काठमाडौँ– नेपालले पहिलो टी–२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनाएको थियो।
जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.१ ओभरमै केवल चार विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो। नेपालको जितमा सन्दीप जोरा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले महत्वपूर्ण योगदान गरे। सन्दीप जोराले ३६, कुशल भुर्तेलले अविजित ३७ र दीपेन्द्रसिंह ऐरीले अविजित २० रन बनाए।
ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ३२ बलको सामना गरी चार चौका हिर्काए। सन्दीप जोराले ३५ बलमा दुई छक्का र तीन चौका प्रहार गरे। छैटौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्रले १२ बलमा एक छक्का दुई चौका हिर्काए।
नेपालका लागि ओपनर आसिफ शेखले पनि १६ रन जोडे। नेपालले अतिरिक्त रुपमा नौ रन पाएको थियो। आयरल्यान्ड ‘ए’ का बलर गारेथ डेलानीले दुई तथा बेन ह्वाइट र थोमस मायसले एक–एक विकेट हात पारे।
पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ का लागि भने ओपनर ब्याट्सम्यान स्टेफन डोहेनीले सर्वाधिक ४६ रन बनाएका थिए । अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । थोमस मायस र लियाम म्याकार्थीले १६–१६ रन जोडे । फियोन ह्यान्डले ११ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
नेपाली टोलीका बलर कुशल भुर्तेल, गुलसन झा र ललित राजवंशीले दुई–दुई विकेट लिएका थिए। कुशल मल्ल र करण केसीले पनि एक–एक विकेट हात पारे। आयरल्यान्ड ‘ए’ ले अतिरिक्त रुपमा केवल पाँच रन पाएको थियो।
नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान असिफ शेख पेभेलियन फर्किएका थिए। आउट हुनुअघि उनले ११ बलमा एक छक्का र दुई चौकाको मद्दतले १६ रन बनाएका थिए। उनलाई आयरल्यान्ड ‘ए’ का बलर गारेथ डेलानीले एलबीडब्लूको धरापमा पारेका थिए। ३.२ ओभरमा आसिफ आउट हुँदा नेपालले ३२ रन बनाएको थियो।
नेपालले दोस्रो विकेटका रुपमा भने कप्तान रोहित पौडेललाई शून्य रनमै गुमाएको थियो। उनलाई आयरल्यान्डका बलर डेलानीले डोहेनीद्वारा क्याच गराएका थिए। ३.४ ओभरमा कप्तान रोहित आउट हुँदा नेपालले ३२ रन बनाएको थियो।
नेपालले तेस्रो विकेटका रुपमा चौथो नम्बरका ब्याट्सम्यान गुलसन झालाई गुमाएको थियो। उनी चार रन बनाउँदै पेभेलियन फर्किएका थिए। उनलाई आयरल्यान्डका बलर बेन ह्वाइटले कार्माइकलद्वारा क्याच गराएका थिए। ४.५ ओभरमा गुलसन आउट हुँदा नेपालले ३७ रन बनाएको थियो।
नेपालले चौथो विकेटका रुपमा सन्दीप जोरालाई गुमाएको थियो। उनी टोलीका लागि उत्कृष्ट पाली खेल्दै पेभेलियन फर्किएका थिए। पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले ३६ रन बनाए। उनले ३५ बलको सामना गरी दुई छक्का र तीन चौका पनि हिर्काएका थिए। सन्दीपलाई आयरल्यान्डका बलर मायसले डोहेनीद्वारा क्याच गराएका थिए। १३.१ ओभरमा उनी आउट हुँदा नेपालले ९१ रन बनाएको थियो।
त्यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ को पहिलो विकेट करण केसीले लिएका थिए। उनले आयरल्यान्ड ‘ए’ का ओपनर ब्याट्सम्यान मार्क एडिरलाई चार रनको ब्यक्तिग स्कोरमा बोल्ड गरेका थिए। पहिलो ओभरको दोस्रो बलमा मार्क आउट हुँदा आयरल्यान्डले केवल चार रन बनाएको छ।
आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट ललित राजवंशीले लिएका थिए। उनले आयरल्यान्ड ‘ए’ का तेस्रो नम्बरका ब्याट्सम्यान केड कार्माइकललाई आठ रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए। चौथो ओभरको अन्तिम बलमा केड आउट हुँदा आयरल्यान्डले २५ रन बनाएको थियो ।
