लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-08
  • 01:57:12
  • आइतबार,जेठ २४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

     सूचनाको हक र पारदर्शिता

     

    नमुना प्रश्न : सूचनाको हक भनेको के हो ? सूचनाको हकको महत्व प्रष्ट पार्नुहोस्।(२+३)

    सूचनाको हक परिचय

    कुनै विषयको तथ्य, तथ्याङ्क एवं जानकारी सूचना हो।  प्रत्येक  नागरिकले आफ्नो वा सार्वजनिक सरोकारको विषयमा सूचना माग्ने वा प्राप्त गर्ने हकलाई सूचनाको हक भनिन्छ।

    • सूचनाको हक लोकतन्त्र र मानव अधिकारको आधारशीला हो।
    • यसले नागरिक र राज्यबीच सुसम्बन्ध सृजना गर्ने कार्य गर्दछ।
    • लोकतान्त्रिक शासन व्यवस्थाको अवधारणाको विकास सँगै सूचनाको हकको अवधारणाको पनि विकास भएको हो।
    • प्रत्येक लोकतान्त्रिक मुलुकमा सूचनाको हकलाई नागरिकको महत्वपूर्ण अधिकारको रुपमा लिईन्छ।
    • मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ ले अभिव्यक्ति र सूचनाको अधिकारलाई नैसर्गिक अधिकार मानेको छ ।
    • नेपालको वर्तमान संविधानको धारा २७ मा सूचनाको हकको व्यवस्था गरिएको छ।
    • सूचनाको हक सम्बन्धी संबैधानिक व्यवस्थाको प्रचलनका लागि मुलुकमा सूचनाको हक सम्बन्धी ऐन, २०६४ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ जारी गरी लागू भएका छन्।

     

    सूचनाको हकको महत्व

    जनहित र जनकल्याणको माध्यम एवं लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्डको रुपमा रहेको सूचनाको हकको महत्वलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ।

    • मानव अधिकारको प्रवर्धन गर्न,
    • भ्रष्ट्राचार नियन्त्रण गर्न,
    • आर्थिक अनुशासन कायम राख्न,
    • लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढीकरण गर्न,
    • विधिको शासन कायम गर्न,
    • पारदर्शिताको प्रवर्धन गर्न,
    • राज्यप्रति जनताको अपनत्वभाव सृजना गर्न,
    • शासकको शासितप्रति उत्तरदायित्व अभिबृद्धि गर्न,
    • समग्र मुलुकमा सुशासन कायम गर्न

    अत : सूचनाको हक सुशासन र पारदर्शिता कायम गर्ने एक महत्वपूर्ण नागरिक अधिकार हो । यसले समस्त मुलुकको शासन प्रणालीलाई सुव्यवस्थित र मर्यादित बनाउँन सहयोग पुर्‍याउँदछ ।

     

    # नमुना प्रश्न : सूचनाको हक सम्बन्धी सिद्धान्तहरुबारे छोटकरीमा चर्चा गर्दै नेपालमा सूचनाको हक कार्यन्वयनमा रहेका समस्याहरु उल्लेख  गर्नुहोस् । (५)

    सूचनाको हक परिचय

        आफ्नो वा सार्वजनिक सरोकारको विषयमा सूचना माग्ने वा पाउने हक नै सूचनाको हक हो । लोकतन्त्रको आधारभूत स्तम्भको रुपमा सूचनाको हकलाई लिईन्छ ।

    सूचनाको हकको सिद्धान्त

    सूचनाको हकको सिद्धान्तलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • पारदर्शिताको सिद्धान्त

    + सूचनाको हकले पारदर्शितालाई प्रवर्धन गर्दछ ।

    • संरक्षणको सिद्धान्त
    • मानव अधिकारको सिद्धान्त
    • प्रभावकारी सेवा प्रवाहको सिद्धान्त
    • गोपनियताको सिद्धान्त
    • प्रकाशनको सिद्धान्त
    • उपचारको सिद्धान्त
    • सुशासनको सिद्धान्त
    • सरल पहुँचको सिद्धान्त
    • उत्तरदायित्वको सिद्धान्त

     

