आगामी जुनमा हुने टी–२० विश्वकप अघि नेपालको ब्यस्त तालिका, आयरल्यान्ड ‘ए’ सँग आठ खेल खेल्ने - Chaitanya News
  • 2026-06-07
  • 09:35:06
  • आइतबार,जेठ २४, २०८३
  • आगामी जुनमा हुने टी–२० विश्वकप अघि नेपालको ब्यस्त तालिका, आयरल्यान्ड ‘ए’ सँग आठ खेल खेल्ने

    आगामी जुनमा हुने टी–२० विश्वकप अघि नेपालको ब्यस्त तालिका, आयरल्यान्ड ‘ए’ सँग आठ खेल खेल्ने

    काठमाडौँ– आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपअघि नेपालले एकपछि अर्को अभ्यास खेल खेल्ने भएको छ। यसैक्रममा नेपालले घरेलु मैदानमा आयरल्यान्डको ‘ए’ टोलीसँग पनि आठवटा खेल खेल्ने पक्का भएको छ।

    आयरल्यान्डको ‘ए’ टोली मार्चको अन्तिम साता नेपाल भ्रमणमा आउन लागेको हो। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, आयरल्यान्डको ‘ए’ टोलीले नेपाली राष्ट्रिय टोलीसँग दुईवटा टी–२० प्रतियोगिता खेल्नेछ।

    त्यसपछि आयरल्यान्डको ‘ए’ टोलीले नेपालको ‘ए’ टोलीसँग तीनवटा टी–२० प्रतियोगिता खेल्नेछ। टी–२० शृंखला सकिएलगत्तै नेपालको ‘ए’ टोलीले आयरल्यान्डको ‘ए’ टोलीसँग तीनवटा एकदिवसीय प्रतियोगिता खेल्ने कार्यक्रम रहेको छ।

    नेपाली राष्ट्रिय टोलीले मार्च २४ मा आयरल्यान्डको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ। नेपालको राष्ट्रिय टोली र आयरल्यान्डको ‘ए’ टोलीबिच दोस्रो टी–२० खेल मार्च २५ तारिखमा खेलिने क्यानले जनाएको छ।

    त्यसपछि मार्च २८ तारिखमा नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच पहिलो टी–२० खेलिने छ। यी दुई टोलीबिचको दोस्रो टी–२० मार्च २९ मा खेलिने छ। नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको तेस्रो टी–२० खेल मार्च ३१ तारिखमा खेलिने छ।

    टी–२० शृंखला सकिएपछि अप्रिल ३ मा नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच पहिलो एकदिवसीय खेल हुनेछ। यी दुई टोलीबिचको दोस्रो एकदिवसीय खेल अप्रिल ५ मा खेलिने छ। तेस्रो एकदिवसीय खेल अप्रिल ७ तारिखमा खेलिने क्यानले जनाएको छ।

    त्यसअघि नेपाली राष्ट्रिय टोली टी–२० विश्वकपको तयारीका क्रममा भारत भ्रमणमा जानेछ। भारतमा नेपाली टोलीले गुजरात र बरोडाको टोलीसँग टी–२० शृंखला खेल्नेछ। उक्त शृंखला मार्च ३१ देखि अप्रिल ७ तारिखसम्म चल्नेछ।

    त्यसअघि नेपाली टोली विश्वकपको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न हङ्कङ भ्रमणमा जानेछ। हङ्कङ भ्रमणका क्रममा नेपालले टी–२० शृंखला खेल्नेछ । क्यानले हङ्कङविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि राष्ट्रिय टोलीको घोषणा पनि गरिसकेको छ।

    नेपाल र हङ्कङबिचको टी–२० क्रिकेट शृंखला मार्च ९ देखि १३ तारिखसम्म सञ्चालन हुनेछ। उक्त शृंखलाका लागि घोषित टोलीमा रोहित पौडेल (कप्तान), विनोद भण्डारी, लोकेश बम, आकाश चन्द र रासिद खानलाई पनि हङ्कङविरुद्धको शृंखलाका लागि टोलीमा समेटिएको छ।

    टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलसन झा र सन्दीप जोरा रहेका छन्। आरिफ शेख, विवेक यादब, रासिद खान, करण केसी, सागर ढकाल, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द र अविनाष बोहरा पनि टोलीमा रहेका छन्।

    पछिल्लो समय क्यानडा, नामिबिया र नेदरल्यान्ड्सविरुद्धको शृंखलामा सहभागिता जनाउँदै आएका केही सिनियर खेलाडीलाई भने हङ्कङ भ्रमणका क्रममा आराम दिइएको छ। ओपनर ब्याट्सम्यान आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र अनिल साहलाई आराम दिइएको हो।

    शृंखलामा नेपालले आफ्नो पहिलो खेल मार्च ९ तारिखमा आयोजक हङ्कङसँग खेल्नेछ। नेपालले दोस्रो खेल मार्च १० तारिखमा हङ्कङसँगै खेल्नेछ। त्रिकोणात्मक शृंखलामा तेस्रो टोलीको रुपमा पपुवा न्यु गिनी (पीएनजी) रहेको छ। नेपाल र पीएनजीबिचको खेल मार्च १२ मा खेलिने क्यानले जनाएको छ।

    हाल नेपाली टोली घरेलु मैदानमा जारी नेदरल्यान्ड्स र नामिबियाविरुद्धको टी–२० शृंखलामा ब्यस्त छ। नेपाल त्रिकोणात्मक शृंखलाको फाइनलमा पुगिसकेको छ। नेपालले मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्ससँग फाइनल खेल्नेछ।

    आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ। विश्वकप जुन १ देखि २९ तारिखसम्म आयोजना हुनेछ। नवौँ विश्वकपमा २० टोलीको सहभागिता रहेको छ। सहभागी टोलीलाई चारवटा समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा पाँच–पाँचवटा टोली छन्।

    नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ। नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन्। नेपालले आफ्नो पहिलो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ। नेपालले दोस्रो खेल जुन ११ तारिखमा श्रीलंकासँग र तेस्रो खेल जुन १४ तारिखमा दक्षिण अफ्रिकासँग खेल्नेछ।

    नेपालले समूहगत चरणको चौथो तथा अन्तिम खेल जुन १६ मा बंगलादेशसँग खेल्नेछ। विश्वकपको समूह ‘सी’ मा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी रहेका छन्।

    समूह ‘बी’ मा इङ्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान रहेका छन्। समूह ‘ए’ मा भने भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका परेका छन्।