चितवनमा ७८ जनामा स्क्रबटाइफस - Chaitanya News
  • 2026-05-04
  • 05:42:51
  • आइतबार,बैशाख २०, २०८३
  • चितवनमा ७८ जनामा स्क्रबटाइफस

    चितवनमा ७८ जनामा स्क्रबटाइफस

    चितवन– जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका बिरामीमध्ये ७८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ। तीन सय छ जनाको परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको हो।

    जिल्लास्थित जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पटेलका अनुसार सङ्क्रमितमध्ये ३३ चितवनका र ४५ जना जिल्ला बाहिरका छन्। गत आर्थिक वर्षमा सात सय ६२ को परीक्षण गर्दा दुई सय ४८ जनामा स्क्रबटाइफस देखिएको थियो।

    “स्क्रबटाइफस सङ्क्रमण मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ स्क्रबटाइफस भएमा मानिसलाई उच्च ज्वरो आउनु, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउनु, सास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ”, जनस्वास्थ्य अधिकृत पटेलले भने।

    यसको सङ्क्रमणबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएका कपडा र उपयुक्त जुत्ता लगाउने, शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नुपर्ने पटेलले बताए। रासस