    नेपालमा सूचनाको हकको कार्यन्वयनमा समस्या

    नेपालमा सूचनाको हक कार्यन्वयनमा रहेका समस्याहरु देहायबमोजिमका रहेका छन् ।

    • कर्मचारीमा तालिमको अभाव
    • गोपनियताको संस्कृति
    • नागरिक शिक्षाको कमी
    • सूचना माग गर्ने र सार्वजनिक गर्ने प्रवृत्तिको कमी हुनु
    • सार्वजनिक निकायमा सूचनाको अद्यवाधिक नगरिनु
    • आमसञ्चार जगतको भूमिका कमजोर हुनु
    • सार्वजनिक निकायमा सूचना तथा प्रविधिको प्रयोग कम हुनु
    • सूचना वर्गिकरणमा समस्या रहनु
    • अनियमिता र भ्रष्ट्राचारको हावी हुनु

    अत : सुशासन र पारदर्शिताको आधारस्तम्भ रुपमा सूचनाको हकलाई लिईन्छ । यसको कार्यन्वयन सम्बन्धमा देखिएका समस्याहरुलाई हल गर्नै नेपालमा सूचनाको हकलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।

     

    # नमुना प्रश्न : नेपालमा के-कस्ता सूचनाहरु प्रवाह नगरिने कानूनी व्यवस्था रहेको छ ? उल्लेख गर्नुहोस्।

    सूचनाको हक सम्बन्ध ऐन, २०६४ को दफा ३ को उपदफा ३ मा सार्वजनिक निकायमा देहायका सूचनाहरु प्रवाह नगरिने उल्लेख छ ।

    • सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा तथा शान्ति सुव्यवस्था र अन्तर्राष्ट्रिय सम्बन्धमा असर गर्ने
    • अपराधको अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने
    • आर्थिक, व्यापारिक, मौद्रिक, बौद्धिक सम्पत्ति र बैंकिङ गोपनियतामा आघात पार्ने
    • विभिन्न जातजाती वा सम्प्रदायबीचको सुसम्बन्धमा प्रत्यक्ष असर पार्ने
    • व्यक्तिगत गोपनियता र जीउज्यान, सम्पत्ति, स्वास्थ्य वा सुरक्षामा खतरा पुर्‍याउने ।

    अत: माथि उल्लेखित सूचनाहरु प्रवाह नगरिने कानूनी व्यवस्था रहेको छ ।

     

    # नमुना प्रश्न : पारदर्शिता भन्नाले के बुझ्नुहुन्छ ? पारदर्शिताको सिद्धान्त र आवश्यकता प्रष्ट पार्नुहोस् । (२+४+४)

     पारदर्शिता

    सार्वजनिक काम कारबाहीमा सरोकारवालाको सहज पहुँचलाई पारदर्शीता भनिन्छ ।

    • सरकार तथा सरकारका निकायहरुले आफ्नो काम कारबाही सबैले थाहा पाउने गरी गर्ने कार्य हो पारदर्शीता ।
    • पारदर्शीता लोकतन्त्र र मानव अधिकारको आधारस्तम्भ हो ।
    • सूचनाको हकको कार्यान्वयनले पारदर्शीताको उद्देश्य साकार बनाउँदछ ।

    पारदर्शिताका सिद्धान्तहरु

    पारदर्शिताका सिद्धान्तहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • राष्ट्रिय हितको सिद्धान्त
    • गोपनियताको सिद्धान्त
    • सुरक्षाको सिद्धान्त
    • मानव अधिकारको सिद्धान्त
    • उत्तरदायित्वको सिद्धान्त
    • नागरिक सेवा र नागरिक बडापत्रको सिद्धान्त
    • सूचनाको अधिकार माथि सहज पहुँचको सिद्धान्त
    • न्यूनतम लागतको सिद्धान्त
    • खुला सरकारको सिद्धान्त

