काठमाडौं– पूर्वसभामुख ओनसरी घर्तीले निर्वाचनमा पराजित हुँदैमा मुलुक र जनताप्रतिको जिम्मेवारी समाप्त नहुने बताएकी छन्।
काठमाडौं–२ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमलाई बधाई दिँदै उनले यस्तो बताएकी हुन्।
‘निर्वाचनमा जित(हार स्वाभाविक प्रक्रिया हो। यसलाई मैले स्वाभाविक लिएकी छु। आवधिक निर्वाचनमा एक पटकको पराजयले मुलुक र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त हुँदैन र हुन पनि सक्दैन,’ घर्तीले भनेकी छन्।
आगामी दिनमा काठमाडौं(२ मा नै क्रियाशील हुने प्रतिबद्धता उनले गरेकी छन्। मतदातासँगको वाचा अनुसार यही भूगोललाई कर्मथलो बनाउने उनको भनाइ छ।
काठमाडौं क्षेत्र नम्बर २ मा उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गौतमसँग पराजित भएकी हुन्।
घर्तीले ९४४९ मत ल्याएर चौथो भएकी छन्। निर्वाचित गौतमले १५ हजार २ सय २९ मत ल्याएकी छन्।