काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ।
सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल नगर नेपालकै पहिलो स्वस्थ सहर र एसियाको दोस्रो स्वस्थ सहर बन्न सकेको छ। नगरले यो स्थान प्राप्त गरेसँगै पाँच हजार डलर पुरस्कार पनि प्राप्त गरेको छ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा सुभाजी गुडले मङ्गलबार नेपालको पहिलो स्वस्थ सहर र एसियाको दोस्रो स्वस्थ सहर भएको घोषणा गरे। एसियामा स्वस्थ सहरको पहिलो स्थान भारतको पुणे नगरले प्राप्त गरेको छ। त्यस्तै नेपालको धुलिखेल नगर ६५ दशमलव ४८ अङ्क प्राप्त गरी एसियाको दोस्रो स्थानमा रहेको हो।
एसियाको दोस्रो र नेपालको पहिलो स्वस्थ सहर घोषणा भएसँगै नगरले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले बताए।
सङ्गठनको मापदण्ड पूरा गरेर स्वास्थ्य क्षेत्रको नीतिगत सुधार, स्वास्थ्य क्षेत्रको दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब नागरिकको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोग अनि सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको प्राथमिक स्वास्थ्योपचारमा गरेको प्रगतिलाई आधार मानेर विश्व स्वास्थ्य संगठनले धुलिखेललाई स्वस्थ सहरको मान्यता दिलाएको हो।
नगरले अपाङ्गता क्षेत्र, स्वच्छ खानेपानी, वातावरणीय प्रभाव न्यूनीकरण खोप, सामुदायिक स्वास्थ्य तथा डिजिटल स्वास्थ्य अभिलेख तयार गरी काम गर्दै आएको थियो।
पर्यटकीय धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमै छ। धुलिखेलले सहस्राब्दी दिगो विकास लक्ष्य ९एसडिजी०अन्तर्गतका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी चार लक्ष्य पूरा गरेपछि स्वास्थ्य क्षेत्रमा फड्को मारेको हो। नगरले ती चार लक्ष्यको प्रतिवेदन गत अक्टोबर पहिलो साता थाइल्याण्डस्थित संयुक्त राष्ट्रसङ्घमा पेश गरेको थियो।
नगरले हाल १२ वडामा १५ स्वास्थ्य केन्द्र स्थापना गरिसकेको छ भने सबै नागरिकलाई स्वस्थ बनाई आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पुर्याउने कामसमेत गरिरहेको छ।
नागरिकको अवस्था के छ, के–कस्तो उपचार आवश्यक छ पत्ता लगाउन नगरले सर्वेक्षण गरेको हो। केन्द्रमा निःशुल्क उपलब्ध गराइने ६५ थरिका औषधि पर्याप्त बनाइएको छ। नगरले हाल ‘हाइपरटेन्सन, मधुमेह र मानसिक स्वास्थ्य’ कार्यक्रमलाई केन्द्र तथा निरन्तरका शिविरमार्फत प्राथमिकताका साथ अघि सारिएको छ।