विकास योजना परिचय
निश्चित विकासका क्रियाकलाप सञ्चालन गर्न साधन र स्रोतको कुशल रुपमा वितिरण गर्ने पूर्वनिर्धारित खाका नै विकास योजना हो । यसले विकास कार्यलाई व्यवस्थित बनाउँदछ ।निश्चित लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि महत्तम रुपमा साधन र स्रोतको वितरण गर्ने कार्यलाई योजना भनिन्छ । अर्को भाषामा मुलुकको समग्र विकासको लागि उपलब्ध स्रोत र साधनको परिचालन गरी निश्चित समयमा लक्षित उपलब्धिहरु हासिल गर्न गरिने व्यवस्थित प्रयासलाई योजना भनिन्छ । योजना निश्चित अबधिका लागि निर्माण गरिन्छ । यो मुलुकको आर्थिक तथा सामाजिक समृद्धिको सशक्त माध्यम हो । विश्वमा सर्वप्रथम योजनाबद्ध विकासको थालनी सन् १९२८ मा रुसबाट भएको हो । नेपालमा वि.सं २०१३ सालमा पहिलो पञ्चबर्षीय योजनामार्फत विकास योजनाको शुरुवात भएको हो ।
योजनाको प्रकार
तोकिएको लक्ष्य र उद्देश्य हासिल गर्न उपलब्ध स्रोत तथा साधनलाई विवेकशील रुपमा विनियोजित गर्ने कार्यलाई योजना भनिन्छ । योजनाका प्रकारहरु देहायबमोजिमका रहेका छन् ।
- अर्थव्यवस्थाका आधार
- पुँजीवादी योजना
- समाजवादी योजना
- मिश्रित योजना
- समयावधिका आधार
- अल्पकालीन योजना
- मध्यकालीन योजना
- दीर्घकालीन योजना
- उद्देश्यका आधार
- वित्तिय योजना
- भौतिक योजना
- विषयक्षेत्र र विस्तारका आधार
- राष्ट्रिय योजना
- क्षेत्रगत योजना
विकास योजनाको उद्देश्य
विकास योजनाको उद्देश्य देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- मुलुकमा राजनीतिक स्थीरता कायम गर्न
- राजनीतिक सचेतनाको विकास गर्न
- रोजगारीको सिर्जना गर्न
- बेरोजगारीको न्यूनिकरण गर्न
- उद्यमशीलताको विकास गर्न
- मुलुकमा आर्थिक स्थिरता र सामाजिक सुरक्षा कायम गर्न
- सामाजिक द्वन्द्व न्यूनिकरण गर्न
- पछाडि परेका वर्ग, क्षेत्र र जातको उत्थान गर्न
- सामाजिक एकता अभिबृद्धि गर्न
- कानूनको शासन स्थापना गर्न
- मानव संशासन विकास गर्न
- मुलुकको सन्तुलित विकास गर्न
- वातावरण संरक्षण गर्न
- फोहोरमैला व्यवस्थापन गर्न
- प्रदुषण नियन्त्रण गर्न
- वनजंगल संरक्षण गर्न
- मानव अधिकारको संरक्षण गर्न
- सुशासन कायम गर्न
योजना चक्र
योजनाको तर्जुमादेखि कार्यन्वयन सम्मका चरणहरुलाई योजनाका चक्र भनिन्छ । योजनाका चक्रहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
योजनाको आवश्यकता पहिचान गरी योजना निर्माण गर्ने कार्यलाई योजनाको तर्जुमा भनिन्छ । योजना तर्जुमालाई योजना चक्र अन्तर्गतको प्रथम चरणको रुपमा लिईन्छ।
योजना तर्जुमा गरेपश्चात् उक्त योजना आवश्यक स्रोत र साधन सहित लागु गराउने कार्यलाई योजना कार्यन्वयन भनिन्छ । योजना कार्यन्वयन योजना चक्र अन्तर्गतको दोस्रो चरण हो ।
योजना कार्यन्यवनको अवस्थाबारे बिस्तृत रुपमा जाँचबुझ गरी योजनाको प्रभावकारीता, सान्दर्भिकता, औचित्यता र कार्यदक्षता पहिचान गर्ने कार्यलाई अनुगमन र मूल्यांङ्कन भनिन्छ । अनुगमन र मूल्यांकन योजना चक्रको तेस्रो चरण हो ।
चालु योजनाको कार्यान्वयनको समग्र पक्षको अध्ययन गरी उक्त योजनाको कमीकमजोरीहरु पहिचान गर्ने र आगामी योजनामा सुधार गर्ने कार्य नै पृष्ठपोषण हो । पृष्ठपोषणलाई योजनाको अन्तिम चक्रको रुपमा लिईन्छ ।
