आज नेपाल र मलेसियाबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै - Chaitanya News
  • 2026-06-07
  • 07:53:12
  • आइतबार,जेठ २४, २०८३
  • आज नेपाल र मलेसियाबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै

    आज नेपाल र मलेसियाबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै

    काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टिमले आज मैत्रीपूर्ण खेल खेल्दै छ। नेपाली टोली फिफा विश्वकप तयारीमा रहेका बेला मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपाल र मलेसियाबीचको खेल राति पौने ८ बजे सुरु हुने छ। नेपाली टोली मैत्रीपूर्ण खेलका लागि बङ्गलादेश ट्रान्जिट हुँदै बुधबार नै मलेसिया पुगिसकेको छ।

    नेपालबाट मलेसिया जाने पर्याप्त विकल्प हुँदाहुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बङ्गलादेश ट्रान्जिट हुँदै टोलीलाई मलेसिया पठाएको थियो। एन्फाले टोलीमा कुनै भूमिका नरहेका १० पदाधिकारीलाई खेलको नाममा अनावश्यक मलेसिया भ्रमणमा लगेपछि युवा तथा खेलकुद मन्त्रालयले छानबिन गरी कारबाही गर्न राखेपलाई पत्र काटेको छ।

    नेपाली टोली आज मलेसियासँग मैत्रीपूर्ण खेल सकेपछि उतैबाट बहराइनसँग खेल्न त्यसतर्फ प्रस्थान गर्ने छ।

    नेपालको अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशालाको मैदान प्रतियोगिताका लागि अयोग्य भएपछि विश्वकप छनोटको दुवै खेल बहराइनसँग उसकै मैदानमा खेल्ने छ। नेपालले चैत ८ र १३ गते ‘होम’ एन्ड ‘अवे’ खेल खेल्ने छ।

    विश्वकप छनोटअन्तर्गत एसियाको समूह ‘एच’ मा रहेको नेपालले यसअघिका दुई खेलमा पराजित भएको थियो। नेपाल पहिलो खेलमा युएईसँग ४–० र दोस्रो खेलमा यमनसँग २–० गोल अन्तरले पराजित भएको थियो।