    पारदर्शिताको आवश्यकता

    पारदर्शिताको आवश्यकतालाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • भ्रष्टाचार र अनियमितता अन्त्य गर्न
    • सार्वजनिक पदाधिकारीलाई काम, कर्तव्य र अधिकार प्रति सचेत बनाउन
    • नागरिक अधिकारको रक्षा गर्न
    • लोकतन्त्रलाई सुदृढीकरण गर्न
    • स्वतन्त्र, निपष्क्ष, तटस्थ र जनमुखी प्रशासन यन्त्र निर्माण गर्न
    • कानूनको शासन स्थापना गर्न
    • मानव अधिकारको प्रवर्धन गर्न
    • राष्ट्र निर्माण र राज्यलाई सबलीहरण गर्न
    • सामाजिक न्याय स्थापना गर्न
    • सुशासन कायम गर्न

    अत: पारदर्शिता सुशासनको आधार स्तम्भ हो । यसले सार्वजनिक सेवा प्रवाहलाई जनमैत्री र प्रभावकारी बनाउन मद्दत गर्दछ ।

     

    # नमुना प्रश्न : सूचनाको हक र पारदर्शिता बीचको अन्तरसम्बन्ध प्रष्ट पार्नुहोस् ।(५)

    सूचनाको हक र पारदर्शिता

    आफ्नो र सार्वनजिक सरोकारको बिषयमा सूचना माग्ने वा पाउने हक नै सूचनाको हक हो भने सार्वजनिक कामकारबाहीलाई खुला र सरोकारवाला व्यक्तिको पहुँचयोग्य बनाउने कार्य नै पारदर्शिता हो । यी दुवै सुशासनका आधारस्तम्भ हुन् ।

    सूचनाको हक र पारदर्शीता बीचको अन्तरसम्बन्ध

    सूचनाको हक र पारदर्शीता एक अर्काका पूरक अवधारणा हुन् ।यी दुई बीचमा रहेको अन्तरसम्बन्धलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ।

    • सूचनाको हकले
    • सूचनाको हकले सार्वजनिक पदाधिकारीलाई सूचना दिन बाध्य बनाएर र नागरिकले मागेका सूचना दिन बाध्य बनाएर पारदर्शीता कामय राख्न सहयोग पुर्‍याउँदछ ।
    • नागरिकको सूचनामाथिको पहुँच सुनिश्चित गरेर पारदर्शीता कायम गर्न मद्दत गर्दछ ।
    • सूचनाताको संरक्षण गरेर सरकारी निकायहरुमा पारदर्शीता प्रवर्धन गर्दछ ।
    • पारदर्शीताले
    • सार्वजनिक निकायको कामकारबाहीलाई खुला र पारदर्शी बनाएर
    • सूचना माथि नागरिकको सहज पहुँच बनाएर
    • नागरिक सचेतना र सशक्तिकरण प्रवर्धन गरेर
    • नागरिकलाई आफ्नो जिम्मेवारी र कर्तव्यबोध गरेर सूचनाको हक प्रवर्धन गर्दछ।

    अत: सूचनाको हक कार्यन्वयनको महत्वपूर्ण माध्यम पारदर्शीता भएकाले यी दुईलाई एक अर्काको पूरकको रुपमा लिईन्छ।

     

    # नमुना प्रश्न : नेपालमा पारदर्शिता सम्बन्धमा रहेका व्यवस्थाहरु उल्लेख गर्नुहोस् ।(५)

    पारदर्शिता परिचय

    सार्वजनिक कामकारबाहीहरु खुला र जनमैत्री बनाउने कार्य नै पारदर्शिता हो । पारदर्शिता लोकतन्त्रको आधार स्तम्भ हो ।

    नेपालमा पारदर्शिता सम्बन्धमा रहेका व्यवस्थालाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • नीतिगत तथा कानूनी व्यवस्था
    • नेपालको संविधान
    • निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५०
    • सूचनाको हक सम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५
    • सुशासन (व्यवस्थापन र सञ्चालन ) ऐन, २०६४ र नियमावली, २०६५
    • राष्ट्रसेवक कर्मचारीहरुको आचरणसम्बन्धी निर्देशिका, २०६८
    • चालु पन्ध्रौ योजना
    • चालु बजेट
    • संस्थागत व्यवस्था
    • अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय लगायतका संवैधानिक निकाय
    • राष्ट्रिय सूचना आयोग
    • संघीय, प्रादेशिक मन्त्रालय एवं स्थानिय निकायहरु
    • कार्यगत व्यवस्था
    • वि.सं २००८ साल देखि नै बजेट पारित गर्ने गरिएको
    • सूचनाको हकलाई मौलिक हकको रुपमा राखिएको
    • अदालतमा बहस खुलारुपमा हुने गरेको
    • सूचना अधिकारीको व्यवस्था
    • राजपत्रको व्यवस्था
    • सूचनापाटीको व्यवस्था
    • नागरिक बडापत्रको व्यवस्था
    • प्रवक्ताको व्यवस्था

