नेपालमा गहुँबालीको कालो सिन्दुरे रोगको नयाँ प्रजाति फेला - Chaitanya News
  • 2026-06-04
  • 00:25:31
  • बुधबार,जेठ २०, २०८३
  • नेपालमा गहुँबालीको कालो सिन्दुरे रोगको नयाँ प्रजाति फेला

    नेपालमा गहुँबालीको कालो सिन्दुरे रोगको नयाँ प्रजाति फेला

    काठमाडौँ– नेपालमा गहुँबालीमा लाग्ने कालो सिन्दुरे रोगको प्रजाति यूजी ९९ को ‘टीटीकेटीटी’ पहिलो पटक पत्ता लागेको छ। राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र, खुमलटारका वैज्ञानिकहरूले पहिलो पटक यो रोगको प्रजाति नेपालमा देखिएको पुष्टि गरेका हुन्।

    केन्द्रका प्रमुख सुरज वैद्यका अनुसार केन्द्रका वैज्ञानिकहरूले गत कार्तिक २२ गते दोलखाको दांगढुंगे र खरिढुंगाका क्षेत्रहरूमा गाईबस्तुको आहाराको लागि हरियो घाँसको रूपमा खेती गरिएको गहुँको बोटमा रोगको सर्वेक्षणका क्रममा यो प्रजाति भेटिएको हो।

    सो स्थानका दुई वटा गहुँबारीबाट संकलित नमुनालाई ग्लोबल रष्ट रिसर्च सेन्टर डेनमार्कको प्रयोगशालामा परीक्षण गर्दा टीटीकेटीटी नामक यूजी ९९ को प्रजाति देखा परेको वैद्यको भनाइ छ।

    यूजी ९९ को टिटिकेटिटि प्रजातिले अफ्रिकन देशहरूमा गहुँबालीमा करिब ८० प्रतिशत भन्दा बढी क्षति पुर्‍याएको पाइएको छ। हालसम्म दक्षिण तथा पूर्वी एसियाका देशहरूमा नदेखिएको यो प्रजाति नेपालमा देखिएकोले यो देशभित्र र बाहिर फैलिएमा भविष्यमा यो क्षेत्रका गहुँबालीमा ठूलो क्षति पुर्‍याउन सक्ने आङ्कलन नार्कका वैज्ञानिकहरूको छ।

    के हो यूजी ९९ को टीटीकेटीटी?

    गहुँमा लाग्ने रोगहरूमध्ये सिन्दुरे प्रमुख रोग हो। यो तीन प्रकारको हुन्छ तराईमा खैरो, पहाडमा पहेँलो र पहाडमा फाट्टफुट्ट कालो सिन्दुरे रोग देखा पर्दछ। नेपालमा यसअघि कालो सिन्दुरे रोगबारे कुनै तथ्य पत्ता नलागे तापनि करिब २३ वर्षअघि अफ्रिकाको युगान्डामा यो प्रजातिको व्युत्पत्ति भई गहुँबालीमा ठूलो नोक्सान गरेको थियो।

    त्यसपछि सो प्रजाति इथियोपिया, केन्या, सुडान, इरिट्रया, इजिप्ट हुँदै एसियाका इरान, यमन, ओमन, इराक, जोर्डन लगायतका देशमा फैलिएको देखिन्छ। यूजि ९९ लाई टिटिकेएसके नामबाट चिनिने र हालसम्म यसका १५ किसिमका व्युत्पन्न प्रजाति विकसित भइसकेका जनाइएको छ। ती १५ मध्ये टिटिकेटिटि नेपालमा पनि देखिएको हो।

    यूजी ९९ को टीटीकेटीटी रोग पक्सिनिया ग्रामिनी ट्रिटिसी नामक ढुसीबाट लाग्ने र यो ढुसी हावाको माध्यमबाट सयौं किलामिटरसम्म फैलिन्छ। यो रोगलाई नेपालमा फैलिन नदिन रोगको वृहत् सर्वेक्षण, रोग अवरोधक जातको छनोट र रोग व्यवस्थापन प्रविधि पत्ता लगाउन अध्ययन अनुसध्ना गर्नु जरुरी रहेका वैज्ञानिकहरूले औँल्याएका छन्।

    वैद्यका अनुसार विजय, जिङ्क गहुँ २, बोलोर्क २०२०, मुनाल, च्याखुरा, डाँफे, वाणगंगा, हिमगंगा, तिलोत्तमा, स्वर्गद्वारी, खुमल शक्ति, आदि जातहरूमा यो प्रजाति अवरोधी क्षमता छ। यी बाहेक अन्य अवरोधी जातहरूको विकास गरी समयमै रोगको व्यवस्थापनमा ध्यान दिनुपर्ने वैज्ञानिकको भनाइ छ।

    राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले नेपालमा क्षेत्रफलको आधारमा धान र मकै पछि गहुँको स्थान रहेको बताए। नेपालमा लगाइने ९५ प्रतिशत भन्दा बढी गहुँको क्षेत्रफल स्वदेशमै अनुसन्धानबाट विकास गरिएका जातहरूले ढाकेका छन्। विगत ६० वर्षमा गहुँको क्षेत्रफल ७ गुणा, उत्पादन १५ गुण र उत्पादकत्व २ गुणाले बढेको अवस्थामा यस्ता रोगहरूको बेलैमा व्यवस्थापन गर्न सके उत्पादन अझै बढाउन सकिने डा.उपाध्यायले बताए।