काठमाडौँ– ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ। नेपालले सोमबार सम्पन्न आफ्नो तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले पराजित गरेको हो।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १७.५ ओभरमा लआउट हुनुअघि एक सय १४ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १२.२ ओभरमा केवल दुई विकेट गुमाएर एक सय १७ रन बनाउँदै विजयलक्ष्य पार ग¥यो। वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल १८–१८ ओभरमा झारिएको थियो।
एसीसी प्रिमियर कपको दोस्रो संस्करणमा नेपालले हात पारेको यो लगातार तेस्रो जित हो। यसअघि नेपाली टोलीले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो। नेपाली टोली ६ अंकसहित समूह ‘ए’ तालिकाको पहिलो स्थानमा आसिन छ।
अंक तालिकामा दुई खेल खेलेको साउदी अरेबिया दुई अंकसहित दोस्रो, समान खेल खेलेको मलेसिया दुई अंकसहित तेस्रो, तीन खेल खेलेको हङ्कङ दुई अंकसहित चौथो र दुई खेल खेलेर अंक जोड्न नसकेको कतार पाँचौँ स्थानमा छन्।
नेपालका जितमा आसिफ शेखले ४० रनको योगदान गरे। उनले केवल १८ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काए। अर्का ओपनर कुशल भुर्तेलले पनि टोलीको खातामा ३२ रन थपे। उनले १९ बलमा दुई छक्का र तीन चौका प्रहार गरे।
आसिफ शेख र कुशल भुर्तेलले ओपनिङ विकेटका लागि ७० रनको साझेदारी गरेका थिए। आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रनको कोशे ढुङ्गा पनि पार गरे। कप्तान रोहित पौडेलले पनि अविजित २५ रन बनाए।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान रोहितले २० बलमा तीन चौका पनि हिर्काए। चौथो नम्बरका ब्याट्सम्यान सन्दीप जोरा १९ रनमा अविजित रहे। उनले १७ बलको सामना गरी एक छक्का र एक चौका पनि हिर्काएका थिए।
पहिले ब्याटिङ गरेको हङ्कङलाई ठुलो योगफल बनाउनबाट रोक्न नेपाली टोलीका बलर अविनाश बोहराले तीन विकेट लिएका थिए। उनले चार ओभरमा २९ रन खर्चिए। दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले पनि दुई–दुई विकेट हात पारे। करण केसीले पनि एक विकेट लिए।
हङ्कङका लागि ओपनर अन्शी रथले सर्वाधिक ३४ रन बनाए। जिसन अलीले १४ रन बटुले। कप्तान निजाकत खानले १२ र एहसान खानले ११ रन बनाए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन्। हङ्कङले अतिरिक्त रुपमा आठ रन पायो।
नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुलश भुर्तेललाई गुमाएको थियो। उनले पेभेलियन फर्किनुअघि टोलीका लागि ३२ रनको योगदान गरेका थिए। यस क्रममा उनले केवल १९ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए।
कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ विकेटका लागि ७० रनको साझेदारी गरेका थिए। ५.३ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले जिततर्फको यात्रा तय गरिसकेको थियो। उनलाई हङ्कङका बलर यासिम मुर्तजाले एलबीडब्लूको धरापमा पारेका थिए।
नेपालले दोस्रो विकेटका रुपमा अर्का ओपनर आसिफ शेखलाई गुमाएको थियो। उनी टोलीका लागि ४० रनको योगदान गर्दै पेभेलियन फर्किएका थिए। यस क्रममा उनले केवल १८ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काएका थिए।