योजना तर्जुमाका आधार
योजना तर्जुमाका आधारहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- राज्यका निर्देशक सिद्धान्त र नीतिहरू,
- सरकारले अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिबद्धता तथा सम्झौताहरू,
- सरकारले नागरिकसमक्ष गरेको घोषणा र प्रतिबद्धताहरू,
- घोषित राष्ट्रिय लक्ष्य तथा प्राथमिकताहरू,
- मुलुकको आर्थिक सामाजिक अवस्था
- जनचाहना र जनआवश्यकता
- विगतका योजनाबाट प्राप्त पृष्ठपोषण
- सत्तासीन राजनीतिक दलको घोषणापत्र
नेपाल सरकारको योजना तर्जुमा प्रकृया
योजनाको निर्माण गर्ने कार्य नै योजना तर्जुमा प्रकृया हो । यसका लागि निश्चित क्रियाकलापहरुको अनुसरण गरिन्छ । नेपालमा संघीया स्तरमा योजना तर्जुमा गर्दा देहाबमोजिम गरिने व्यवस्था रहेको छ ।
- अवधारणपत्रको तर्जुमाः यो योजना निर्माणको पहिलो चरण हो जसअन्तर्गत चालु आवधिक योजनाको मध्यतिर योजनाको मध्यावधि समीक्षा गरिन्छ र सोका आधारमा नयाँ आवधिक योजनाको अवधारणापत्रको तर्जुमा गरिन्छ ।
- आधारपत्रको प्रारम्भिक मस्यौदा तर्जुमाः अवधारणापत्रका आधारमा विषय क्षेत्रगत मन्त्रालय र निकायसँगको सहभागितामा आधारपत्रको प्रारम्भिक मस्यौदा तर्जुमा गरिन्छ।
- राय सुझाव सङ्कलनः आधारपत्रको प्रारम्भिक मस्यौदामा संघ, प्रदेश र स्थानीय तह तथा निजी, सहकारी, सामुदायिक सबै क्षेत्रका सरोकारवालाहरूसँग छलफल तथा अन्तक्रिया गरी राय सुझाव सङ्कलन गरिन्छ । आधारपत्रको मस्यौदा उपर वेभसाइट तथा इमेल लगायतका विद्युतीय माध्यम मार्फत् समेत सुझाव सङ्कलन गर्ने कार्य समेत गरिन्छ ।
- राष्ट्रिय विकास परिषदमा छलफल र निर्देशनः प्राप्त रायसुझाव समेटी तयार पारिएको आधारपत्रको मस्यौदा राष्ट्रिय विकास परिषदमा पेश गरिन्छ र राष्ट्रिय विकास परिषदबाट योजनालाई अन्तिम रुप दिने विषयमा निर्देशन प्राप्त गरिन्छ ।
- आधारपत्रको मन्त्रिपरिषदबाट स्वीकृति र प्रकाशनः राष्ट्रिय विकास परिषदबाट प्राप्त भएको सुझाव तथा निर्देशन समावेश गरी परिमार्जन गरिएको आधारपत्र मन्त्रिपरिषदबाट स्वीकृत गराईन्छ र स्वीकृत आधारपत्र राष्ट्रिय योजना आयोगले प्रकाशन गर्दछ ।
- मूल दस्तावेजनको मस्यौदा तयारी र प्रकाशन : राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट विस्तृत दस्तावेज स्वीकृति गरी प्रकाशन गर्दछ ।
योजना निर्माणसम्बन्धी समस्या
नेपालमा योजना निर्माण सम्बन्धमा रहेका समस्याहरु देहायबमोजिमका रहेका छन् ।
- स्पष्ट नीति तथा अबधारणाको अभाव
- राजनीतिक अस्थिरता
- आर्थिक स्रोत र साधनको कमी
- दातृसंस्थाको अनुचित दवाब
- सक्षम प्रशासन संयन्त्रको अभाव
- दक्ष कर्मचारीको अभाव
- सामाजिक चेतनाको कमी
- सुपरीवेक्षण, अनुगमन तथा मूल्यांङ्कनमा समस्या
- कार्यन्वयनमा समस्या
- जनसहभागीताको कमी
- प्रविधिको अभाव
समाधानका उपाय
उक्त समस्याहरु समाधान गर्न देहायबमोजिमका उपायहरुको अवलम्बन गरिनुपर्दछ ।
- स्पष्ट नीति तथा अवधारणाको प्रवन्ध गर्ने
- राजनीतिक स्थिरता कायम गर्ने
- आर्थिक स्रोत र साधनको व्यवस्था गर्ने
