काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ। ओमानको अल अमिरातमा खेल बिहान पौने १२ बजे शुरु हुनेछ।
नेपाली टोली यसअघि नै समूह विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने निश्चित भइसकेको छ।
नेपाल जारी प्रतियोगितामा यसअघि आफूले खेलेका तीनवटै खेलमा विजयी भएको छ। नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो।
नेपाल ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ। चार खेलबाट चार अंक बटुलेको कतार दोस्रो स्थानमा आसीन छ। तीन खेलबाट दुई अंक बटुलेको साउदी अरेबिया तेस्रो, तीन खेलबाट दुई अंक जोडेको मलेसिया चौथो र तीन खेलबाट दुई अंक हात पारेको हङ्कङ पाँचौँ स्थानमा छन्।
यो प्रतियोगिताको उपाधि विजेता टोलीले एसिया कप खेल्न पाउनेछ।