सातौँ ओभरको पाँचौँ बलमा आसिफ शेख आउट हुँदा नेपालले ७६ रन बनाएको थियो। विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई हङ्कङका बलर एहसान खानले आफ्नै बलिङमा आफैले क्याच लिँदै पेभेलियन फर्काएका थिए।
त्यसअघि आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गरेका थिए । सोमबारको खेलअघि उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४० खेल खेल्दै कुल नौ सय ६८ रन बनाएका थिए। सोमबार हङ्कङविरुद्धको खेलमा ३२ रन बनाएपछि उनको एक हजार रन पुरा भएको थियो।
२२ वर्षीय आसिफ शेखले टी–२० अन्तर्राष्ट्रियमा पाँचवटा अर्धशतक पनि प्रहार गरेका छन्। उनी हङ्कङविरुद्धको खेलमा भने केवल १० रनका कारण अर्धशतक पुरा गर्नबाट चुकेका थिए। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन भने अविजित ६४ रन हो।
त्यसअघि हङ्कङको पहिलो विकेट करण केसीले लिएका थिए। करणले हङ्कङका ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई आठ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका थिए। २.१ ओभरमा कोट्जी आउट हुँदा हङ्कङले १२ रन बनाएको थियो।
हङ्कङले दोस्रो विकेटका रुपमा कप्तान निजाकत खानलाई १२ रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियो। तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान निजाकतलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गराएका थिए। ५.४ ओभरमा निजाकत आउट हुँदा हङ्कङले ३७ रन बनाएको थियो।
हङ्कङले तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान अन्शी रथलाई गुमाएको थियो। उनललाई गुलसन झाले उत्कृष्ट रन आउट गराएका थिए। पेभेलियन फर्किनुअघि अन्शीले २६ बलमा एक छक्का र चार चौकाको मद्दतले ३४ रन बनाएका थिए। ८.२ ओभरमा उनी आउट हुँदा हङ्कङले ६२ रन बनाएको थियो।
हङ्कङको चौथो विकेट ललित राजवंशीले लिएका थिए। ललितले हङ्कङका अनुभवी ब्याट्सम्यान बाबर हायातलाई आफ्नो बलिङमा आफैले क्याच लिँदै पेभेलियन फर्काएका थिए। पेभेलियन फर्किनुअघि चौको नम्बरका ब्याट्सम्यान बाबर हायातले ६ रन बनाएका थिए। ९.२ ओभरमा उनी आउट हुँदा हङ्कङले ६८ रन बनाएको थियो।
हङ्कङको पाँचौँ विकेट पनि ललित राजवंशीले नै लिएका हुन्। उनले हङ्कङका पाँचौँ नम्बरका ब्याट्सम्यान ईजाज खानलाई सात रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए। ललितले लिएको यो दोस्रो विकेट थियो। ११.२ ओभरमा ईजाज आउट हुँदा हङ्कङले ७६ रन बनाएको थियो।
हङ्कङको छैटौँ विकेट अविनाश बोहराले लिएका थिए। उनले हङ्कङका छैटौँ नम्बरका ब्याट्सम्यान यासिम मुर्तजालाई दुई रनको ब्यक्तिग स्कोरमा बोल्ड गरेका थिए। १२.१ ओभरमा यासिम मुर्तजा आउट हुँदा हङ्कङले ७६ रन बनाएको थियो।
हङ्कङको सातौँ विकेट पनि अविनाश बोहराले नै लिएका थिए। उनले हङ्कङका आठौँ नम्बरका ब्याट्सम्यान नसरुल्ला राणालाई ६ रनको ब्यक्तिगत स्कोरमा ललित राजवंशीद्वारा क्याच गराएका थिए। अविनाशले लिएको यो दोस्रो विकेट थियो। १४.५ ओभरमा नसुरुल्ला आउट हुँदा हङ्कङले ८९ रन बनाएको थियो।
हङ्कङको आठौँ विकेट पनि अविनाश बोहराले नै लिएका थिए। उनले हङ्कङका सातौँ नम्बरका ब्याट्सम्यान जिसन अलीलाई १४ रनको ब्यक्तिगत स्कोरमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका थिए। अविनाशले लिएको यो तेस्रो विकेट थियो। १६.३ ओभरमा जिसन अली आउट हुँदा हङ्कङले एक सय दुई रन बनाएको थियो।
