रियल मड्रिड र म्यानचेस्टर सिटीबीच रोमाञ्चक बराबरी - Chaitanya News
  • 2026-07-28
  • 00:42:24
  • सोमबार,साउन ११, २०८३
  • रियल मड्रिड र म्यानचेस्टर सिटीबीच रोमाञ्चक बराबरी

    रियल मड्रिड र म्यानचेस्टर सिटीबीच रोमाञ्चक बराबरी

    काठमाडौँ– युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्। मंगलबार राति मड्रिडको मैदानमा भएको खेलमा दुवै टिमले तीन तीन गोलको रोमाञ्चक बराबरी खेलेका हुन्।

    घरेलु टोली रियलका लागि रोड्रीगो र फेदेरिको भल्भेर्डेले एक एक गोल गरे। पाहुना टोलीले एक गोल उपहार दिएको थियो। सिटीका लागि बर्नान्डो सिल्भा, फिल फोडेन र जोको गाभार्डिओलले एक एक गोल गरे।

    सिटीका लागि बर्नान्डो सिल्भाले दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर, १२ औं मिनेटमा सिटीकै रुवेन डियासले आत्मघाती गोल गरेपछि रियलले खेल बराबरीमा ल्याएको थियो। १४ औं मिनेटमा भिनिसियस जुनियरको पासटमा रोड्रिगोले गोल गरेपछि रियलले २–१ को अग्रता बनायो। पहिलो हाफ २–१ को अग्रता बनाएको रियलले दोस्रो हाफ भने जोगाउन असफल भयो। ६६ औं मिनेटमा फिल फोडेनले जोन स्टोन्सको पासमा गोल गर्दै सिटीले २–२ को बराबरीमा खेल ल्यायो।

    ७१ औं मिनेटमा सिटीका लागि ज्याक ग्रिलिसको पासमा जोको गाभार्डिओलले गोल गरेपछि ३–२ ले अघि बढेको थियो। तर, ७९ औं मिनेटमा भिनिसियसको पासमा भल्भेर्डेले गोल गर्दै पहिलो लेग ३–३ को अवस्थामा टुङ्ग्याएका थिए। अब दोस्रो लेग १८ अप्रिलमा म्यानचेस्टर सिटीको मैदानमा हुने छ।