    अत: पारदर्शिता कायम गर्न नेपालमा विभिन्न नीतिगत, संस्थागत एवं कार्यगत व्यवस्थाहरु रहेका छन् ।

     

     #नमुना प्रश्न : विद्युतीय शासन भन्नाले के बुझिन्छ ? विद्युतीय शासनका उद्देश्यहरु प्रष्ट पार्नुहोस् ।(२+३)

    विद्युतीय शासन

    • मुलुकको शासकीय क्रियाकलापहरुलाई प्रविधिमा आबद्ध गर्ने कार्यलाई विद्युतीय शासन भनिन्छ ।
    • विद्युतीय शासन राज्य संचालनको नवीन अवधारणा हो।
    • आधुनिक प्रविधि तथा कम्प्यूटर प्रणाली र विशेष गरी वर्तमान सूचना तथा सञ्चार प्रविधिको विकास एवं विस्तारसँगै विद्युतीय शासन प्रणालीको अवधारणाको विकास भएको हो।
    • सुशासन र पारदर्शीताको पूर्वसर्तको रुपमा विद्युतीय शासनलाई लिईन्छ। यसको सीमाविहिन र बहुआयामिक दायरा रहेको हुन्छ ।
    • विशेषगरी सन् २००० को दशकदेखि संसारभर शासन, विकास र सेवा प्रवाहमा विद्युतीय शासनलाई अवलम्बन गरिएको पाईन्छ ।
    • यसले सार्वजनिक सेवालाई आधुनिकीकरण गर्न तथा नागरिक र सरकारबीचको सम्बन्ध तथा जनसम्पर्कलाई फराकिलो तथा सुमधुर बनाउन मद्दत गर्दछ।
    • सर्वप्रथम तत्कालीन अमेरिकी उपराष्ट्रपति एल गोरले सन् 1993 मा E- Governance शब्दको शुरुवात गरेका थिए ।
    • तत् पश्चात् सन् 1999 मा तत्कालीन अमेरिकी राष्ट्रपति बिल व्लिन्टनले Government Paperwork Elimination Act, 1998 को घोषणा गरेपछि विद्युतीय शासनबारे नयाँ शिराबाट बहस शुरु भएको थियो।
    • नेपालमा सन् 2004 को  Telecommunication Policy र
    • सन् 2010 को IT Policy ले विद्युतीय शासनको विकासमा महत्वपूर्ण भूमिका खेलेको पाईन्छ ।

    विद्युतीय शासनको उद्देश्य

    सुशासन र जनउत्तरदायी शासन व्यवस्थाको आधारस्तम्भको रुपमा रहेको विद्युतीय शासनका उद्देश्यहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु,
    • विधिको शासन कायम गर्नु,
    • मानव अधिकारको संरक्षण गर्नु,
    • राज्यप्रति जनअपनत्वभाव विकास गर्नु,
    • भ्रष्टाचार नियन्त्रण गर्नु,
    • सरकारलाई पारदर्शी र उत्तरदायी बनाउनु,
    • चेतनशील समाजको निर्माण गर्नु,
    • गरिबी न्यूनीकरण गर्नु,
    • रोजगारीको सिर्जना गर्नु
    • मुलुकको चौतर्फी विकास गर्नु,
    • सामाजिक द्वन्द्वको न्यूनीकरण गर्नु,
    • संविधान र कानून प्रतत्त नागरिक अधिकारको संरक्षण गर्नु।

    अत: विद्युतीय शासन शासन प्रणालीको नवीनतम् अवधारणा हो । यसले सार्वजनिक सेवाप्रवाहलाई छिटो छरितो बनाई मुलुकमा सुशासन कायम गर्न मद्दत गर्दछ ।

     

    # नमुना प्रश्न : नेपालमा विद्युतीय शासनको अवस्थाबारे चर्चा गर्नुहोस् । (१०)

     विद्युतीय शासन

    मुलुकको शासकीय क्रियाकलाप विद्युतीय उपकरण मार्फत सञ्चालन गर्ने परिपाटी नै विद्युतीय शासन हो । विद्युतीय शासनले सार्वजनिक सेवा प्रवाहलाई जनमैत्री बनाउ सहयोग पुर्‍याउँदछ ।

     नेपालमा बिद्युतीय शासनको अवस्था

    नागरिकमैत्री शासनको रुपमा बुझिने बिद्युतीय शासनको नेपालमा रहेको अवस्थालाई देहायबोजिम उल्लेख गर्न सकिन्छ ।

    • नीतिगत अवस्था

    नेपालमा विद्युतीय शासन सम्बन्धमा देहाय बमोजिमका कानून एवं नीतिहरुको व्यवस्था गरिएको छ ।

    • नेपालको संविधान
    • चालु पञ्चबर्षीय योजना
    • विद्युतीय कारोबार ऐन, २०६३
    • विद्युतीय कारोबार नियमावली, २०६४
    • सूचनाको हक सम्बन्धी ऐन, २०६४
    • सूचनाको हक सम्बन्धी नियमावली, २०६५
    • सुशासन ( व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४
    • सुशासन ( व्यवस्थापन तथा सञ्चालन ) नियमावली, २०६५
    • सूचना तथा सञ्चार प्रविधि नीति, २०७२
    • आम सञ्चार नीति, २०७३
    • ब्रोड व्याण्ड नीति २०७०
    • दूर सञ्चार नीति, २०६०
    • संस्थागत अवस्था

    नेपालमा विद्युतीय शासन सम्बन्धमा देहाय बमोजिमका संस्थागत व्यवस्थाहरु रहेका छन् ।

    • संघ, प्रदेश तथा स्थानीय तीन वटै सरकार
    • सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
    • उच्च स्तरीय सूचना प्रविधि आयोग
    • राष्ट्रिय सूचना प्रविधि केन्द्र
    • सूचना तथा सञ्चार विकास आयोजना
    • सूचना विभाग
    • सूचना प्रविधि पार्क
    • IT Council
    • Computer Association of Nepal (CAN )
    • Nepal Academy of Science and Technology ( NAST)
    • व्यवहारिक अवस्था

    विद्युतीय शासन सम्बन्धमा नेपालमा देहायबमोजिमका कार्यहरु संचालन गरिएको पाईन्छ।

    • हरेक सरकारी कार्यालयहरुमा Web Site को व्यवस्था गरिएको,
    • बैंकहरुले ईन्टरनेटमा आधारित बैंकिङ्ग प्रणाली लागू गरेका,
    • मुलुकमा प्रविधि मैत्री जनशक्तीको उत्पादनमा बृद्दी हुँदै गएको,
    • सरकारी कार्यलयहरुमा कम्प्यूटर, ईमेल, फ्याक्सको प्रयोग बढ्दै गएको,
    • मुलुकमा मोबाईल र ईन्टरनेट जस्ता प्रविधिहरुको प्रयोग र पहुँचको दायरा फराकिलो हुँदै गएको,
    • सार्वजनिक निकायहरुमा कर्मचारी भर्दा गर्दा कम्प्यूटर दक्षताको जाँच गर्ने गरिएको

    नेपालमा विद्युतीय शासनमा देखिएका समस्याहरु

    • दक्ष जनशक्तीको अभाव
    • प्रभावकारी नीति तथा कार्यविधिको अभाव
    • प्रविधिको अभाव
    • दिगो उर्जाको अभाव
    • ईन्टरनेट सेवामा गुणस्तरियताको अभाव
    • साईबर सुरक्षाको अवस्था कमजोर हुनु
    • सार्वजनिक निकायमा रहेका कर्मचारीहरुलाई पर्याप्त तालिमको अभाव हुनु
    • प्रविधिको खोज तथा अनुसन्धाको अवस्था कमजोर हुनु
    • मुलुकको आर्थिक स्रोत र साधनको अभाव हुनु
    • सबै क्षेत्रमा विद्युतीय प्रविधिमैत्री शासनको प्रबन्ध गर्न नसकिनु

    अत : अझैपनि नेपालमा सार्वजनिक सेवा प्रवाह गर्दा पूर्ण रुपमा विद्युतीय शासन अवलम्बन गर्न सकिएको छैन । मुलुकमा विद्युतीय शासन अवलम्बन गर्न आवश्यक पूर्वाधारको उचित प्रबन्ध गरी विद्युतीय शासन मैत्री मुलुकको रुपमा नेपाललाई रुपान्तरण गर्न सबै सरोकारवाला पक्षहरुको उचित ध्यान जानुपर्ने देखिन्छ ।                   

     

     # नमुना प्रश्न : विद्युतीय शासनका सीमा, चुनौती र दुर्बल पक्षबारे चर्चा गर्नुहोस् । (१०)

    विद्युतीय शासन

    मुलुकमा सार्वजनिक सेवा प्रवाहलाई विद्युतीय उपयकरको प्रयोग गरी सञ्चालन गर्ने कार्य नै विद्युतीय शासन हो । विद्युतीय शासनले मुलुकमा पारदर्शिता कायम गरी भ्रष्टाचार नियन्त्रण गर्न सहयोग पुर्‍याउँदछ ।

    विद्युतीय शासनका सीमाहरु

    • विद्युतको आपूर्ति भएको हुनुपर्ने
    • सेवाग्राही र सेवा प्रदायक दुवैमा विद्युतीय साक्षरता भएको हुनुपर्ने
    • लोकतान्त्रिक शासन व्यवस्था र खुला सरकार हुनुपर्ने
    • भौतिक रुपमा नभई सूचनामूलक सेवा प्राप्त गर्न सकिने

    नेपालमा विद्युतीय शासनको सन्दर्भमा देखिएका चुनौती

    विद्युतीय शासनको सन्दर्भमा नेपालमा देखा परेका चुनौतीलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ।

    • राजनीतिक स्थिरता कायम गर्नु
    • दक्ष जनशक्तिको अभाव पूर्ति गर्नु
    • भ्रष्टाचार नियन्त्रण गर्नु
    • परिवर्तन विरोधी मनोबृत्ति न्यूनिकरण गर्नु
    • आर्थिक स्रोतको अभाव निराकरण गर्नु
    • चेतनाको अभिबृद्धि गर्नु
    • गरिबी र बेरोजगारी न्यूनिकरण गर्नु

    विद्युतीय शासनका दुर्बल पक्षहरु

    विद्युतीय शासनका दुर्बल पक्षहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • खर्चिलो हुने,
    • दक्ष जनशक्तिको आवश्यकता पर्ने
    • गरिबी र अशिक्षा भएको मुलुकमा प्रभावकारी नहुने,
    • प्रविधिको प्रयोगले विभिन्न स्वास्थ्य समस्या देखा पर्ने,
    • प्रदुषणमा बृद्धि हुने,
    • मानवीय सृजनात्मक क्षमतामा ह्रास आउन सक्ने

    अत : विद्युतीय शासनका सकारात्मक र नकारात्मक दुवै पक्षहरु रहेका हुन्छन् । यसका नकारात्मक पक्षलाई न्यूनिकरण गर्दै विद्युतीय शासनलाई प्रभावकारी रुपमा अवलम्बन गर्नु आजको आवश्यकता हो ।

     

    # नमुना प्रश्न : नेपालमा विद्युतीय शासनका सम्भाबना र विद्युतीय शासनलाई प्रभावकारी बनाउने उपायहरु उल्लेख गर्नुहोस् ।

     विद्युतीय परिचय

    शासन व्यवस्थालाई प्रविधिमैत्री बनाउने कार्य नै विद्युतीय शासन हो । विद्युतीय शासनले जनताको आधारभूत आवश्यकता प्रभावकारी ढङ्गले परिपूर्ति गर्न सहयोग पुर्‍याउँदछ ।