हङ्कङको नवौँ विकेट दीपेन्द्रसिंह ऐरीले लिएका थिए। उनले हङ्कङका नवौँ नम्बरका ब्याट्सम्यान एहसान खानलाई ११ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए। १७।४ ओभरमा एहसान आउट हुँदा हङ्कङले एक सय १४ रन बनाएको थियो।
त्यसलगत्तै अर्को बलमा दीपेन्द्रले नै हङ्कङका अर्का ब्याट्सम्यान धनन्जय रावलाई पनि बोल्ड गरेका थिए। धनन्जयले पेभेलियन फर्किनुअघि खातासम्म खोल्न सकेनन्। दीपेन्द्रले लिएको यो लगातार दोस्रो विकेट थियो।
नेपाल एसीसी प्रिमियर कपको साविक विजेता पनि हो। अघिल्लो वर्ष घरेलु मैदानमा आयोजना भएको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई सात विकेटले हराएको थियो। सोही प्रतियोगिताको विजेता बन्दै नेपाल एसिया कपमा छनोट भएको थियो।
एसीसीका एसोसिएट्स सदस्य राष्ट्रका लागि प्रिमियर कप क्रिकेट महत्त्वपूर्ण प्रतियोगिता हो। यही प्रतियोगिताले एसोसिएट्स सदस्य राष्ट्रका लागि एसिया कपजस्तो ठुलो प्रतियोगिता खेल्ने अवसर प्रदान गर्छ। एसिया कपमा छनोट भएको एसोसिएट्स सदस्य राष्ट्रले बलिया टेस्ट राष्ट्रहरूसँग भिडन्त गर्ने अवसर पाउँछ।
एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले सहभागिता जनाउँछन्। सन् २०२३ को एसिया कपमा नेपाल समूह ‘ए’ मा परेको थियो। नेपालको समूहमा विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तान पनि थिए।
भारत र पाकिस्तानविरुद्धको खेलमा नेपाली खेलाडीको प्रदर्शन पनि उत्कृष्ट थियो। यद्यपि, दुवै खेलमा नेपाली टोली पराजित भएको थियो। खासगरी भारतविरुद्धको खेलमा नेपाली ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए। पाकिस्तानविरुद्धको खेलमा भने नेपाली बलरहरुले गतिलो प्रदर्शन गरेका थिए।
एसीसी प्रिमियर कपको दोस्रो संस्करण नेपालका लागि अर्को अर्थमा पनि महत्त्वपूर्ण रहेको छ। एसीसी प्रिमियर कपको अघिल्लो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो। तर, दोस्रो संस्करण भने टी–२० ढाँचामा खेलाइँदै छ।
त्यसैले एसीसी प्रिमियर कपको दोस्रो संस्करणले यसै वर्षको जुनमा अमेरिका र वेस्ट इन्डियामा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीलाई पनि सहयोग पु¥याउने छ। आगामी टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ।
यसपटक एसीसी प्रिमियर कपमा सहभागी हुने अर्को एक राष्ट्र ओमानले पनि टी–२० विश्वकपमा सहभागिता जनाउँदै छ। टी–२० विश्वकपमा सहभागी यी दुवै राष्ट्रका लागि एसीसी प्रिमियर कप आफ्नो प्रदर्शनमा सुधार ल्याउने गतिलो अवसर पनि हो।
नेपालसहित आठ राष्ट्र एसोसिएट्स सदस्य राष्ट्रहरूको आईसीसी वरीयताका आधारमा प्रतियोगितामा छनोट भएका हुन्। बाँकी दुई राष्ट्र साउदी अरेबिया र कम्बोडिया भने एसीसी पुरुष च्यालेन्जर कपबाट एसीसी प्रिमियर कपमा छनोट भएका हुन्।
यसपटक प्रिमियर कपको समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, आयोजक ओमान र यूएई रहेका छन्। नेपाली टोलीले समूहगत चरणको अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्नेछ। समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई–दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ। सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ। फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ।