काठमाडौँ– पोल्यान्डकी २२ वर्षीया ईगा स्विटेकले इन्डियन वेल्स टेनिस प्रतियोगिताको महिला एकलतर्फको उपाधि चुमेकी छन्। उनले दोस्रो पटक इन्डियन वेल्सको उपाधि जितेकी हुन्।
ईगाले हिजो (आइतबार) राति खेलिएको फाइनल खेलमा ग्रिसकी अनुभवी खेलाडी मारिया साकारीलाई हराउँदै उपाधिमाथि कब्जा जमाएकी हुन्।
सन् २०२२ मा पनि यी दुई खेलाडीबिच नै उपाधि भिडन्त भएको थियो। ईगाले २८ वर्षीया साकारीलाई हराउन ६९ मिनेट समय खर्चिएकी थिइन्। पहिलो सेटमा ६–४ ले अगाडि रहेकी ईगाले दोस्रो सेटको नतिजालाई पनि ६–० ले आफ्नो पक्षमा पारेकी थिइन्।
ईगाले आफ्नो खेलजीवनमा जितेको यो १९औँ उपाधि पनि हो। यो वर्ष उनले दोस्रो उपाधि हात पारेकी हुन्। यसै वर्ष उनले कतार ओपनको उपाधि पनि जितेकी थिइन्।
ईगाले हालसम्म चारपटक ग्रान्डस्लाम प्रतियोगिताको उपाधि पनि जितिसकेकी छन्। उनले तीनपटक फ्रेन्च ओपन र एकपटक यूएस ओपनको उपाधि जितेकी हुन्। उनले हालसम्म विम्बल्डन र अस्ट्रेलियन ओपनको उपाधि भने जित्न सकेकी छैनन्।