काठमाडौं– नेपालमा प्रत्यक्ष वैदेशिक लगानीबाट प्राप्त प्रतिफलले कुल प्रत्यक्ष वैदेशिक लगानी वृद्धि हुँदै गएको छ। तर, पछिल्ला वर्षहरूमा खुद प्रत्यक्ष वैदेशिक लगानीमा भने गिरावट आएको देखिएको छ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७९–८०’ सार्वजनिक गर्दै नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात करिब ३ खर्ब पुग्न लागेको उल्लेख गरेको छ। कुल वैदेशिक लगानीमध्ये चुक्ता पूँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ र कर्जाको अंश १३.५ प्रतिशत छ।
आर्थिक वर्ष (आव) २०७९–८० मा कुल प्रत्यक्ष वैदेशिक लगानी ११.८ प्रतिशतले वृद्धि भएर २ खर्ब ९५ अर्ब ५० करोड पुगेको केन्द्रीय बैंकको सर्वेक्षणमा उल्लेख छ। उक्त आव खुद प्रत्यक्ष वैदेशिक लगानी भने ६ अर्ब मात्रै आएको सर्वेक्षणमा उल्लेख छ।
उक्त वर्ष नेपालमात्र नभएर दक्षिण एसियामा नै खुद प्रत्यक्ष वैदेशिक लगानीमा भारित गिरावट देखिएको छ। सन् २०२३ मा विश्वमा १३ खर्ब ३१ अर्ब ८० करोड अमेरिकी डलर बराबर प्रत्यक्ष वैदेशिक लगानी भएको थियो्। जसमध्ये दक्षिण एसियामा ३६ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी आएको छ। जुन २०२२ को तुलनामा ३७.५ प्रतिशत कम हो। २०२२ मा ५७ अर्ब ५० करोड डलर प्रत्यक्ष वैदेशिक लगानी दक्षिण एसियामा आएको थियो।
कोभिडबीच २०२० मा ७१ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी दक्षिण एसियाली देशमा आएको थियो। २०२१ मा घटेर ५२ अर्ब ७० करोड डलरमा झरेको थियो।
नेपालमा पछिल्लो पाँच वर्षको खुद प्रत्यक्ष वैदेशिक लगानी तथ्यांक हेर्दा पनि पछिल्लो दुई वर्षयता घटेको देखिन्छ। गत आव करिब ८ अर्ब बराबर खुद प्रत्यक्ष वैदेशिक लगानी आएको तथ्यांक केन्द्रीय बैंकले सार्वजनिक गरिसकेको छ।
केन्द्रीय बैंकको २०७९–८० को सर्वेक्षण अनुसार ६ अर्ब खुद प्रत्यक्ष वैदेशिक लगानी आएको थियो । २०७८–७९ मा १८ अर्ब ६० करोड, २०७७–७८ मा १९ अर्ब ५० करोड, २०७६–७७ मा १९ अर्ब ५० करोड र २०७५–७६ मा १३ अर्ब १० करोड प्रत्यक्ष वैदेशिक लगानी आएको थियो।
स्वीकृतिको एक तिहाइ पनि आउँदैन प्रत्यक्ष वैदेशिक लगानी
केन्द्रीय बैंकले गरेको सर्वेक्षणले नेपालमा स्वीकृत भएकामध्ये ३५ प्रतिशत मात्रै प्रत्यक्ष वैदेशिक लगानी आउने गरेको देखिन्छ। सन् १९९५–९६ देखि २०२२–२३ सम्मको तथ्यांकले स्वीकृत भएको ३५ प्रतिशत मात्रै वास्तविक प्रत्यक्ष वैदेशिक लगानी प्राप्त हुने गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ।
स्वीकृत भएको प्रत्यक्ष वैदेशिक लगानीमा थोरै हिस्सा मात्रै आउनुमा आन्तरिक र वाह्य दुवै कारण हुन सक्ने राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा.गुणाकर भट्ट बताउँछन्।
‘नेपालमा लगानी गर्छौं भनेर आउनेलाई सरकारका निकायले स्वीकृत प्रदान गरे। तर, वास्तविक लगानी गर्न लगानीको वातावरण हेर्छन्,’ भट्ट भन्छन्, ‘लगानी स्वीकृत हुनासाथ आउने होइन। लगानी गर्नेले नेपालको अन्य वातावरण, राजनीतिक स्थायित्व, संरचनागत अवस्था र बजार समेत हेर्न हुन्छ।