आयरल्यान्ड ‘ए’ को तेस्रो विकेट गुलसन झाले लिएका थिए। गुलसनले आयरल्यान्ड ‘ए’ का चौथो नम्बरका ब्याट्सम्यान मोर्गन टपिङलाई खाता खोल्नुअघि नै बोल्ड गरेका थिए। ६.२ ओभरमा मोर्गन आउट हुँदा आयरल्यान्ड ‘ए’ ले ३८ रन बनाएको थियो।
आयरल्यान्ड ‘ए’ को चौथो विकेट पनि गुलसन झाले नै लिएका थिए। गुलसनले आयरल्यान्ड ‘ए’ का कप्तान निल रकलाई पाँच रनको ब्यक्तिग स्कोरमा कुशल मल्लद्वारा क्याच गराएका थिए। गुलसनले लिएको यो दोस्रो विकेट हो। ८.१ ओभरमा रक आउट हुँदा आयरल्यान्डले ५१ रन बनाएको थियो।
आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट कुशल मल्लले लिएका थिए। कुशल मल्लले आयरल्यान्ड ‘ए’ का छैटौँ नम्बरका ब्याट्सम्यान गारेथ डेलानीलाई चार रनको ब्यक्तिग स्कोरमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका थिए। १०.२ ओभरमा डेलानी आउट हुँदा आयरल्यान्ड ‘ए’ ले ६३ रन बनाएको थियो।
आयरल्यान्ड ‘ए’ को छैटौँ विकेट कुशल भुर्तेलले लिएका थिए। कुशल भुर्तेलले आयरल्यान्ड ‘ए’ का ओपनर ब्याट्सम्यान स्टेफन डोहेनीलाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका थिए। विकेटकिपर ब्याट्सम्यान स्टेफनले पेभेलियन फर्किनुअघि ४६ रन बनाएका थिए। उनले केवल ३९ बलको सामना गरी दुई छक्का र चार चौका पनि हिर्काएका थिए। १३.१ ओभरमा उनी आउट हुँदा आयरल्यान्ड ‘ए’ ले ७५ रन बनाएको थियो।
आयरल्यान्ड ‘ए’ को सातौँ विकेट पनि कुशल भुर्तेलले नै लिएका थिए। उनले आयरल्यान्ड ‘ए’ का सातौँ नम्बरका ब्याट्सम्यान फियोन ह्यान्डलाई ११ रनको ब्यक्तिग स्कोरमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका थिए। कुशल भुर्तेलले लिएको यो दोस्रो विकेट थियो। दीपेन्द्रले लिएको यो तेस्रो क्याच थियो। १५।१ ओभरमा ह्यान्ड आउट हुँदा आयरल्यान्ड ‘ए’ ले ८४ रन बनाएको थियो।
आयरल्यान्ड ‘ए’ को आठौँ विकेट ललित राजवंशीले लिएका थिए। ललितले आयरल्यान्ड ‘ए’ का नवौँ नम्बरका ब्याट्सम्यान लियाम म्याकार्थीलाई १६ रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए। ललितले लिएको यो दोस्रो विकेट थियो। १६.३ ओभरमा म्याकार्थी आउट हुँदा आयरल्यान्ड ‘ए’ ले एक सय दुई रन बनाएको थियो।
आयरल्यान्ड ‘ए’ को नवौँ विकेटका रुपमा थोमस मायर पेभेलियन फर्किएका थिए। आठौँ नम्बरमा क्रिज समाल्न आएका उनी रन आउट भएका थिए। पेभेलियन फर्किनुअघि थोमसले १६ रन बनाएका थिए। १९ औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा आयरल्यान्ड ‘ए’ ले एक सय १८ रन बनाएको थियो।
आयरल्यान्ड ‘ए’ ले अन्तिम विकेटका रुपमा म्याथ्यु हम्फ्रेजलाई गुमाएका थिए। गुमाएको थियो। उनी रन आउट भई पेभेलियन फर्किएका थिए। अन्तिम ओभरको अन्तिम बलमा आउट हुनुअघि उनले ६ रन बनाएका थिए। बेन ह्वाइट भने शून्य रनमा अविजित रहे।
नेपालको राष्ट्रिय टोली र आयरल्यान्ड ‘ए’ बिचको दोस्रो खेल मंगलबार खेलिने छ। आयरल्यान्ड ‘ए’ सँग दुईवटा टी–२० खेलेर नेपाली राष्ट्रिय टोली भारतमा त्यहाँको घरेलु क्लबसँग त्रिकोणात्मक शृंखला खेल्न त्यसतर्फ प्रस्थान गर्नेछ।
भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय टोलीले गुजरात र बरोडाको टोलीसँग त्रिकोणात्मक शृंखला खेल्नेछ। त्यसपछि नेपालको ‘ए’ टोलीले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ सँग टी–२० र एकदिवसीय प्रतियोगिता खेल्नेछ।