काठमाडौँ– आज (मंगलबार) नेपालले बहराइनसँग उसैको घरेलु मैदानमा फिफा विश्वकपअन्तर्गत एसियाली क्षेत्रको दोस्रो चरणको छनोटमा दोस्रो लेग खेल खेल्दैछ। विश्वकप छनोट खेल्न नेपाली टोली बहराइनमै छ। खेल नेपाली समयअनुसार, राति १२ः४५ बजे सुरु हुनेछ।
यसअघि गत बिहीबार खेलिएको बहराइनविरुद्धको छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाली टोली ०–५ गोलको ठूलोअन्तरले पराजित भएको थियो। बहराइनविरुद्धको पहिलो खेलमा प्रारम्भदेखि नै नेपाली टोली निरीह बनेको थियो।
दोस्रो चरणको विश्वकप छनोटमा नेपाल र बहराइनबिचको एउटा खेल नेपालमा खेलिनु पर्ने थियो। तर, दशरथ रङ्गशालाको अवस्था सन्तोषजनक नरहेको कारण देखाउँदै अखिल नेपाल फुटबल संघ ९एन्फा० ले दुईवटै खेल बहराइनमै खेल्ने सहमति जनाएको हो।
यसअघि नेपालले विश्वकप छनोटको तयारीका क्रममा मलेसियासँग अभ्यास खेल खेलेको थियो। उक्त खेलमा पनि नेपाली टोली १–५ गोलले पराजित भएको थियो। विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरीयतामा नेपालभन्दा बहराइन निकै नै अगाडि छ।
फिफाको पछिल्लो वरीयतामा बहराइन ८२औँ स्थानमा आसिन छ। नेपाल भने पछिल्लो फिफा वरीयताको एक सय ७५औं स्थानमा छ। नेपाल र बहराइनबिचको खेल विश्वकप छनोटसँगै एएफसी एसियन कपको छनोट खेल पनि हो।
एसियाली क्षेत्रको दोस्रो चरणको विश्वकप छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ। उक्त समूहमा नेपाल र बहराइनका अतिरिक्त संयुक्त अरब इमिरेट्स (यूएई) र यमन पनि छन्। सबै टोलीले तीन–तीन खेल खेलिसकेका छन्।
यूएई नौ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ। दोस्रो स्थानमा आसिन बहराइनको ६ अंक छ। तीन अंकसहित यमन तेस्रो स्थानमा छ। नेपालले भने हालसम्म खेलिएको तीनवटै खेलमा पराजय भोगेको छ।
उक्त खेलका लागि घोषित नेपाली टोलीमा गोलरक्षकका रुपमा किरण चेम्जोङ, विशाल सुनार र अभिषेक बराल रहेका छन्। रक्षापँक्तिमा अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिस श्रेष्ठ, सौभाग्य राई र सुमित श्रेष्ठ रहेका छन्।
यसैगरी मध्यपँक्तिमा भरत खवास, विशाल बस्नेत, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की र उत्सव राई रहेका छन्। अग्रपँक्तिमा अञ्जन विष्ट, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जिव विष्ट छन्।