नेपाली ‘ए’ विरुद्धको एकदिवसीय शृंखलामा आयरल्यान्ड ‘ए’ ले नेपालको ‘ए’ टोलीलाई ६९ रनले हरायो - Chaitanya News
  • 2026-06-07
  • 04:08:58
  • शनिबार,जेठ २३, २०८३
  • नेपाली ‘ए’ विरुद्धको एकदिवसीय शृंखलामा आयरल्यान्ड ‘ए’ ले नेपालको ‘ए’ टोलीलाई ६९ रनले हरायो

    नेपाली ‘ए’ विरुद्धको एकदिवसीय शृंखलामा आयरल्यान्ड ‘ए’ ले नेपालको ‘ए’ टोलीलाई ६९ रनले हरायो

    काठमाडौँ– तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार आयरल्यान्ड ‘ए’ ले नेपालको ‘ए’ टोलीलाई ६९ रनले हराएको छ। जितसँगै आयरल्यान्डले तीन खेलको शृंखलामा ‘क्लिन स्विप’ पनि गरेको छ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८४ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ३९.४ ओभरमा अलआउट हुनुअघि दुई सय १५ रनमात्र बनाउन सक्यो।

    नेपालका लागि ओपनर ब्याट्सम्यान अर्जुन कुमालले उत्कृष्ट शतकीय पाली खेले। उनले पेभेलियन फर्किनुअघि एक सय दुई रन बनाए। उनले एक सय १८ बलको सामना गरी १४ चौका पनि प्रहार गरेका थिए। त्यसअघि उनले एक सय १४ बलमा आफ्नो शतक पुरा गरेका थिए।

    अर्का ओपनर अर्जुन साउदले पनि ३६ रन बनाए। विकेटकिपर ब्याट्सम्यान अर्जुन साउदले ३० बलमा तीन छक्का र चार चौका हिर्काए। देव खनाल ११ रन बनाउँदै पेभेलियन फर्किए भने चौथो नम्बरका ब्याट्सम्यान नरेन भट्टले टोलीको खातामा १५ रन थपे।

    रुपेश सिंहले पनि १५ रन बनाए । कप्तान विनोद भण्डारी चार रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किए भने भीम सार्कीले खातासम्म खोल्न सकेनन्। रिजन ढकाल पनि शून्य रनमै आउट भए। साहब आलमले ६ र विकास अग्रीले तीन रन बटुले। रंजितकुमार एक रनमा अविजित रहे।

    नेपालले अतिरिक्त रुपमा पनि २२ रन पाएको थियो। आयरल्यान्डका बलर बेन ह्वाइट एक्लैले पाँच विकेट लिए। उनले १० ओभरमा एक मेडन राख्दै ६२ रन खर्चिएका थिए। गाभिन होएले पनि चार विकेट हात पारे। म्याथ्यू फोष्टरले एक विकेट लिए।

    त्यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्डका लागि ओपनर ब्याट्सम्यान स्टिफन डोहेनीले उत्कृष्ट शतकीय पाली खेलेका थिए। उनले टोलीका लागि एक सय सात रनको योगदान गरे। यस क्रममा उनले एक सय २९ बलको सामना गरी दुई छक्का र आठ चौका पनि हिर्काए।

    पिटर मुरले पनि टोलीको खातामा ४४ रन थपे। तेस्रो नम्बरमा क्रिज समाल्न आएका पिटरले केवल २५ बलको सामना गरी पाँच छक्का र दुई चौका पनि हिर्काए। मोर्गन टपिङले २१ रन जोडे। गाभिन होए भने १४ रन बनाउँदै पेभेलियन फर्किए। फियोन ह्यान्डले टोलीको खातामा २० रन थपे।

    म्याथ्यू हमफ्रेयसले २३ रन जोडे। तल्लो क्रमका ब्याट्सम्यान बेन ह्वाइटले पनि अविजित १९ रन बनाए। आयरल्यान्डका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। आयरल्यान्डले अतिरिक्त रुपमा पनि १८ रन पाएको थियो। नेपाली टोलीका बलर रंजित कुमारले तीन विकेट लिए। रिजन ढकालले पनि तीन विकेट हात पारे। साहब आलम र विकास अग्रीले एकएक विकेट लिए।

    एकदिवसीय शृंखलासँगै आयरल्यान्ड ‘ए’ को नेपाल भ्रमण पनि सकिएको छ। आयरल्यान्ड ‘ए’ ले नेपालको राष्ट्रिय टोलीसँग दुई टी–२० खेलको शृंखला खेलेको थियो। दुबै खेलमा नेपालको राष्ट्रिय टोली विजयी भएको थियो। त्यसपछि खेलिएको नेपाल ‘ए’ विरुद्धको तीन खेलको टी–२० शृंखलामा आयरल्यान्ड ‘ए’ २१ ले विजयी भएको थियो।