    नेपालमा विद्युतीय शासनका सम्भावना

    • नेपालको संविधान र चालु पञ्चबर्षीय योजना विद्युतीय शासनमैत्री रहेका
    • विद्युतीय कारोबार ऐन, २०६३, विद्युतीय कारोबार नियमावाली, २०६४, सूचनाको हक सम्बन्धी ऐन, २०६४ र नियमावली २०६५, सुशासन( व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र नियमावली, २०६५ र सूचना तथा सञ्चार प्रविधि नीति, २०७२ ले विद्युतीय शासनलाई प्रवर्धन गर्ने कार्य गरेका
    • हरेक सरकारी कार्यालयहरुमा Web Site को व्यवस्था गरिएको,
    • बैंकहरुले ईन्टरनेटमा आधारित बैंकिङ्ग प्रणाली लागू गरेका,
    • मुलुकमा प्रविधि मैत्री जनशक्तीको उत्पादनमा बृद्दी हुँदै गएको,
    • सरकारी कार्यलयहरुमा कम्प्यूटर, ईमेल, फ्याक्सको प्रयोग बढ्दै गएको,
    • मुलुकमा मोबाईल र ईन्टरनेट जस्ता प्रविधिहरुको प्रयोग र पहुँचको दायरा फराकिलो हुँदै गएको,

    विद्युतीय शासनलाई प्रभावकारी बनाउने उपाय

    विद्युतीइ शासनलाई प्रभावकारी बनाउने उपायहरु देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • प्रविधिमैत्री जनशक्तिको विकास गर्ने
    • शिक्षा र साक्षरताको विस्तार गर्ने
    • प्रविधिको खोज, अनुसन्धान र विकास गर्ने
    • मुलुकको आर्थिक विकास गर्ने
    • दीगो उर्जाको विकास र विस्तार गर्ने
    • विज्ञान र प्रविधिको विकास गर्ने
    • मुलुकमा औद्योगिकीकरण गर्ने
    • वैदेशिक लगानी प्रवर्धन गर्ने

    अत: विद्युतीय शासनको ठूलो सम्भावना नेपालमा रहेको देखिन्छ । नेपालमा अत्याधुनिक प्रविधिको विकास र विस्तार गर्दै विद्युतीय शासनलाई मूर्तता दिनु सबै सरोकारवाला पक्षहरुको मुख्य दायित्व हो ।

     

     # नमुना प्रश्न : विद्युतीय अपराधबारे छोटकरीमा चर्चा गर्नुहोस् । (५) 

     विद्युतीय अपराध

    विद्युतीय साधनको प्रयोग गरी गरिने अपराधलाई विद्युतीय अपराध भनिन्छ ।

    • यो संगठित अपराधको एक रुप हो
    • विद्युतीय अपराध नियन्त्रण सम्बन्धमा विद्युतीय कारोकार ऐन, २०६३ र विद्युतीय कारोबार नियमावली, २०६४ कार्यन्वयनमा रहेको छन् ।
    • विद्युतीय अपराधमा देहायका कसूरहरु पर्दछन् ।
    • विद्युतीय संरचना एवं उपकरणमा क्षती पुर्‍याउने
    • विद्युतीय संरचना तथा प्रणाली उपर अनधिकृत प्रवेश गर्ने
    • विद्युतीय उपकरण तथा सफ्टवेवर चोरी गर्ने
    • विद्युतीय उपकरण तथा संरचना तथा प्रणालीमा भाईरस संप्रेषण गर्ने
    • विद्युतीय संरचना तथा प्रविधि प्रयोग गरी आतङ्क फैलाउने, अश्लिल चित्र प्रदर्शन गर्ने, नक्कली तथा कीर्ते कार्य गर्ने र विद्युतीय अपराधिक समूह सृजना गर्न जस्ता अपराध गर्ने

      अत: विद्युतीय अपराधले विद्युतीश शासनलाई नकारात्मक असर पुर्‍याउने हुँदा यसलाई निराकरण गर्न सबैको समन्वयात्मक प्रयासको आवश्यकता देखिन्छ ।

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamul, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 985114610