थियो। जिनीसँग भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन्।

    जिनीले यसअघि नेपालमा आएर विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत खेलिसकेकोले उनको अनुभवले टिमलाई फाइदा पुग्ने मधेश टिमको विश्वास छ। जिनीले मधेश युनाईटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेश युनाईटेडबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन्।

    ‘मैले यसअघि नेपाल आएर चार पटक खेलिसकेको छु। यसपटक एभरेष्ट वुमन्स भलिबल लिग मधेश युनाईटेडबाट खेल्न आउँदैछु। म लिगलाई लिएर एकदमै उत्साहित छु। सबैलाई नेपालमै भेट्नेछु’, उनले भनिन्।

    मधेश युनाइटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले जिनीलाई मधेश टिममा स्वागत गर्दै तीन विदेशी खेलाडी घोषणा पछि टिम अझ बलियो हुने बताइन्। ‘पहिलो पटक आयोजना हुन लागेको महिला भलिबलको फ्रेन्चाइज लिगका लागि हामी निकै उत्साहित छौँ र विदेशी खेलाडीको नाम घोषणाले हाम्रो टिम भलिबल समर्थक र लिगलाई झन् उत्साहित बनाएको छ’, उनले भनिन्।