- दक्ष कर्मचारीको व्यवस्था गर्ने
- सुपरीवेक्षण, अनुगमन तथा मूल्यांकन प्रणालीलाई प्रभावकारी बनाउने
- योजना निर्माणमा जनसहभागीताको बृद्धि गर्ने
- सामाजिक चेतना अभिबृद्धि गर्ने
- बृहत अध्ययन र खोज गर्ने
नेपालमा योजनाबद्ध विकास
निश्चित अवधिमा निश्चित कार्य सञ्चालन गर्ने गरी स्रोत र साधनको परिचान गर्ने गरी निर्माण गरिने व्यवस्थित खाका नै योजना हो । योजनाले कुनै पनि क्रियाकलाप व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न मद्दत गर्दछ । नेपालमा योजनाबद्ध विकासक्रमलाई निम्न तरिकाले उल्लेख गर्न सकिन्छ ।
- वि.सं. २०१३ सालबाट योजनाबद्ध विकासको प्रयास सुरु भएको
- हालसम्म १४ वटा योजनाहरु कार्यन्वयन भईसकेका
- हाल १५ औं योजना कार्यन्वयनको रुपमा रहेको
- यी मध्ये ५ वटा त्रिवर्षिय र ९ वटा पञ्यबर्षीय योजनाहरु रहेका
- आ.व २०१८/०१९, आ.व २०४७/०४८ र आ.व २०४८/०४९ गरी ३ आर्थिक बर्षहरु योजनाविहीन रहेका
- पहिलो पञ्चबर्षीय योजना देखि पाँचौं पञ्चबर्षीय योजनासम्मका सबै आवधिक योजनाका प्रमुख उद्देश्य मुलुकमा पूर्वाधार विकास र आर्थिक वृद्धिमा केन्द्रित रहेको
- छैठौ र सातौं योजनाका मुख्य जोड आधारभूत आवश्यकता परिपूर्तिमा रहेको
- खर्चका हिसाबमा पहिलो देखि चौथो योजनासम्म खर्चको सबैभन्दा ठूलो हिस्सा यातायात विकासमा केन्द्रित रहेको
- पाँचौ, छैटौं र सातौं योजनामा कृषि, सिंचाइ र वन क्षेत्रको विकासमा सबैभन्दा बढी खर्च छट्याइएको
- आठौं योजनाले आर्थिक उदारीकरण र निजीकरणको नीति अवलम्बन गरी दिगो आर्थिक वृद्धि हाँसिल गर्ने, गरिबी घटाउने र क्षेत्रीय असन्तुलन घटाउने उद्देश्य राखेको
- नवौं योजनाले गरिबी निवारण गर्ने एक मात्र उद्देश्य राखेको
- दशौं योजनाले पनि गरिबी निवारण गर्ने एकल उद्देश्य नै राखेको थियो ।
- एघारौ योजना सक्रमणकाल व्यवस्थापन, दिगो शान्ति स्थापना र द्वन्द्वोत्तर पुनःनिर्माणमा केन्द्रित रहेर तर्जुमा गरिएको
- यस योजनाले बेरोजगारी, गरिबी र असमानता हटाउने उद्देश्य राखेको
- बाह्रौं योजनाले रोजगार केन्द्रित, समावेशी र समन्यायिक आर्थिक वृद्धिमार्फत् गरिबी निवारण र दिगो शान्ति स्थापनामा सघाउ पुयाउने उद्देश्य राखेको
- तेह्रौ योजनाले सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने दीर्घकालीन सोच राख्दै गरिबी घटाई जनताको जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्य लिएको थियो ।
- चौधौं योजनाले नेपाललाई मध्यम आय भएको मुलुकको स्तरमा लक्ष्य एवम उच्च आर्थिक वृद्धिमार्फत् गरिबी न्यूनीकरण र आर्थिक सामाजिक रूपान्तरण गर्ने उद्देश्य लिएको थियो ।
- वर्तमान समयमा नेपाल सरकारले वि.स. २१०० सम्ममा नेपाललाई समृद्ध मुलुकको स्तरमा पुर्याउने गरी दीर्घकालीन सोच २१०० तय गरेको र यस दीर्घकालीन सोचको आधारशिला तथा आधार योजनाका रूपमा पन्ध्रौ योजना तर्जुमा भई कार्यान्वयनमा आएको
- यसल योजनाले नेपाललाई, उच्च आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने आधार निर्माण गर्ने राष्ट्रिय लक्ष्य लिएको
- हाल मुलुकमा १६ औं योजना कार्यन्वयनमा रहेको
दीर्घकालीन सोच २१००
