आईपीएलमा आज लगातार दोस्रो जितको खोजीमा चेन्नई र गुजरात - Chaitanya News
  • 2026-06-07
  • 05:49:24
  • आइतबार,जेठ २४, २०८३
  • आईपीएलमा आज लगातार दोस्रो जितको खोजीमा चेन्नई र गुजरात

    आईपीएलमा आज लगातार दोस्रो जितको खोजीमा चेन्नई र गुजरात

    काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार चेन्नई सुपर किङ्स र गुजरात टाइटन्सबिच खेल हुँदैछ। खेल चेन्नईस्थित एम.ए.चिदम्बरम स्टेडियममा नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ।

    आईपीएलको जारी संस्करणमा यी दुवै टोलीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन्। यी दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए। चेन्नईले आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले हराएको थियो।

    गुजरातले भने आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गरेको थियो। त्यसैले मंगलबारको खेलमा यी दुवै टोली लगातार दोस्रो जितको खोजीमा हुनेछन्। अघिल्लो संस्करणको फाइनल खेल पनि यही दुई टोलीबिच खेलिएको थियो। फाइनलमा चेन्नई विजयी भएको थियो।

    आईपीएलको इतिहासमा चेन्नई सर्वाधिक सफल टोली हो। चेन्नईले हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ। चेन्नईले हालसम्म १० पटक आईपीएलको फाइनल खेल खेलिसकेको छ। आईपीएलमा चेन्नईको यो १५औँ सहभागिता हो।

    यसअघि केवल दुईपटक चेन्नई प्ले अफ चरणमा पुग्न सकेको छैन। गुजरातले भने सन् २०२२ देखि आईपीएलमा सहभागिता जनाउन थालेको हो। गुजरातले पहिलो सिजनमै उपाधि पनि चुमेको थियो। अघिल्लो सिजन पनि गुजरात उपविजेता बनेको थियो।

    हेड टु हेडमा गुजरात अगाडि
    आईपीएलमा हालसम्म गुजरात र चेन्नईबिच कुल पाँचवटा खेल खेलिएको छ। त्यसमध्ये तीन खेलमा गुजरात विजयी भएको छ। चेन्नईले भने दुई खेलमात्र जित्न सकेको छ। चेन्नईले यसअघि दुवै खेल प्ले अफ चरणमा जितेको थियो।

    गुजरातले भने तीनवटै खेल लिग चरणमा जितेको हो। चेन्नईमा भने यी दुई टोलीबिच हालसम्म एक खेलमात्र खेलिएको छ। त्यो खेलमा चेन्नई १५ रनले विजयी भएको थियो।

    मुस्तफिजुर रहमान चेन्नईका प्रभावशाली बलर
    जारी आईपीएलको पहिलो खेलमा चेन्नईलाई विजयी बनाउन मुस्तफिजुर रहमानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले चार ओभरमा केवल २९ रन खर्चिएर चार विकेट लिएका थिए। उनी यो सिजन चेन्नईका सर्वाधिक विकेट लिने बलर हुन्। यसका अतिरिक्त पहिलो खेलमा चेन्नईका लागि रचिन रविन्द्रलगायतका ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।

    गुजरातका लागि साई सुदर्शनको सर्वाधिक रन
    पहिलो खेलमा गुजरातका लागि साई सुदर्शनले महत्त्वपूर्ण योगदान गरेका थिए। उनले टोलीका लागि ४५ रनको योगदान गरेका थिए। यसका अतिरिक्त पहिलो खेलमा शुभमन गिलले पनि ३१ रन बनाएका थिए। पहिलो खेलमा स्पेन्सर जोन्सन र उमेश यादवले पनि दुई–दुई विकेट लिएका थिए। मंगलबारको खेलमा पनि गुजरातले यी खेलाडीबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको छ।

    दुवै टोलीमा नयाँ कप्तान
    जारी आईपीएलमा चेन्नई र गुजरात दुवै टोली नयाँ कप्तानको नेतृत्वमा मैदानमा ओर्लिएका छन्। आईपीएलमा महेन्द्रसिंह धोनी चेन्नईका सर्वाधिक सफल कप्तान हुन्। उनले चेन्नईलाई पाँचपटक उपाधि चुमाएका छन्।

    तर, जारी आईपीएलमा भने धोनीको स्थानमा ऋतुराज गायकवाडले कप्तानको जिम्मेवारी पाएका छन्। चेन्नईले अन्तिम समयमा आएर धोनीको स्थानमा गायकवाडलाई कप्तान बनाएको हो। अर्कोतिर गुजरातले पनि शुभमन गिललाई कप्तानको जिम्मेवारी दिएको छ। गुजरातले हार्दिक पाण्ड्यालाई रिलिज गरेपछि गिललाई कप्तान बनाएको हो।

    स्पिनरलाई साथ दिने पिच
    चेन्नई र गुजरातबिच खेल हुने एम. ए. चिदम्बरम स्टेडियमको पिच खासगरी स्पिनर बलरलाई साथ दिने प्रकृतिको छ। यो पिचमा ब्याट्सम्यानहरुले रन बनाउन निकै सँघर्ष गर्नुपर्ने देखिन्छ। चुन्नईले यो स्टेडियममा हालसम्म ६५ खेल खेलेको छ।

    त्यसमध्ये ४६ खेलमा चेन्नई विजयी भएको छ। १८ खेलमा चेन्नई पराजित भएको छ। एक खेल भने बराबरीमा सकिएको छ। यी दुई टोलीबिचको खेलका क्रममा वर्षाको कुनै सम्भावना नरहेको समाचारमा जनाइएको छ। एजेन्सी