लगानी गर्नेले आन्तरिक कारण मात्रै नभएर वाह्य कारण समेत लगानी स्वीकृत भए पनि पनि अन्यत्र जान सक्ने भट्ट बताउँछन्। लगानी स्वीकृत भए पनि अन्य देशले लगानीका लागि राम्रो नीति लिए भने त्यसले पनि प्रभावित हुन सक्ने भनदै स्वीकृत भएको लगानीमा सानो हिस्सा मात्रै आउनुको वास्तविक कारण भन्न नसकिने भट्ट बताउँछन्।
एक वर्षमा १७ अर्ब लाभांश
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी बापत २०२२–२३ मा १७ अर्ब ३३ करोड ४७ लाख लाभांश लैजान स्वीकृति दिइएको छ। २०२१–२२ मा १५ अर्ब ६७ करोड ५२ लाखको लाभांश स्वीकृत भएकोमा गत वर्ष बढेको हो। २०२०–२१ मा प्रत्यक्ष वैदेशिक लगानीको २६ अर्ब ७ करोड ६६ लाख लाभांशका रूपमा गएको थियो।
गत वर्ष सबैभन्दा धेरै लाभांश उत्पादन क्षेत्रको लगानीबाट स्वीकृत भएको छ। उक्त क्षेत्रमा ८ अर्ब ८४ करोड ७६ लाखको लाभांश लैजान स्वीकृत भएको हो। यस्तै बैंकिङ र बीमा क्षेत्रबाट ३ अर्ब ५० करोड, सूचना प्रविध क्षेत्रबाट ३ अर्ब ६७ करोड ३५ लाख लाभांश लैजाने स्वीकृति प्रदान भएको छ। अन्य क्षेत्रमा १ अर्ब १ करोड १५ लाख, जलविद्युत् क्षेत्रमा १३ करोड १ लाख लाभांंश लैजाने स्वीकृत भएको हो।
नेपालमा वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६०–६९ प्रतिशत देखिएको सर्वेक्षणमा उल्लेख छ। यस्तै इक्विटीको प्रतिफल करिब ११.६१ प्रतिशत रहेको पाइएको केन्द्रीय बैंकले उल्लेख गरेको छ।
प्रत्यक्ष वैदेशिक लगानीमा एक तिहाइ बढी हिस्सा भारतको
२०८० असार मसान्तसम्म नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ। जसमध्ये एक तिहाइभन्दा धेरै हिस्सा भारतको छ। भारतबाट १ खर्ब ३ अर्ब ४५ करोड अर्थात् ३५ प्रतिशत हिस्सा छ। चीनको ३५ अर्ब ४६ करोड (१२ प्रतिशत), आयरल्यान्डबाट २२ अर्ब ६२ करोड (७.७ प्रतिशत), अस्ट्रेलियाबाट १९ अर्ब ६ करोड (६.४ प्रतिशत) र सिंगापुरबाट १८ अर्ब ८१ करोड (६.४ प्रतिशत) प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ।
प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा छ। औद्योगिक क्षेत्र अन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी छ। कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्र अन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा छ।
प्रदेशगत आधारमा नेपालमा रहेका प्रत्यक्ष वैदेशिक लगानीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५९.७ प्रतिशत छ। त्यसपछि गण्डकी १५.१, कोसी १४.७ र मधेशमा ८.८ प्रतिशत छ। लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको देखिन्छ।
आव २०७९–८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल २ सय ३८ कम्पनीको नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरण विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९–८०’ तयार पारिएको राष्ट्र बैंकले जनाएको छ।