नेपाल सरकारले वि.सं २०७९ सम्ममा अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्र, वि.सं. २०८७ सम्ममा दिगो विकास लक्ष्य हाँसिल गर्दै उच्च मध्यम आयस्तर भएको राष्ट्र र वि.सं. २१०० सम्ममा समृद्ध राष्ट्रको रुपमा मुलुकलाई स्तरोन्नति गर्ने गरी समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन सोच सहितको पन्ध्रौ योजना तह गरको छ । दीर्घकालीन सोच अन्तर्गत समृद्धि र सुख प्राप्तिका दुई लक्ष्य निर्धारण गरिएको छ । र, यी लक्ष्यहरूलाई तीन चरणमा विभाजन गरिएको छ । जसलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ
- पहिलो चरण समृद्धि र सुखको आधार निर्माण गर्नु हुनेछ । जसका लागि आर्थिक, सामाजिक र भौतिक पूर्वाधार विकास मार्फत् उच्च आर्थिक वृद्धि हाँसिल गरिनेछ । चालु पन्ध्रौ योजना समृद्धि र सुखको आधारशिला तयार गर्ने पहिलो योजना हुनेछ ।
- दोस्रो चरणमा पन्ध्रौं योजनाले निर्माण गरेको बलियो आर्थिक जगमा समृद्धि र सुखका सूचकहरूमा तीब्र प्रगति हाँसिल गरिनेछ । यो चरण दश वर्षको हुनेछ जसमा पन्ध्रौं योजना पश्चात्का दुईवटा पञ्चवर्षीय योजनाहरू कार्यान्वयनमा आउनेछन् । यस अवधिमा नेपाल उच्च मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुनेछ ।
- तेस्रो चरण समृद्धि र सुखका सूचकहरूमा सन्तुलन सहितको दिगोपना हाँसिल गर्ने हुनेछ । यो चरण पनि दश वर्षको हुनेछ जसमा दुईवटा पञ्चवर्षीय योजना कार्यान्वयनमा आउनेछन् । यस अवधिभरिमा औसत दुई अङ्कको आर्थिक वृद्धि हाँसिल गरी अन्त्यमा आत्मनिर्भर, स्वतन्त्र र समृद्ध अर्थतन्त्रको निर्माण हुनेछ । र, उपलब्ध स्रोत साधनको अधिकतम् परिचालन एवम् समन्यायिक वितरणद्वारा आर्थिक असमानता न्यून भई समाजवादतर्फको बाटो सुदृढ हुनेछ ।
दीर्घकालीन सोच २१०० मा देहायअनुसारका राष्ट्रिय लक्ष्य, रणनीति, प्रमुख सम्बाहक, सहयोगी क्षेत्र र परिमाणात्मक लक्ष्यहरू तोकेको छ जसलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
दीर्घकालीन सोचः समृद्ध नेपाल, सुखी नेपाली
दीर्घकालीन राष्ट्रिय लक्ष्यः (१) समृद्धि
- सर्वसुलभ आधुनिक पूर्वाधार एवम् सघन अन्तरआबद्धता,
- मानव पूँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग,
- उच्च र दिगो उत्पादन तथा उत्पादकत्व
- उच्च तथा समतामूलक राष्ट्रिय आय मार्फत् समृद्धि हाँसिल गरिने
२) सुख
- परिष्कृत तथा मार्यादित जीवन,
- सुरक्षित, सभ्य र न्यायपूर्ण समाज,
- स्वस्थ र सन्तुलित पर्यावरण,
- सुशासन,
- सबल लोकतन्त्र,
- राष्ट्रिय एकता, सुरक्षा र सम्मानमार्फत् सुख हाँसिल गरिने
दीर्घकालीन राष्ट्रिय रणनीति
- तीब्र, दिगो र रोजगारमूलक आर्थिक वृद्धि गर्ने,
- सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुनिश्चित गर्ने,
- आन्तरिक तथा अन्तरदेशीय अन्तरआबद्धता एवम् दिगो शहर बस्ती विकास
- उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने,
- पूर्ण, दिगो र उत्पादनशील सामाजिक सुरक्षा तथा संरक्षण गर्ने,
- गरिबी निवारण र आर्थिक सामाजिक समानता सहितको न्यायपूर्ण समाज निर्माण
- प्राकृतिक स्रोतको संरक्षण र परिचालन तथा उत्थानशीलता विकास गर्ने, र
- सार्वजनिक सेवाको सुदृढीकरण, प्रादेशिक सन्तुलन र राष्ट्रिय एकता सम्बर्द्धन गर्ने,
दीर्घकालीन सोचको रूपान्तरणका प्रमुख संवाहक
- गुणस्तरीय एकीकृत यातायात प्रणाली तथा सूचना प्रविधि तथा सञ्चार पूर्वाधार र बृहत संजालीकरण
- गुणस्तरीय मानव पूँजी निर्माण तथा उद्यमशील कार्यसंस्कृति विकास,
- जलविद्युत उत्पादन र हरित अर्थतन्त्र,
- उत्पादन, उत्पादकत्व र प्रतिष्पर्धात्मक क्षमता वृद्धि,
- गुणस्तरीय पर्यटन सेवाको विकास र विस्तार,
- दिगो तथा व्यवस्थित शहरीकरण र बस्ती विकास,
- प्रादेशिक र स्थानीय अर्थतन्त्रको विकास तथा सुदृढीकरण,
- सामाजिक सुरक्षा र संरक्षणको प्रत्याभूति, र
- शासकीय सुधार र सुशासन अभिवृद्धि ।
संवाहक क्षेत्रको परिचालनका सहयोगी क्षेत्रहरू
- संविधान, लोकतन्त्र र विकासप्रतिको राजनीतिक प्रतिबद्धता,
- जनसङ्ख्यिकलाभ र नागरिक सचेतना,
- भौगोलिक अवस्थिति र प्राकृतिक विविधता तथा सम्पन्नता,
- सामाजिक सांस्कृतिक विविधता तथा मौलिक पहिचान,
- सामाजिक पूँजी र विश्वभर फैलिएका नेपाली समुदाय,
- स्वच्छ र नवीकरणीय ऊर्जा,
- मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायको सद्भाव, र
- सङ्घीय शासन प्रणाली र वित्तीय सङ्घीयता ।
प्रमुख परिणात्मक लक्ष्यहरु
दीर्घकालीन सोच २१०० का परिणात्मक लक्ष्यहरु देहायबमोजिमका रहेका छन् ।
| क्र.सं |
राष्ट्रिय सूचक |
आ.व २०७५/०७६ को स्थिति |
आ.व २१००/०१ को लक्ष्य |
| १ |
आर्थिक वृद्धिदर (औषत प्रतिशत) |
६.८ |
१०.५ |
| २ |
कूल ग्राहस्त उत्पादनमा योगदान |
|
|
| |
क) कृषि |
२७ |
९ |
| ख) उद्योग |
१५.२ |
३० |
| ग) सेवा |
५७.८ |
६१ |
| ३ |
प्रतिव्यक्ति राष्ट्रिय आय(अमेरिकी डलर) |
१,०४७ |
१२,१०० |
| ४ |
निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसंख्या ( प्रतिशत) |
१८.७ |
० |
| ५ |
बहुआयामिक गरिबीमा रहेको जनसंख्या(प्रतिशत) |
२८.६ |
३ |
| ६ |
१५ बर्ष माथिको श्रम शक्ति सहभागिता दर (प्रतिशत) |
३८.५ |
७२ |
| ७ |
रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा (प्रतिशत) |
३६.५ |
७० |
| ८ |
विद्युत उत्पादन(जडित क्षमता) मेघावट |
१,२५० |
४०,००० |
| ९ |
विद्युतमा पहुँच परिवार (प्रतिशत) |
८८ |
१०० |
| १० |
३० मिनेट सम्मको दुरीमा यातायात पहुँच भएको परिवार (प्रतिशत) |
८२ |
९९ |
| ११ |
अपेक्षित आयु (बर्ष) |
६९.७ |
८० |
| १२ |
मातृ मृत्युदर(प्रति लाख जीवित जन्ममा) (जना) |
२३९ |
२० |
| १३ |
पाँच बर्ष मुनिको बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा ) |
३९ |
८ |
| १४ |
साक्षरता दर (१५ बर्ष माथि) (प्रतिशत) |
५८ |
९९ |
| १५ |
माध्यमिक तह(९-१२) मा खूद भर्नादर(प्रतिशत) |
४६ |
९५ |
| १६ |
उच्च मध्यमस्तरको खानेपानी सुविधा पुगेको जनसंख्या |
२१ |
९५ |
| १७ |
आधारभूत सामाजिक सुरक्षामा आबद्ध जनसंख्या (प्रतिशत ) |
१७ |
१०० |
| १८ |
मानव विकास सूचकाङ्क |
०.५७९ |
०.७६० |
पन्ध्रौ योजना
दिगो विकास लक्ष्यलाई हासिल गर्ने एवं मुलुकलाई समृद्ध बनाउने अग्रगामी सोचका साथ पन्धौं योजनाले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन सोचको निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । यो योजना आन्तरिक तथा तथा अन्तरसरकारी वित्तको परिचालनद्वारा तीन तहको सरकारको कार्यमा सामञ्जस्य कायम गर्दै आर्थिक वृद्धि र नागरिक सुखको अनुभूतिको आधार निर्माण गर्नमा केन्द्रित रहेको छ । यसका लागि निजी, सहकारी र सामुदायिक क्षेत्रलाई एक अर्काको परिपूरकका रूपमा परिचालन गर्दै उत्पादकत्व, उद्यमशीलता, उत्पादनशील रोजगारी, सामाजिक संरक्षण तथा सुरक्षा र न्यायोचित वितरणको प्रवर्द्धनमा जोड दिइएको छ । यस योजनाका राष्ट्रिय लक्ष्य, प्रमुख परिमाणत्मक लक्ष्य राष्ट्रिय रणनीति निम्नानुसार रहेका छन्:
- राष्ट्रिय लक्ष्यः नेपाललाई उच्च आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने आधार निर्माण गर्ने
- प्रमुख परिणात्मक लक्ष्य :
| क्र.सं |
राष्ट्रिय सूचक |
२०७५/०७६ को
स्थिति |
२०८०/०८१ को स्थिति |
| १ |
आर्थिक बृद्धिदर (औषत प्रतिशत) |
६.८ |
१०.३ |
| २ |
प्रतिव्यक्ति राष्ट्रिय आय(अमेरिक डलर) |
१,०४७ |
१,५९५ |
| ३ |
निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसंख्या(प्रतिशत) |
१८.७ |
९.५ |
| ४ |
१५ बर्ष माथिको श्रम सहभागिता दर (प्रतिशत) |
३८.५ |
४९ |
| ५ |
रोजगारीको औपचारिक क्षेत्रको हिस्सा(प्रतिशत) |
३६.५ |
५० |
| ६ |
विद्युत उत्पादन (जडित क्षमता) मेगावट |
१,२५० |
५,८२० |
| ७ |
विद्युतमा पहुँच परिवार(प्रतिशत ) |
८८ |
१०० |
| ८ |
३० मिनेटसम्मको दुरीमा यातायात पहुँच भएको परिवार (प्रतिशत) |
८२ |
९५ |
| ९ |
अपेक्षित आयु |
६९.७ |
७२ |
| १० |
मातृ मृत्युदर(प्रति लाख जीवित जन्ममा)(जना) |
२३९ |
९९ |
| ११ |
पाँच बर्षमुनिको बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा ) |
३९ |
२४ |
| १२ |
साक्षरता दर (१५ बर्ष माथिका) (प्रतिशत) |
५८ |
९५ |
| १३ |
माध्यमिक तह(९-१२) मा खुद भर्नादर(प्रतिशत) |
४६ |
६५ |
| १४ |
उच्च मध्यम स्तरको खानेपानी सुविधा पुगेको जनसंख्या |
२१ |
४० |
| १५ |
आधारभूत सामाजिम सुरक्षामा आबद्ध जनसंख्या (प्रतिशत) |
१७ |
६० |
| १६ |
मानव विकास सूचकाङ्क |
०.५७९ |
०.६२४ |
राष्ट्रिय उद्देश्य
- सर्भसुलभ, गुणस्तरिय र आधुनिक पूर्वाधार निर्माण, उत्पादनशील र मर्यादित रोजगारी अभिबृद्धि, उच्च, दिगो र समावेशी आर्थिक बृद्धि तथा गरिबी निबारण गर्दै समृद्धिको आधार निर्माण गर्नु
- गुणस्तरीय स्वास्थ्य तथा शिक्षा, स्वस्थ तथा सन्तुलित वातावरण, सामाजिक न्याय र जवाफदेही सार्वजनिक सेवा कायम गरि संघीय शासन व्यवस्थाको सुदृढीकरण गर्दै नागरिकलाई परिष्कृत र मर्यादित जीवनयापनको अनुभूति गराउनु ।
- सामाजिक आर्थिक रूपान्तरण तथा स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण गरी देशको स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय हित संरक्षण गर्नु ।
राष्ट्रिय रणनीति
- तीव्र, दिगो र रोजगारमूलक आर्थिक वृद्धि गर्ने,
- सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुनिश्चितता गर्ने,
- आन्तरिक तथा अन्तरदेशीय अन्तरआबद्धता एवम् दिगो शहर बस्ती विकास गर्ने,
- उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने,
- पूर्ण, दिगो र उत्पादनशील सामाजिक सुरक्षा तथा संरक्षण प्रदान गर्ने,
- गरिबी निवारण र आर्थिक सामाजिक समानतासहितको न्यायपूर्ण समाज निर्माण गर्ने,
- प्राकृतिक स्रोतको संरक्षण र परिचालन तथा उत्थानशीलताको विकास गर्ने,
- सार्वजनिक सेवाको सुदृढीकरण, प्रादेशिक सन्तुलन र राष्ट्रिय एकता सम्बर्द्धन गर्ने ।
चालु सोह्रौ योजना संक्षिप्त परिचय
सोच : “सुशासन सामाजिक न्याय र समृद्धि”
उद्देश्य :
१) राजनीतिक, प्रशासनिक, न्यायिक, निजी तथा गैरसरकारी क्षेत्रमा सुशासन कायम गर्नु
२) स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहमा सामाजिक न्याय स्थापित गर्नु
३) मानवीय जीवन र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्नु
समष्टिगत रणनीति
- विकासका सबै क्षेत्र तथा आयाममा देखिएका संरचनागत अवरोधहरुको पहिचान, संबोधन र निराकरण गर्दै उत्पादन, उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि गर्ने
- संघ, प्रदेश र स्थानीय तीनै तह तथा सरकारी निजी, सहकारी र गैरसरकारी क्षेत्र एवं विकास साझेदार बीचको अन्तरसम्बन्ध र कार्यात्मक क्षमतालाई मजबुत तुल्याउँदै दिगो विकास योजना कार्यन्वयन गर्ने
- विकासका सबै क्षेत्र तथा आयाममा लैङ्गिक मूलप्रवाहीकरण, आधुनिक प्रविधिको प्रयोग, वातावरण संरक्षण र विपद् जोखिम न्यूनिकरणलाई आन्तरिकीकरण गर्ने
- अध्ययन, अनुसन्धान तथा तथ्य र प्रमाणमा आधारित नीति निर्माण एवम् विकासका कार्यक्रम कार्यान्वयन गर्ने
संरचनात्मक रुपान्तरणका क्षेत्र
समष्टिगत आर्थिक आधारहरुको सबलीकरण र उच्च आर्थिक बृद्धि
- उत्पादन, उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि
- उत्पादनशील रोजगारी, मर्यादित श्रम र दिगो सामाजिक सुरक्षा
- स्वस्थ, शिक्षित र सीपयुक्त मानव पुँजी निर्माण
- गुणस्तरिय भौतिक पूर्वाधार विकास एवम् सघन अन्तरआवद्धता
- योजनाबद्ध, दिगो र उत्थानशील शहरीकरण तथा बस्ती बिकास
- लैङ्गिक समानता, सामाजिक न्याय तथा समावेशी समाज
- प्रादेशिक तथा स्थानीय अर्थतन्त्रको सुदृढीकरण र सन्तुलित विकास
- गरिबी तथा असमानता न्यूनिकरण र समतामूलक समाज निर्माण
- प्रभावकारी वित्त व्यवस्थापन तथा पुँजीगत खर्च क्षमता अधिबृद्धि
- शासकीय सुधार तथा सुशासन प्रवर्धन
- जैविक विविधता, जलवायु परिवर्तन तथा हरित अर्थतन्त्र
- अतिकम विकसित मुलुकबाट सहज स्तरोन्नती तथा दिगो विकास लक्ष्य कार्यान्वयन
परिमाणात्मक लक्ष्य
- सुशासनको राष्ट्रिय लक्ष्य
| क्र.शं |
सूचक |
एकाई |
आ.व २०७९/८० को स्थीति |
आ.व. २०८५/८६ को लक्ष्य |
| १. |
विधिको शासन सूचकाङ्क |
सूचकाङ्क |
0.52 |
0.80 |
| २. |
विश्वव्यापी प्रतिस्पर्धा सूचकाङ्क |
सूचकाङ्क |
52 |
65 |
| ३. |
भ्रष्टाचार न्यूनीकरण अनुभूति सूचकाङ्क |
सूचकाङ्क |
35 |
43 |
| ४. |
विद्युतीय सरकार विकास सूचकाङ्क |
सूचकाङ्क |
0.512 |
0.600 |
| ५. |
निर्वाचनमा मतदाताको सहभागिता |
प्रतिशत |
62 |
85 |
| ६. |
अदालतमा दर्ता भएका मुद्दा फछर्यौट |
प्रतिशत |
64 |
75 |
| ७. |
कुल विनियोजित खर्चको अनुपात |
प्रतिशत |
80 |
90 |
| ८. |
बेरुजु(कूल गार्हस्थ उत्पादनको अनुपातमा) |
प्रतिशत |
10.90 |
5.0 |
| ९. |
राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिक |
प्रतिशत |
63.40 |
90.0 |
| १०. |
पाँच बर्षमुनीका बालबालिकाको जन्म दर्ता |
प्रतिशत |
74 |
100 |
- सामाजिक न्यायका राष्ट्रिय लक्ष्य
| क्र.शं |
सूचक |
एकाई |
आ.व २०७९/८० को स्थिति |
आ.व. २०८५/८६ को लक्ष्य |
| १. |
असमानता समायोजित मानव विकास सूचकाङ्क |
सूचकाङ्क |
0.424 |
0.600 |
| २. |
उपभोगमा आधारित जिनी गुणक |
गुणक |
0.300 |
0.280 |
| ३. |
सम्पत्तिमा आधारित जिनी गुणक |
गुणक |
0.24 |
0.22 |
| ४. |
उच्च खाद्य असुरक्षामा आबद्ध जनसंख्या |
प्रतिशत |
१.३ |
१.0 |
| ५. |
आधारभूत सामाजिक सुरक्षामा आवद्ध जनसंख्या |
प्रतिशत |
३२ |
60 |
| ६. |
लैंगिक विकास सूचकांक |
सूचकाङ्क |
0.885 |
0.967 |
| ७. |
लैंगिक असमानता सूचकाङ्क |
सूचकाङ्क |
0.495 |
0.225 |
| ८. |
रोजगारिमा महिला र पुरुषको सहभागिता |
अनुपात |
१:1.7 |
१:1.2 |
| ९. |
बाध्यकारी श्रमको दर(१५ बर्ष वा सोभन्दा माथि) |
प्रतिहजार |
1.2 |
0 |
| १०. |
महिलाको नाममा घर वा जग्गा वा घर जग्गा दर्ता गरेका परिवार |
प्रतिहजार |
23.8 |
35 |
- समृद्धिका राष्ट्रिय लक्ष्य
| क्र.शं |
सूचक |
एकाई |
आ.व २०७९/८० को स्थिति |
आ.व. २०८५/८६ को लक्ष्य |
| १. |
आर्थिक बृद्धिदर (आधारभूत मूल्यमा) |
प्रतिशत |
3.5 |
7.3 |
| २. |
प्रतिव्यक्ति आय |
अमेरिकी डलरमा |
1456 |
2351 |
| ३. |
गरिबीको रेखामुनी रहेको जनसंख्या(निरपेक्ष गरिबी) |
प्रतिशत |
20.3 |
१२.0 |
| ४. |
उपभोक्ता मुद्रास्फीति |
प्रतिशत |
7.7 |
5.0 |
| ५. |
मानव विकास सूचकाङ्क |
सूचकाङ्क |
0.601 |
0.650 |
| ६. |
मानव सम्पत्ती सूचकाङ्क |
सूचकाङ्क |
76.3 |
78.0 |
| ७. |
आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क |
सूचकाङ्क |
२९.7 |
२४.0 |
| ८. |
साक्षरता दर (५ बर्ष माथि) |
प्रतिशत |
76.2 |
85.0 |
| ९. |
अपेक्षित आयु (जन्म हुँदाको) |
बर्ष |
71.3 |
73 |
| १०. |
३० मिनेटको दुरीमा स्वास्थ संस्थामा पहुँच भएको परिवार |
प्रतिशत |
७७ |
90 |
| ११. |
उच्च मध्यस्तरको खानेपानीमा पहुँच भएको परिवार |
प्रतिशत |
२५.८ |
४५ |
| १२. |
बेरोजगारी दर |
प्रतिशत |
११.4 |
5.0 |
| १३. |
श्रम उत्पादकत्व |
रु. हजारमा |
२४५ |
२७५ |
| १४. |
कृषि वस्तुको औषत उत्पादकत्व(प्रमुख बाली) |
मे.ट. प्रति हेक्टर |
3.3 |
3.7 |
| १५. |
बैंक तथा वित्तीय संस्थामा पहुँच पुगेको परिवार |
प्रतिशत |
63 |
८५ |
| १६. |
सडक घनत्व |
कि.मी प्रति व.कि.मि |
0.63 |
0.77.
|
| १७. |
विद्युत उत्पादन(जलविद्युत तथा बैकल्पिक उर्जा जडित क्षमता) |
मेगावट |
२९६२ |
11,769 |
| १८. |
प्रतिव्यक्ति विद्युत उपयोग |
किलोवाट घण्टा |
३८० |
७०० |
| 19. |
बिद्युतमा पहुँच पुगेको जनसंख्या |
प्रतिशत |
९६.7 |
१०० |
| २०. |
ईन्टरनेटमा पहुँच पुगेको जनसंख्या |
प्रतिशत |
69.2 |
90 |
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 1,160